प्रेम, प्रकाश र श्रद्धाको महान् पर्व तिहार

प्रेम, प्रकाश र श्रद्धाको महान् पर्व तिहार


हाम्रा महान् पर्वहरू भनेका सद्विचार, सद्भाव र सत्कर्मको त्रिवेणी हो । पर्वहरूले हाम्रा संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली र धर्म आदिसँग प्रत्यक्ष सम्बन्ध राखेका हुन्छन् । प्राचीन कालदेखि निरन्तर प्रवाहित यी पर्वहरू सामान्य गृहस्थदेखि सम्राट्सम्मले आ-आफ्नो परम्परा, श्रद्धा र रीतिअनुसार मनाउँदै आएका छन् । यी चाडपर्वहरू केवल आनन्द र उत्सवका माध्यम मात्र होइनन्, यसमा मानव जीवनका गहिरो आध्यात्मिक सत्यहरूको प्रकाश लुकेका छन् । तिनमा प्रेम, श्रद्धा, विश्वास, सहनशीलता र आत्मसमर्पणका बीजहरू गहिराइसम्म रोपिएका छन् ।

नेपाल तपोभूमि, ज्ञानभूमि र साधनाभूमिको रूपमा प्रसिद्ध छ । यहाँका मठमन्दिर, चाडपर्व, अनुष्ठान र संस्कारहरूले यस भूमिलाई विश्वसामु आध्यात्मिक सम्पदाको केन्द्रको रूपमा परिचित गराएका छन् । मानिसहरू एकआपसमा भेट्दा प्राप्त खुशी, आनन्द, प्रसन्नता, आत्मीयता, मानवताको । यिनै पवित्र पर्वहरूमध्ये तिहार, जसलाई दीपावली, दीपोत्सव, यमपञ्चक र भाइटीका नामले पनि चिनिन्छ – यसलाई प्रेम, प्रकाश, श्रद्धा र आत्मीयताको पर्व भनिन्छ ।

तिहारले केवल देवताप्रति श्रद्धा अर्पण मात्र नभइ मानव, पशुपन्छी, प्रकृति र आत्मासँगको सम्बन्धलाई पनि सम्मानस्वरूप प्रकट गर्दछ । ‘देवताहरू प्रेम र कृतज्ञताले भरिएका हृदयहरूमा मात्र वास गर्दछन् ।’ कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने यस पर्वमा जीवनका विभिन्न रूपहरूको आराधना गरिन्छ । घर–टोलहरू सरसफाइ गर्नुका साथै विभिन्न रङ्गका फूलमालाहरूले सजाइन्छन्, साँझमा दीप र झिलिमिली बत्तीहरू बालेर मठमन्दिर र घरहरू उज्यालो बनाइन्छ । यस दीपमालाले वातावरणलाई नै प्रकाशमय बनाइदिन्छ । यस अवसरमा भगवान् विष्णुको अवतार धन्वन्तरी जयन्ती मनाएसँगै तिहारको शुभारम्भ भएको बुझिन्छ । धन्वन्तरीलाई आयु, आरोग्य, भय र रोगको विनाशक देवताको रूपमा आराधना गरिन्छ । वैष्णवहरूले रामराज्याभिषेक, बौद्धहरूले बोध प्राप्ति र नेवार समुदायले म्हः पूजाका रूपमा तिहारलाई मनाउने गर्दछन् । हामीलाई जसले हित गर्दछ त्यसैको सम्मान स्वरूप पूजा गरि यो पर्व मनाइन्छ ।

पहिलो दिन सन्देशवाहक सूचकको रूपमा कागको पूजा गरिन्छ । कागलाई सञ्चार र चेतनाको प्रतीक मानिन्छ । जसले स्मरण गराउँछ कि सूचना र सन्देश सत्यतासँग प्रसारित हुनुपर्छ ।

दोस्रो दिन सत्य, निष्ठा र सुरक्षाको प्रतीक कुकुरको पूजा गरिन्छ । कुकुर तिहारले मानव र जनावरबीचको प्रेम, कृतज्ञता र पारस्परिक विश्वासलाई व्यक्त गर्दछ ।

तेस्रो दिन घरहरू लिपपोत गरेर सयपत्रीमालाहरूले घरका झ्याल-ढोकाहरू सजाइन्छ र लक्ष्मीको स्वागतको लागि तयारी गरिन्छ । मातृत्व शक्तिले सम्पन्नताको प्रतीक गाईको पूजा-आराधना गरिन्छ । यसदिन अर्थात् कार्तिक अमावास्यको दिन लक्ष्मी तीनै लोकमा भ्रमण गर्ने दिन भएकोले फूलमाला र दीपमालाद्वारा लक्ष्मीलाई घरमा स्वागत गरिन्छ । साँझमा भगवती धनकी देवी लक्ष्मीको विशेष पूजा-आराधना गरी विभिन्न प्रकारका दीप जलाइन्छ । यस दिन विशेषगरेर महिला समूहहरूले भैलो खेलि नाचगान गरि रमाइलो गर्दछन् । यो परम्परा बलीराजासँग पनि सम्बन्धित छ । अन्धकारलाई अज्ञानको प्रतीक र दीपलाई ज्ञानको प्रतीक मानिन्छ । यस रातलाई ‘अज्ञानरूपी अन्धकार हटाइ चेतनाको उज्यालो फैलाउने साधना रात्रिको’ रूपमा पनि मनाइन्छ ।

भगवती लक्ष्मीका आठ रूपहरू मानव-जीवनका आठ पक्षहरूसँग सम्बन्धित छन् । आत्मज्ञानको माध्यमबाट परमानन्दको प्राप्ति प्रदान गर्ने आदिलक्ष्मी, सद्गुण, सत्यता र परिश्रमको परिणामस्वरूप प्राप्त समृद्धि प्रदान गर्ने धनलक्ष्मी, हामीलाई पोषणसहित जीवन ऊर्जा दिने अन्न प्रदान गर्ने धान्यलक्ष्मी, परिश्रम र धैर्यताबाट प्राप्त सम्मान प्रदान गर्ने गजलक्ष्मी, वंशवृद्धि, नयाँ जीवन, आशा र भविष्यको निरन्तरता प्रदान गर्ने सन्तानलक्ष्मी, हरेक कठिनाइमा दृढ रहन सक्ने साहस प्रदान गर्ने वीर वा धैर्यलक्ष्मी, अज्ञानलाई हटाइ ज्ञान, विवेक र शिक्षा प्रदान गर्ने विद्यालक्ष्मी, परमानन्द मार्गमा हिँड्ने पथिकहरूको विजय सुनिश्चित गरि सफलता प्रदान गर्ने विजयलक्ष्मी नै लक्ष्मीदेवी हुन् । यसैले, तिहारको रात केवल धनपूजा होइन, यो आत्मप्रकाशको साधना हो, जसले हृदयभित्रको सुप्त ज्योति उजागर गर्छ ।

चौथो दिन प्रकृति र त्यागप्रति सम्मान व्यक्त गर्न गोवर्धन पर्वत र दैत्यराज बलीराजाको पूजा-आराधना गरिन्छ । यसले मानव र प्रकृतिको अभिन्न सम्बन्ध स्मरण गराउँछ । यसदिन श्रम र मेहनतको प्रतीक गोरुको र गोरुको पालनकर्ता हलीको पनि पूजा गरिन्छ । दुवैले किसानलाई गुन लगाएका कारण विशेष पूजा गरिन्छ ।

पाँचौं दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र सौभाग्यको कामना गर्दै यमराज, अष्टचिरञ्जीवी र नवग्रहको पूजाआरधना गरि दाजुभाइको पनि पूजा गर्दछन् । यसले दाजुभाइप्रति दिदीबहिनीको प्रेम, श्रद्धा र आत्मीयताको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउँदछ ।

तिहार केवल धार्मिक पर्व होइन, यो सांस्कृतिक, सामाजिक, आर्थिक र आध्यात्मिक जीवनको समग्र उत्सव हो । यसले सांस्कृतिक एकता र पारिवारिक सम्बन्धको मजबुती सुनिश्चित गर्छ । देउसी-भैलो जस्ता गीत-नृत्यहरूले समुदायमा खुशी र सकारात्मक ऊर्जा फैलाउँछन् । बजारमा आर्थिक गतिविधि तीव्र बन्छ, जसले स्थानीय उत्पादन र व्यापारलाई सशक्त बनाउँछ । पूजा, ध्यान र साधनाले मानसिक शान्ति, आत्मजागरण र आन्तरिक आनन्दको अनुभव दिलाउँछ । तिहारका दीपहरू केवल घरका अन्धकार हटाउन जलाइँदैनन्, ती दीपहरू आत्माको अन्धकार मेटाउने ज्ञानज्योतिका प्रतीक हुन् । तिहारको अन्तर्मनमा लुकेको सन्देश अत्यन्त गहिरो छ । ‘जहाँ प्रेम र कृतज्ञताको प्रकाश जल्छ, त्यहाँ अन्धकार टिक्दैन ।’ यस पर्वले हामीलाई सम्झाउँछ प्रेमले सम्बन्ध उज्यालो बनाउँछ, श्रद्धाले जीवन पवित्र बनाउँछ, र ज्ञानले आत्मालाई मुक्त बनाउँछ ।

त्यसैले तिहार केवल दीप र रंगको पर्व होइन, यो आत्मज्ञान, सहअस्तित्व र दिव्यता अनुभव गर्ने साधना हो । यस पर्वले हामीलाई प्रेम, कृतज्ञता, श्रद्धा, आत्मज्ञान र सहअस्तित्वको शिक्षाले आलोकित गर्दछ । सामाजिक सद्भाव, सहकार्य र प्रेमलाई प्रगाढ बनाउनुका साथै सौन्दर्य, आत्मीयता र आध्यात्मिक चेतनाको प्रतीक तिहार पर्वले प्रेम, कृतज्ञता, श्रद्धा र उज्यालो सोचको मूल्य सिकाउँछ । यो त्यो क्षण हो, जब प्रत्येक हृदयमा उज्यालो फैलिन्छ र सम्पूर्ण सृष्टि एकै स्वरमा पुकार गर्छन्- ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ जाउँ ।’

  • थाक्रे गाउँपालिका, धादिङ