क्रान्ति र प्रतिक्रान्ति छोडेर बदलिनै पर्छ राजनीति !

क्रान्ति र प्रतिक्रान्ति छोडेर बदलिनै पर्छ राजनीति !


भदौ २३ र २४ गतेको २७ घण्टासम्म चलेको नेतृत्वविहीन आन्दोलनले नेपालको राजनीतिमा निकै ठूलो परिवर्तन ल्यायो । यस परिवर्तनको जस लिने लहड चले पनि नेतृत्व कसको थियो भन्ने प्रश्नको उत्तर कोहीसँग छैन । त्यसकै परिणाम २८ वर्षमुनिका युवाहरूले गरेको विद्रोहको फल ६० वर्षमाथिका पूर्व कर्मचारीले नेतृत्व हत्याउने गरी पाएका छन् ।

देश परिवर्तित राजनीतिक बाटोमा छ । परिवर्तनको फल हातमा लिएर बसेका सरकारी मान्छे परम्परागत सत्ता राजनीतिकै नाफामुखी व्यापारको शैलीमा रमाइरहेका छन् । युवाहरूको विद्रोहले लगभग कमाउधन्धा परम्परामा विकास हुँदै गएको विगतको राजनीति समाप्त गरिदिए पनि उनीहरूको नाममा सत्तामा गएकाहरूको तामझाम र शैली फरक बन्न सकेको छैन । जसको परिणाम परम्परागत राजनीतिका खेलाडी र नयाँ उदाउँदै गरेका राजनीतिक खेलाडीबीच द्वन्द्वका चरण पनि सुरू हुँदै गएको संकेत समेत देखिन थालेको छ ।

सत्यचाहिँ के हो भने राजनीतिक समय भनेको अनिवार्य बदलिने भित्ताको पात्रो जस्तो हुँदैन । यसलाई बदल्न नेतृत्व गर्नेसित सूत्र जरूरी हुन्छ । अर्थात्, नेतासित संकल्प, दृष्टिकोण, एकता, सामूहिक चाल, मिहिनेत, त्याग र अन्तरविश्वास अनिवार्य रहनुपर्छ । विगतका राजनीतिक खेलाडीले यस सत्यलाई बुझ्नै चाहेनन् । वर्तमानको राजनीतिक खेलका लागि तयार हुँदै गएका नयाँ खेलाडीले पनि त्यस सत्यतिर ध्यान दिनै चाहेका छैनन् ।

राजनीतिले जनविश्वासको माध्यमबाट शक्ति हासिल गरेर आत्मविश्वासलाई उचाइमा र अन्तरविश्वासलाई गहिराइमा पुऱ्याउनुपर्छ तर नेपाली राजनीतिले विगतदेखि वर्तमानसम्म हेर्दा त्यसो गरेन । परिणाम देशले विकासको गति लिन सकेन । यस सत्यलाई परम्परागत राजनीतिका खेलाडीले स्वीकार गरेनन् जसको परिणाम सत्ता-राजनीतिबाट च्यूत हुनु परेको छ । नयाँ पुस्ताले सुरू गरेको राजनीतिले पनिमाथिको सत्य स्वीकार गर्ला जस्तो देखिँदैन । राजनीतिले सही गति नलिएकै कारण देशले युगअनुकुल विकास पाउन सकेन । भएका फाट्टफुट्ट विकासका संरचनामा समेत गिद्धेनजर लगाएर परिवर्तनको नाममा विनासको परम्परा मात्र राजनीतिले सर्वस्वीकार्य बनाएको छ ।

दशकौँदेखिको व्यक्तिको महत्वकाङ्क्षा केन्द्रीत राजनीतिले नेपालको विकास कागजमा जति राम्ररी भएको छ व्यवहारमा उति नै कमजोर अवस्थामा छ । समय सधैं उस्तै रहँदैन भन्ने भाव वर्तमानको विद्रोहले देखाइदिए पनि पुरातन राजनीतिले बुझेन । नयाँ पुस्ताको क्रान्तिको उद्देश्य महान् भएपनि नेतृत्वको गतिमा परम्परागत राजनीतिकै उभारको दुर्गन्ध उस्तै छ । केही गँजडीले गाँजाको धुँवासित उत्पन्न नशाबाट क्रान्तिका सपना देख्दा राज्य सत्तामा कायापलट हुने छाँट देखिँदैन । यसकारण अहिलेकै अवस्थामा नेपालको राजनीति सच्चिने बाटोमा रहेको मान्न सकिन्न । अब पनि राजनीति सच्चिन सकेन भने देश र जनताको नियती उही रहने पक्का छ ।

नेपालको संघीय लोकतान्त्रिक राजनीतिको मर्म र धर्म बुझ्न सत्ता राजनीतिमा पदासीनहरूलाई फुर्सद नहुँदा एक दशकसम्म अभ्यासकालमै राज्य सत्ता चल्यो । यस समयका कतिपय घटनापरक विषय हेर्दा र निरूपण गर्दा उनीहरुमा ‘चिल्लो पात’ देखिएन । ‘भदौमा दृष्टि गुमेको गोरू सधैं हरियै देख्छ’ भनेझैं संघीय लोकतान्त्रिक व्यवस्थाको विभिन्न तहको जिम्मेवारीलाई आफ्नो पार्टीको अनुभव र आदर्श लादेर ‘सबैको हुन’ बाट भाग्ने परम्पराले राजनीतिका पुरातन खेलाडी एक्लै बिदा हुनुपर्ने दिन आयो ।

दशकको यस अवधिमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका क्रियाकलापले आम अपेक्षाको पूर्ति सम्भव भएन । परिणामतः लोकतन्त्रको संकट सबैभन्दा ठूलो चिन्ताको विषयमा पुगेको छ । स्थानीय सरकारको मर्यादा पाएका स्थानीय तहहरूमा कहीँ-कतै कुनै पनि विकृतिले अलिकति टाउको उठायो भने त्यो धरातलीय जनताका आँखामा सिधा पर्छ र बिझाउँछ भन्ने सत्यलाई स्थानीय तहमा जनताबाट चुनिएर निर्णायक कुर्सीमा पुगेकाहरूले आत्मसात गरेनन् प्रदेश र संघीय सरकारले त नागरिक चिन्ने फुर्सद नै निकालेन । परिणाम एउटा उमेर समूहको अनुहार अगाडि सारेर अर्कै स्वरूपमा खराब तत्व घुसपैठ गरी देश नै तहसनहस बनाइ दिए । यसको जिम्मेवारी कसैले लिँदैन तर सत्ता हत्याउन हजुरबाबु पुस्ता तँछाडमछाड गरेर अगाडि सरिरहे । सत्तामा व्यक्ति फेरिएको अवस्था भए पनि शासकको प्रवृत्ति फेरिएको छैन ।

आज लोकतन्त्रलाई जनताले फोस्रो नारा मात्र मान्नुपर्ने दुर्दिन आइसकेको छ । ‘लोक’ शब्द ‘आम जनता’ – को पर्याय हो र लोकको कल्याण गर्ने तन्त्र संयुक्त भई ‘लोकतन्त्र’ शब्द बनेको थियो । यसर्थ लोकतान्त्रिक अभ्यासद्वारा लोकको अपेक्षालाई उपेक्षा गर्ने क्रियाकलाप लोकतन्त्रका प्रयोक्ताहरुबाटै भयो भने त्यो आत्मघाती सिद्ध हुन्छ भन्ने प्रमाण आइसकेको छ । राजनीतिले ल्याउन नसकेको परिवर्तनको मुहार हेर्दा राज्य सञ्चालनको जिम्मेवारीमा पुगेकाहरूले अहिलेसम्म समय उस्तै र उही रूपमा रहँदैन भन्ने भाव नै बुझ्ने प्रयास गरेनन् । यसकारण पनि उनीहरूको सत्ताच्युत अकल्पनीय र त्रासदीपूर्ण रहन गयो ।

राजनीतिमा परिवर्तनका नारा त लगाए व्यवहारमा परिवर्तन गर्न सकेनन् । त्यसैको परिणाम स्वरूप आज देश गृहयुद्धको भूमरीमा फस्ने अवस्थामा पुगेको छ । देशका अमूल्य सम्पत्ति दनदनी आगोले खाँदा ताली बजाएर खुसी हुने दिन विकृत राजनीतिकै परिणाम थियो । आन्दोलनमा घुसपैठ गरेर होस् या सत्तामा तर मारेर देशलाई घात गर्नेहरू विरूद्ध निर्मम हुन नसकेसम्म न त परिवर्तनको अर्थ बुझिन्छ, या त परिवर्तनै हुन सक्छ । यसकारण पनि परम्परागत सोच पालेका दल हुन् वा नव युवा जो विद्रोहबाट स्थापित हुन खोजिरहेका छन् दुवै पक्षले सच्चिनै पर्छ अनि मात्र नेपालको कल्याण हुनेछ ।

तर, दुवै पक्ष सच्चिने अवस्थामा छैनन् । १३ वर्षदेखि २८ वर्ष समूह जेनजी पुस्ता सही नेतृत्व अभावमा छरपष्ट देखिन्छ भने उनीहरूको नाममा अराजकता मच्चाउने गिरोह राज्य-सत्ताभित्र पसेर आतङ्क मच्चाइरहेको छ । विस्थापित गरिएको सत्ताको नेतृत्व गरेको दलको नेता यस परिवर्तन स्वीकार नगर्ने अतिवादी गतिविविधिमा देखिनु र जेनजी पुस्ता आफै सत्तामा नपुग्नु अर्काको भरमा अल्मलिनु नेपाली राजनीति सुधारको बाटोमा नजाने संकेत हो । जसको परिणाम देश गृहयुद्धको चपेटामा पर्न सक्ने जोखिम बढ्नु पनि हो । यसकारण क्रान्ति र प्रतिक्रान्ति छोडेर विदेशी दलालको चक्रब्युह त्याग्दै नेपालको अस्तित्व बचाउन राजनीति सुध्रनु नै अबको आवश्यकता हो ।