पछिल्ला वर्षहरूमा धनतेरस स्वास्थ्य सचेतना र जीवनशैली सुधारको पर्वका रूपमा पुनः स्थापित हुँदै गइरहेको छ। स्वास्थ्य क्षेत्र, आयुर्वेद र योग अभ्यासमा लागेका मानिसहरूले धनतेरसलाई पुनः मूल अर्थमा फर्काउने प्रयास गरेका छन्। धेरै स्थानमा यस दिन धन्वन्तरि जयन्तीका रूपमा सेमिनार र आयुर्वेदिक प्रदर्शनी आयोजना गरिन्छ। यसले ‘पहिलो सुख निरोगी शरिर’ भन्ने मूल सन्देशलाई पुनर्जीवित गरेको छ।
✍ क्षितिज विक्रम खनाल
कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धन सम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै दृष्टिले अत्यन्त गहिरो छ। हिन्दू परम्परामा दीपावलीको समय केवल उज्यालो बाल्ने र नयाँ वस्तु किन्ने मात्र होइन, जीवनमा नकारात्मकता हटाएर आत्मशुद्धि र सन्तुलनको सुरुवात गर्ने पर्व हो। धनतेरस त्यस पर्व यात्राको पहिलो दिन हो , जहाँ शरीर, मन र आत्माको सन्तुलनलाई धन, स्वास्थ्य र विवेकको रूपमा पूजा गरिन्छ।
पौराणिक दृष्टिले धनतेरसको मूल जड समुद्र मन्थन संग सवन्धित छ। कथा अनुसार देवता र असुरहरूले अमरत्व प्रदान गर्ने अमृत प्राप्त गर्न क्षीरसागरको मन्थन गरेका थिए। त्यस महान् मन्थनबाट १४ अमूल्य रत्नहरू प्रकट भए, र तिनीहरूमध्ये तेह्रौं रत्नका रूपमा भगवान विष्णुले धन्वन्तरि रूप धारण गरी सुनको कलशमा अमृत लिएर प्रकट भएका थिए। भगवान धन्वन्तरिलाई आयुर्वेदका जनक मानिन्छ, जसले हाम्रो मानव सभ्यतालाई निरोगिता, स्वस्थ जीवनशैली र दीर्घायुको ज्ञान दिएका थिए। उहाँको प्राकट्यले संसारलाई सम्झायो कि आरोग्य नै सबैभन्दा ठूलो धन हो। त्यसैले कार्तिक कृष्ण त्रयोदशीकै दिन भगवान धन्वन्तरिको जयन्तीका रूपमा धनतेरस मनाइन्छ। यस दिन आयुर्वेद चिकित्सक, वैद्य र स्वास्थ्यकर्मीहरू विशेष पूजा र आरोग्य सम्बन्धी कार्यक्रमा सहभागी हुन्छन्। यसरी धनतेरस केवल आर्थिक समृद्धिको पर्व होइन, स्वास्थ्य र दीर्घायुको सम्मानको पनि दिन हो।
धनतेरससँग सम्बन्धित अर्को प्रसिद्ध कथा यमराज र राजा हेमराजका पुत्रको हो। पौराणिक कथा अनुसार, राजा हेमराजका पुत्रको विवाह भएपछि ज्योतिषहरूले भविष्यवाणी गरे कि विवाहको चौथो दिन सर्पको डसाइबाट उसको मृत्यु हुनेछ। जब त्यो दिन नजिक आयो, नवविवाहिता पत्नीले असामान्य उपाय अपनाइन्। उनले घरको ढोकाबाहिर सुन, चाँदी, पैसा र धातुका भाँडाकुँडाहरूको ठूलो थुप्रो लगाइन् र त्यसै माथि असंख्य दियोहरू बालिन्। उनले रातभरि कथा र भजन गाएर जाग्रण गरिन्। जब यमराज सर्पको रूपमा आए, ती सुनचाँदी र दीपहरूको तेजले मोहित भई त्यहीँ रोकिए। बिहान हुने बेलासम्म मृत्युको समय सकियो, र राजकुमारको प्राण बच्यो। यस घटनाबाट प्रेरित भएर प्रत्येक वर्ष धनतेरसको रातमा घरको मूल ढोकामा वा दक्षिण दिशामा दीप बाल्ने परम्परा सुरु भयो, जसलाई “यमदीपदान” भनिन्छ। यो दीप असमय मृत्यु टार्ने, परिवारको सुरक्षा गर्ने र दीर्घायु प्रदान गर्ने प्रतीक मानिन्छ। यसरी धनतेरसले जीवन र मृत्युबीचको सन्तुलनको सन्देश दिन्छ जहाँ मृत्यु पनि श्रद्धा, प्रकाश र प्रेमले पछि हट्छ।
पहिले जहाँ धनतेरस संयम, कृतज्ञता र धार्मिक शुद्धिको पर्व थियो, आज कतिपयका लागि यो अत्यधिक खर्च र प्रदर्शनको अवसर बनेको छ। मानिसहरू आवश्यकताभन्दा बढी विलासितामा खर्च गर्छन्, जसले पर्वको दार्शनिक सारलाई कमजोर बनाएको छ ।
धनतेरसमा लक्ष्मी, कुबेर र धन्वन्तरि यी तीन देवताहरूको पूजा विशेष रूपमा गरिन्छ। लक्ष्मी धन र समृद्धिको देवी हुन्, कुबेर धनका संरक्षक र व्यवस्थापक देवता हुन्, र धन्वन्तरि स्वास्थ्यका प्रतीक हुन्। यी तीन शक्तिहरू जीवनका तीन आधार हुन् धन, विवेक र आरोग्य। लक्ष्मीले भौतिक सुख दिन्छिन्, धन्वन्तरिले स्वास्थ्य र दीर्घायु दिन्छन्, र कुबेरले धनको सदुपयोग गर्ने बुद्धि प्रदान गर्छन्। यो त्रिवेणीले सन्देश दिन्छ कि केवल धन संचय गर्नु पर्याप्त होइन, त्यसको उचित व्यवस्थापन र विवेकपूर्ण प्रयोग पनि आवश्यक छ।
धार्मिक दृष्टिले धनतेरसको पूजा विधि पनि अर्थपूर्ण छ। बिहान स्नान गरेर शरीर र घरको शुद्धीकरण गरिन्छ, जसले आत्मशुद्धिको प्रतीक दर्शाउँछ। त्यसपछि धन्वन्तरि, कुबेर र लक्ष्मीको संयुक्त पूजा गरिन्छ। पूजामा गङ्गाजल, धूप, पुष्प, मिठाई, फल र दीप अर्पण गरेर धन, स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। साँझको समयमा, प्रदोष कालमा घरको मूल ढोकामा दक्षिणतर्फ फर्काइएको दीप बालिन्छ। दक्षिण दिशा यमराजको मानिन्छ, त्यसैले यो दीप यमराजको सम्मान र परिवारको सुरक्षाका लागि अर्पण गरिन्छ। यस दिन नयाँ भाँडा, सुनचाँदीका गहना, धातुका सामान वा अन्य वस्तु किन्ने चलन छ। धार्मिक विश्वास अनुसार यस दिन खरिद गरिएको वस्तुमा लक्ष्मी बस्छिन् र त्यो सम्पत्ति गुणात्मक रूपमा वृद्धि हुन्छ।
तामाको वा चाँदीको भाँडा किन्ने चलन केवल धनप्राप्तिको उद्देश्य होइन। शास्त्रीय दृष्टिले धातुहरू स्वास्थ्यका प्रतीक हुन्। तामाको भाँडामा पानी पिउँदा शरीर स्वस्थ रहन्छ भन्ने आयुर्वेदिक विश्वास छ। त्यसैले धनतेरसमा भाँडा खरिद गर्नु भनेको आरोग्य खरिद गर्नु हो। झाडु खरिद गर्ने परम्पराको पनि गहिरो अर्थ छ। कुचोलाई लक्ष्मीको प्रतीक मानिन्छ, जसले घरको दरिद्रता हटाउँछ र सम्पन्नता ल्याउँछ। यसरी धनतेरसको हरेक कर्मकाण्डमा प्रतीकात्मक सन्देश लुकेको छ त्यो हो शुद्धि, सन्तुलन र समृद्धि।
आधुनिक समाजमा धनतेरसले नयाँ आर्थिक र सामाजिक आयाम पाएको छ। आर्थिक उदारीकरण र बजारकेन्द्रित जीवनशैलीसँगै यो पर्व व्यापारिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण बनेको छ। सुनचाँदीका पसल, इलेक्ट्रोनिक्स स्टोर, भाँडा पसल र सवारी साधनका शोरूमहरूमा यो दिन अभूतपूर्व भीड हुन्छ। व्यापारीका लागि यो वर्षको सबैभन्दा लाभदायक समय हो। यसरी धनतेरसले बजारको गतिशीलता र आर्थिक सञ्जीवनीको प्रतीकको रूप लिएको छ। तर यसले अर्को चुनौती पनि ल्याएको छ उपभोगवाद। पहिले जहाँ धनतेरस संयम, कृतज्ञता र धार्मिक शुद्धिको पर्व थियो, आज कतिपयका लागि यो अत्यधिक खर्च र प्रदर्शनको अवसर बनेको छ। मानिसहरू आवश्यकताभन्दा बढी विलासितामा खर्च गर्छन्, जसले पर्वको दार्शनिक सारलाई कमजोर बनाएको छ ।
यद्यपि, पछिल्ला वर्षहरूमा एक सकारात्मक परिवर्तन पनि देखिन्छ। स्वास्थ्य क्षेत्र, आयुर्वेद र योग अभ्यासमा लागेका मानिसहरूले धनतेरसलाई पुनः मूल अर्थमा फर्काउने प्रयास गरेका छन्। धेरै स्थानमा यस दिन धन्वन्तरि जयन्तीका रूपमा सेमिनार र आयुर्वेदिक प्रदर्शनी आयोजना गरिन्छ। यसले ‘पहिलो सुख निरोगी शरिर’ भन्ने मूल सन्देशलाई पुनर्जीवित गरेको छ। धनतेरसलाई यसरी स्वास्थ्य सचेतना र जीवनशैली सुधारको पर्वका रूपमा पुनः स्थापित हुँदै गइरहेको छ।
नेपालमा धनतेरसको स्थान अझ विशेष छ। यहाँ यस दिनलाई तिहार अर्थात् यमपञ्चकको प्रारम्भका रूपमा मनाइन्छ। नेपालमा यो दिन काग तिहारसँग पनि सम्बन्धित छ। बिहान कागको पूजा गरेर सन्देशको प्रतीकका रूपमा सम्मान गरिन्छ, र साँझमा धन्वन्तरि, लक्ष्मी र कुबेरको पूजा गरी दीप बालिन्छ। ग्रामीण क्षेत्रमा अझै पनि घर सफा गर्ने, माटाका दियो बाल्ने, र परिवारसँग दीपदान गर्ने परम्परा कायम छ। सहरहरूमा भने सुनचाँदी र अन्य वस्तु खरिदको रौनक देखिन्छ। कृषक समुदायले यो दिन नयाँ कृषियन्त्र वा भाँडाकुँडा खरिद गर्छ, जसले आगामी वर्षमा उत्पादन र समृद्धिको संकेत गर्ने गर्छ। यसरी धनतेरसले नेपालमा धार्मिक आस्था, सांस्कृतिक मौलिकता र आर्थिक क्रियाशीलता सबैलाई जोड्ने पुलको काम गरेको छ।
शास्त्रीय रूपमा धनतेरसले मानव जीवनका तीन आधारभूत मूल्य /धन, स्वास्थ्य र विवेक बीचको सन्तुलन,लक्ष्मीले धन र समृद्धिको प्रतीकको, धन्वन्तरिले स्वास्थ्यको र कुबेरले विवेकपूर्ण सञ्चय र व्यवस्थापनको प्रतिनिधित्व गरेको जनविश्वास रहिआएको छ। उपनिषद्हरूमा धनको सदुपयोग धर्मसम्मत र समाजोपयोगी हुनुपर्ने बताइएको छ। धनतेरसले यही शिक्षा दिन्छ कि धन संचय गर्नु गलत होइन, तर त्यो लोभ, अहंकार र प्रदर्शनको माध्यम बन्नु हुँदैन। धनको सदुपयोग, संयम र कृतज्ञता नै वास्तविक समृद्धि हो।
आजको समाजमा जब मानिसहरू भौतिक सुविधा र प्रतिस्पर्धामा व्यस्त छन्, धनतेरसले आत्मपरीक्षणको सन्देश दिन्छ। दीपको उज्यालोले घरको अन्धकार मात्र होइन, मनको अन्धकार हटाउने उद्देश्य राख्छ। दीप प्रज्वलनले हामीलाई स्मरण गराउँछ कि अज्ञानता, इर्ष्या, र लोभ नै मनको अन्धकार हुन्, जसलाई केवल ज्ञान, प्रेम र उदारताले हटाउन सक्छ। वास्तविक धन भनेको पैसामात्र नभई स्वस्थ शरीर, शान्त मन, विवेकशील सोच र प्रेमपूर्ण सम्बन्ध हुन् । धनतेरसको प्रकाश हामीभित्रको चेतनालाई जगाउने सन्देशको रुपमा लिन सक्नु पर्छ।
धनतेरस कृतज्ञताको पनि पर्व हो। यस दिन हामी भगवान धन्वन्तरि, लक्ष्मी र कुबेरलाई आराधना गरेर जीवनमा प्राप्त धन, आरोग्य र अवसरका लागि आभार प्रकट गर्छौं। यो पर्वले भन्छ धन कमाउनु गलत होइन, तर त्यसमा संयम र विवेक हुनुपर्छ। आवश्यकताभन्दा बढी उपभोग र प्रतिस्पर्धा होइन, सन्तुलन र सादगी जीवनको वास्तविक सौन्दर्य हो।
धनतेरस केवल उज्यालो बाल्ने वा वस्तु किन्ने दिन होइन। यो जीवनको दर्शन हो जहाँ धन, स्वास्थ्य र विवेक एकैसाथ सम्मानित हुन्छन्। भगवान धन्वन्तरिको अवतार दिवसका रूपमा यो दिनले सन्देश दिन्छ कि आरोग्य र समृद्धि दुवै दैवी वरदान हुन्, र तिनीहरूको रक्षा कृतज्ञता, संयम र विवेकले मात्र सम्भव छ। आधुनिक समाजमा जहाँ प्रतिस्पर्धा, तनाव र लोभ बढ्दै गइरहेको छ, धनतेरसले हामीलाई स्मरण गराउँछ वास्तविक समृद्धि बाहिर होइन, भित्र बस्छ। प्रकाश, ज्ञान र सद्भावका साथ समृद्ध र स्वस्थ जीवन जिउनु नै धनतेरसको साँचो उद्देश्य हो।
शुभ धनतेरस ! तपाईंको जीवनमा आरोग्य, समृद्धि र प्रकाशको उज्यालो सधैँ फैलियोस्।
प्रतिक्रिया