✍ अर्जुन राज पन्त
सम्झेँ आज एउटा घटना बाल्यकालमा भा’को
टोलैभरका बालक मिली काँक्रो चोर्न आ’को
मात्रै थियो काँक्रोमा के उसले हात ला’को
‘को हो’ ? भन्दै कोइली चरी गऱ्यो ठूलो डाँको !
सबको भयो भागाभाग काँक्रो त्यहीँ छोडी
तर्सिएर भागी हाले चोर्न गा’का जोडी !
गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने
न त अन्त गइ कतै यस्ता कुरा खोल्ने !
मतलब छैन कोही-कसैको चिन्ता आफ्नै मात्र
सृष्टिभरि बढिसके यस्तै खालका पात्र !
विरोध गर्ने छैनन् कोही अपराधको झुटको
देखे पनि बोल्दैनन् केही बचाउ गर्छन् गुटको !
दस्ता बनाइ लुट्ने खेलमा पाउँदा सानो पिंडो
त्यही पिंडोमा मुख मिठायो चुप्प लाग्यो हिँड्यो !
किरासरि मानव जाति छन् नि जताततै
निमुखाको घटना घटोस् साक्षी छैन कतै !
जे देखे नि जे भोगे नि बोल्दैनन् ती त्यहाँ !
कुरो लिइ हाजिर हुन्छन् बरु मालिककहाँ
हाम्रो मान्छे फस्छ त्यहाँ नबोल् भन्छ मालिक
प्राण भा’को जिउँदो मानिस बन्छ फेरि शालीक !
प्राण भा’को जिउँदो भा’नि बोल्दैन नि केही
अर्को सिक्छ यही चलन प्रवृत्ति भो यही !
खबरदारी गर्ने जिम्मा पाएका नि आज
जे देखे नि चुपै लाग्छन् मान्दैनन् केही लाज !
उनैबाट आश नभएसि कता जानु अब ?
पखेरुमा विश्वास परि जिम्मा लाउँछौ सब !
को हो को हो.. भन्दै थुर्ने तेरो ठूलो डाँको !
तेरो छ नि गुँडे दाजू अझै खुबी भा’को !
खाइस खेलिस् हुर्किस् बढिस् काग दाजूसङ्ग
उसको खुबी सुने कोइली तँ नि हुन्छस् दङ्ग
निकै टाढासम्म देख्छ सबको खबर राख्छ
जस्तै आपत परे पनि ज्यानै जोगाइ भाग्छ
जस्तोसुकै ठाउँमा पनि भन्दैन त्यो जान्न
हात उठाए बुझी हाल्छ ताके भन्छ हान्न
एकअर्काको खुबी अब अंश बन्डा गर
दुधे भए नि दाजूभाइ होउ नमिल्ने पो छ र ?
सक्दैनौ त्यो साट्न भने अर्को सन्धी गर
सँगै बस, सँगै खेल, सँगसँगै चर
जब देख्छ कागले केही गडबड हुन ला’को
को हो ? भन्दै झपार तैंले गर्दे ठूलो डाँको !
भागे जस्तै काँक्रा चोर भाग्लान् अरु पनि
तेरो आवाज सुन्दा बरु देखेछन् लौ भनि
गर्दे यति कोइली आज धन्य हुन्छस् तँ नि
तेरो पनि पूजा होला त्यस्तै दिन गनी
काग हामी पहिल्यै पूज्थेउँ कागतिहार भनि
यति भएसि मान्छौँ हामी कोइली-तिहार पनि
सोध बरु यमराजलाई ढिला गर्छौ किन ?
हुन्छ कि नाइ दुवै पूजा गर्न एकैदिन ?
चिन्ता छैन यमपन्चक लम्बिए नि बरु
काग कुकुर पुजेकै हो थप्छौं एउटा अरु !
- बाग्लुङ, मुलपानी
प्रतिक्रिया