देवकोटको ११७औं जन्मजयन्तिको अवसरमा विविध कार्यक्रम सम्पन्न

देवकोटको ११७औं जन्मजयन्तिको अवसरमा विविध कार्यक्रम सम्पन्न


महाकवि लक्ष्मीप्रसाद देवकोटको ११७औं जन्म जयन्तिको अवसरमा झापा चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

देवकोटा स्मारक संरक्षण समिति भद्रपुर-९ चन्द्रगढीको आयोजनामा बाल कविता प्रतियोगिता, उत्कृष्ट विद्यार्थी सम्मान तथा मनोरम काव्य सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

संरक्षण समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आमन्त्रणमा सम्पन्न कार्यक्रममा कवि, लेखक तथा पत्रकार राजेश ढुंगानालाई २० हजार नगद राशीसहित मनोरम काव्य साधना पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने कवि गणेशप्रसाद नेपाललाई स्रष्टा सम्मानबाट सम्मानित गरियो । यस्तै, कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सुप्रभा नेपाललाई एआई वैज्ञानिक डा. परशुराम दाहालले स्थापना गरेको जेहेन्दार छात्रवृत्ति रकमसहित सम्मान गरिएको थियो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा बाल कविता प्रतियोगितामा श्रद्धा रेग्मी प्रथम, सुमन रेग्मी द्वितीय, पूर्णिमा रिमाल तृतीय र रीमा सापकोटालाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा पुरस्कार स्थापना गर्ने दाता परिवारबाट नेपाल सरकारका सहसचिवसमेत रहेका कुमार दाहालले मन्तव्य राख्दै आफ्नो जन्मभूमिको उन्नतिका लागि साहित्य, कला र शिक्षा क्षेत्रमा विकास गर्न सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।