कता हरायो कवित्व !

कता हरायो कवित्व !


हातका मैला सुनका थैला के गर्नु धनले ।
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भित्रको उपरोक्त कविता ५/६ कक्षा पढ्दै गर्दा ‘मुनामदन’ नपढिकनै पढेँ । हाम्लाई पढाउने गुरुहरुले कुरा गर्दा पढें । बा-आमाले साथी/संगीहरुसँग छलफल गर्दा पढें । त्यसरी पढ्दा थाहा लाग्यो, हामी जस्ता फुच्चे फिस्टाले पनि बुझिने कति सरल कविता रहेछ ! बुझ्न त बुझियो शब्द बुझियो, भाव बुझ्न सकिएन । सुनेर पढ्दा र अझ एक/दुईटा क्लास उक्लेपछि पछि बल्ल मजाले पढें । तर अझै पनि बुझ्न मुश्किल भयो !

अहिले बुझ्छु, पढ्नु र बुझ्नुमा धेरै अन्तर रहेछ । त्यसरी पढेर बुझेपछि समकालिन समयमा इमान जमानमा बाँच्नुपर्छ, सत्कर्मको कमाई गरेर खानुपर्छ, निर्धो र सोझोलाई बठ्याइँ गरेर मारेर खानु हुँदैन अथवा कमाउनु हुँदैन भन्ने ज्ञान सुनेको कविता गहिरिएर पढेपछि बल्ल दिमागमा घुसेको हो । धन भनेको हातैको मैलो हो टक्टकाए जान्छ, माटोमा हातका दशनंग्रा रगटे हातभरी मैलो भरिन्छ कुन ठुलो कुरा हो र ! भन्ने बुझियो । जब मनमा चयन छैन शान्ति छैन आनन्द छैन भने जसरि धन आर्जन गरेपनि त्यो धनको अर्थैछैन भन्ने पनि त्यहिबेला बुझियो । उहिलेदेखि राजनीति गरेका अहिलेका नेताले यत्ति कुरा बुझेर पढेका भए असी वर्षको उमेरमा रक्ताम्य हुनेगरि चुटाइ खानुपर्ने थिएन, हैन र ! के कुरा गर्नु …!

उपरोक्त कविताको सानो अंशले गरिबको निराशालाई आशामा बदल्थ्यो । जति दुःख गरेपनि धन कमाउन सकिएन भन्नेलाई यो कविता सुनाएपछि ल हेर, जति कमाए पनि ऊ त्यसले खै कमाउन-रमाउन र आनन्द लिन सकेको छैन क्यारे ! कमाउनेले सुनैको भात खाएको छैन, चामलकै भात खान्छ क्यारे ! बिहान उठेर धूप जलाएदेखि राति नसुतेसम्म र सुतेपछि सपनामा पनि कमाउन नछाड्नेहरुमा चिन्ता मात्रै छ आनन्द पटक्कै छैन भन्ने बोध भएपछि कर्मशील बन्दै खुशीले जीवन बिताएका थुप्रै जीवनहरु भरिला भएका छन् ।

बरु, यौटा कुरा के हो भने सुकर्म गर्न छाड्नु हुँदैन र त्यही सुकर्ममा रमाउनु पर्छ आनन्द लिनुपर्छ र अन्तमा कर्मफलअनुसार एकदिन अवश्य त्यहि परिश्रमी हातले सुनका थैला सकिनसकी उचाल्न बाध्य पार्नेछ भन्ने पाठ यहि कविताले पढायो बुझायो सिकायो । अहिले मेल खान्छ ऊ बेला गरीबीको कष्टकर जीवन जीउनेहरु सकिनसकि सुनका थैला उचाल्दैछन् । भलै, तिनै गरिबको नाममा देवकोटा जीवित हुँदैदेखि राजनीति गर्नेहरुले स्वदेशमा गरिखाने वातावरण नबनाएकाले पराइभुमिमा पुगेर नै किन नहोस्, उनीहरुको मेहनत र परिश्रमले साथ दिएर उनकै हातले सुनका थैला उचाल्न पुगेका छन् । यही कविताले उदास मान्छेको मन फरक्क फर्काइ सुकर्म गर्न दिशानिर्देश गरेको छ । निराशाबाट आशा मात्रै होइन जीवनपथ नै सहज बनाइदिन्छ । यही काम कविताले गरेको छ । अर्थात्, उनै महाकविको एक लाइन कविताले मरणासन्न बनेको जीवन जुरुक्क उठेर सलल बगाउँछ जीवन ! तब न कविता, खै अचेल त्यस्ता कविता ?

मानिस ठूलो दिलले हुन्छ
जातले हुँदैन !

जातिप्रथा जसले चलाए पनि गलत थियो । जातको आधारमा छुवाछुत हुनु पनि पापै हो । यद्यपि आजसम्म छुवाछुत अझै हराएको छैन । मलाई सम्झना छ, मेरो बालापनमा मेरी हजुरआमाले स्कुल पुगेर आउँदा, साथीहरुसँग खेलेर आउँदा घरभित्रको तामाको गाग्रीबाट एकमुट्ठी पानी ल्याएर नाकमा लगाएको सुनको बुलाकीमा डुबाएर मेरो शरिरमा छर्केपछि बल्ल म घरभित्र छिर्न पाउँथें । छोइछिटो नगरी घर भित्र पस्नु असंभव थियो । आफ्नै जातका साथीहरुसंग खेलेर पढेर घर आउँदा पनि सुनपानी छर्कनै पर्थ्यो । नत्र जताबाट आयो उतै लखेटिनु पर्थ्यो । कपडा सिलाएर वा जुत्ता टालेर घर फर्कंदा त्यसै गर्नुपर्थ्यो । हजुरआमाले चलाएको चलन त थिएन यो । तर हजुरआमा अगाडीका हजुरबा वा आमाले पनि त यहि परम्परा अंगालेकाले मेरी हजुरआमाले पनि निरन्तरता दिनुभयो होला । कसलाई दोष दिने हो छुवाछुतका बारेमा ? उत्तर असजिलो छ !

हजुरआमाको पालामा रहेको यस्तो कट्टर छुवाछुतलाई महाकविको यो एकलाइन कविताले क्रान्ति नै ल्यायो । सबैलाई थाहा छ मान्छे-मान्छेबीचको छुवाछुत अक्ष्यम्य अपराधै हो । हाम्रो समाजमा छुवाछुत यस्तो थियो कि बजारमा एकजातले चिया खान्छ पैसा तिर्छ जान्छ, तर त्यहि चिया अर्को जातले खान्छ पुष-माघको जाडोमा आँफुले खाएको गिलास होटलेसंग पानी मागेर सफा गरेर गिलास घोप्ट्याएर चिसै हातले उत्ति पैसा तिरेर जान्छ । अहो, कस्तो घोर अन्याय !

जम्मा पचास वर्ष बाँचेका महाकविको वि.सं. २०१६ भदौ २९ गते स्वर्गबासी भए । उनको देहावसानको केही समयपछि देशमा राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तनसँगै तत्कालिन राजा महेन्द्रले जमिन्दारका हदबन्दी भन्दाबढी जग्गा खोस्ने र जातपात छुवाछुत हटाउने घोषणा गरेकै हुन् । यसो हुनुमा राजा महेन्द्रमा लक्ष्मीप्रसाद देवकोटाको त्यही कविताको अंशको प्रभाव परेको हुन सक्छ भनेर सहजै अनुमान सकिन्छ । त्यो समयमा राजैले घोषणा गर्दा पनि छुवाछुतमा परेकाहरु निर्धक्क बोल्न सक्ने अवस्था भने थिएन । कसैसँग छोइयो भने उल्टै पाप लाग्ने भयो भन्दै कथित तल्लो जातिका मान्छे भयभित हुन्थे । कसैले केहि नभने पनि आँफै डराउँथे । त्यही महाकविको एक लाइन कविताको कति ठूलो प्रभाव परेको थियो नेपाली समाजमा ! राजाले समेत छुवाछुत गर्दै भेदभाव गर्नेलाई कानुनबमोजिम दण्ड सजाएको व्यवस्था गरेका थिए । साँच्चै भन्नुपर्दा महाकविको एउटै कविताले एउटा दर्शन निर्माण गर्थ्यो ! समाजमा उथलपुथल ल्याउँथ्यो । अनि पो त कविता ! खै अचेल त्यस्ता कविता ?

रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान न भो विवेक ।

मृत्युशैयामा पुगेका बेला देवकोटाले रचेको कविताको एक अंश हो यो । धनी गरीबका लागि चेत खुलाउँदै कविता लेखेका, जातपातको विरुद्धमा पनि कविता लेखेका महाकवि देवकोटालाई राजनीतिक रंग दिने प्रयत्न आजसम्म पनि चलेको छ । तर, उनी विशुद्ध मानवतावादी कवि थिए । उनी कुनैपनि पराया राजनीतिक दर्शनका अनुयायी कवि पनि थिएनन् । जीवनको अन्तिम घडीमा लेखिएको यो कविताभित्र रहेको ‘श्रीकृष्ण’ शब्दले राजनीतिमा तान्न खोज्ने विद्वानहरुको मथिङ्गल खुम्चिन पुगेको थियो । कवि भावनानुसार राजाले छुवाछुत हटाउन खोजे लौ हाम्रो राजनीतिमा राजाले दखल गरे । गरीबका नाममा राजनीति गर्ने दिन गए, राजाले बर्बाद पार्ने भए भनेर छुवाछुत र गरीबी जस्ताकोतस्तै राख्ने राजनीतिले पल्टा खाएको थियो । तर उल्टै राजालाई अप्ठ्यारो पार्न दलितलाई थर्काउँदै छुवाछुतलाई बढावा दिँदै हिड्न थाले । बुझ्नेले कुरा नबुझे पछि कसको के लाग्छ ? आज त बुझ्दैनन् उसबेला के बुझुन् !

महाकवि देवकोटाले त जीवन र जगतको मर्मलाई मानवसभ्यतामा मिसाउन चाहन्थे । उनको अन्तिम रचनाले मान्छेलाई एकबारको जुनीमा अरुको घाउमा मल्हम लगाउने, परोपकार गर्ने, दुःखीको सेवा गर्ने र गर्दागर्दै परमात्मामा विलिन हुन नै मानव-जीवनले सार्थकता पाउने सन्देश छोडेर गए । उनका प्रत्येक कवितामा दम थियो । भनिन्छ- सम्पन्न पश्चिमा देशमा जन्मेका भए उनले एउटा मात्रै होइन दर्जनौं नोवेल साहित्य पुरस्कार जितेका हुन्थे । त्यस्ता कवि अब कहाँ पाई ?

आज-भोलि कविताहरु खासै मर्म छुने पाईंदैनन् । कताकति फुटकर कविताहरु पाइन्छ तर अर्थ न बर्थका ! मैले केही समयअगाडि पुर्वेली कवि मनु मञ्जुलको ‘दुश्मन’ कविता सुने पढेपछि जति धीत मारेको थिएँ, अर्थपुर्ण मानेको थिएँ । त्यसबाहेक थाहा नपाएको हुन सकुँला तर त्यत्तिको कविता सुन्न पाएको छैन । समाजमा डाह, इर्ष्या, बदला र दुश्मनि बढ्दै गएको बेलामा मञ्जुलको कविताले सहनशीलता धैर्यता बाँध बाँध्न पुगेको मानेको थिएँ । सकेसम्म क्षेमाशील बन्दै लड्नु भिड्नु हुँदैन भन्ने सद्भावयुक्त समाज बनोस् भन्ने सन्देश दिन खोजेका छन् कवि मञ्जुलले । यत्तिको सन्देशमुलक कविता पस्कने नवकविहरु किन उम्रन र हुर्कन छाडे चिन्ता लाग्छ ।

कवि त देखिन्छन् तर, केवल यौटा कृति निकालिहालौं मरेपछि बाँचुला भनेर कविता लेख्ने कवि ! अक्षरका थुप्रा थुपारी हालौं नबुझिने थुप्रा बुझेझैं गरि कसैले तालि बजाए नाचूँला भनेर कविता नाच्ने कवि ! तर अक्षरका थुप्रा थुपारेर कविताले कविलाई कहाँ नचाउँछ बचाउँछ र ! कविता कोर्ने कवि श्रष्टा हुनुपर्छ र पो बाँच्छ । रवि नपुग्ने ठाउँमा पुग्ने हुनुपर्छ र पो बाँच्छ । भावशून्यमा कवि हुनु हुँदैन, भावभित्र कवि डुब्नु पर्दछ र ऊ बाँच्छ । डुबे पछि मोती नै निकाल्नु पर्दछ तब न कवि ‘कवि’ हुन्छ र बाँच्छ । यहाँ त, भोलि देवकोटा जयन्ती हो यौटा कविता लेख्नुहोला है भन्दै आज फोन गरेर राति बिच्छ्यौनामा कन्दै फुरेको कविता वाचन गर्ने कवि र कीर्ति रहन्छ कृति लेख भनेर लेखिएका लफङ्गा पुस्तक देखेर अचेल वाक्कदिक्क लाग्छ । उनीहरुप्रति दया लाग्छ माया लाग्छ । त्यसरि नेपाली भाषा र साहित्यको माया गर्न कहाँ सकिन्छ र !

अन्तमा, काव्य यात्रामा लागेका हामी सबै महाकवि हुन सकिन्न, सबै कविशिरोमणी हुन पनि सकिन्न अनि सबै राष्ट्रकवि पनि बन्न सकिन्न कमसेकम उनका कालजयी काव्य संग्रहको सिको गर्न त सकिन्छ । त्यतापट्टी अहिलेको कवि हृदय भएका युवा जमात पुगे होलान कि नाई जिज्ञासा छ । मैले त खासै हरियाली भेट्दिनँ, खडेरीले सुख्खा लागेजस्तो देख्छु । हाम्रो भाषामाथि जबर्जस्ति थिचोमिचो चलेको छ । आक्रमण भएको छ । मिसाइल दागिँदै छ । यस्तो अवस्थामा हाम्रा भाषाप्रेमी साहित्यकार र प्रतिभावान कविहरुका कविताले विदेशी भाषालाई क्षेप्यास्त्र प्रहार गर्दै नाकाम बनाउन सके कति खुशी लाग्दो हो ! त्यस्ता चम्किला प्रतिभा उदाएको देख्न पाए मन कति चंगा हुँदो हो ! दुर्भाग्य, कवितामा कविको कवित्व नै नपाउँदा दुःख लाग्छ । देवकोटा जयन्तीका अवसरमा मनका यिनै भाव पोख्दै उनप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ! धन्यवाद ।