नेपाल त्यो भूमि हो जसले हजारौं वर्षदेखि सभ्यता र संस्कृति बोकेर आएको छ । तर यसलाई उपेक्षा, स्वार्थ र अल्पदृष्टिपूर्ण राजनीतिले सल्काइरहेको छ । हामी केवल राजनीतिक असफलताको साक्षी मात्र बनेका छैनौं, हामी जीवन जीउने आशासमेत खरानी भइरहेको दृष्य हेर्न बाध्य छौं ।
✍ डा. अपिल न्यौपाने
नेपाल आज एउटा निर्णायक मोडमा उभिएको छ । इतिहासमा कहिल्यै नदेखिएको अस्थिरता, राजनीतिक शून्यता र सामाजिक निराशाको गहिराइले देशलाई एक खतरनाक दिशातर्फ धकेलिरहेको छ। क्रान्तिको वाचा, भ्रष्टाचारको अन्त्य र न्यायोचित समाजको आशा – यी सबै सपना आज विस्थापित भएर निराशामा परिणत हुने खतरामा छन् ।
जेनरेशन जेडद्वारा सुरु भएको आन्दोलन, त्यसमा उधिनिएको ध्वंसात्मक उग्रवाद, र अन्ततः नेपाली सेनाको ‘श्वेत कू’ले देशमा भय, अन्योल र असुरक्षाको नयाँ अध्याय खोलिदिएको छ । यो केवल राजनीतिक संकट होइन, यो सामाजिक मनोविज्ञानको संकट पनि हो । सडकदेखि घरसम्म, जनताका अनुहारमा; यहाँसम्म कि दशैं तिहारजस्ता पर्वको उमंगमा पनि, असुरक्षाको छायाँ स्पष्ट देखिन्छ।
पर क्षितिजसम्म निराशा
जहाँ हिजो सुधारको आशा थियो, त्यहाँ आज मोहभङ्ग मात्र बाँकी छ। भ्रष्टाचार विरुद्धको आवाज मौनतामा हराइसकेको छ, जवाफदेहिताको वाचा धुलोमा मिलेको छ । राजनीतिक नेतृत्व दिशाहीन छ, राज्यका संस्थाहरू पंगु बनेका छन्, र जनताको विश्वास चकनाचुर भएको छ।
सुरक्षा स्थिति यति कमजोर बनेको छ कि छिमेकीहरू पनि एकअर्कालाई शंकाको नजरले हेर्न थालेका छन् । आफ्नै छिमिकीहरुले घर जलाइदिएको दृष्य हेर्न अपराधबिहिन मानिसहरु अभिषप्त छन् र त ति बिक्षिप्त बनेका छन् । दिनदहाडै लुटपाट, डकैती र हिंसात्मक अपराध सामान्यजस्तै भइसकेका छन्। हजारौं अपराधीहरूको जेल ब्रेकपछि कानूनको शासन थप कमजोर भएको छ। नयाँ सरकारले आन्दोलनका घटनामा अहिल्यै कसैलाइ कारबाही नगर्नु भन्ने उर्दि जारी गरेबाट सुरक्षा निकायबाट अपराधिहरुका हातमा पुगेका हजारौं बन्दुक र गोलीहरु कसरी जनतामाथि बर्षिने हो भन्न सकिने अवस्था छैन । युवाहरू, जो परिवर्तनका वाहक हुनुपर्थ्यो ति बेरोजगारी र निराशाको दलदलमा फँसिरहेका छन्। किसानहरू उत्पादनभन्दा ऋणमा डुबेका छन्। प्रहरी र सुरक्षाकर्मीहरू स्रोत साधन र मनोबल दुवैको अभावमा कठोर संघर्षरत छन्।
यसैबीच, राजनीतिक अभिजात वर्ग र विदेशी शक्ति केन्द्रहरू अस्थिरतालाई आफ्ना स्वार्थका लागि उपयोग गर्न तत्पर छन्। भूराजनीतिक खेलको छायामा अवाञ्छित पात्रहरू उदाउँदैछन् जसले राज्यसत्ता नै बन्धक बनाइदिने खतरा पैदा भएको छ । नेपालको आत्मा, पहिचान, गौरव, सार्वभौमिकता र स्वाभिमान आज अपमानित भएको अवस्थामा छ।
यो केवल संक्रमण होइन, यो चेतावनी हो ।
यहाँ आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन संघर्षरत आमाहरुको मुहारमा सर्लक्क पीडा देखिन्छ । शिक्षा चेतना मात्र हैन स्वतन्त्र र सभ्य समाज बनाउने बाटो पनि हो भनेर आफ्ना बालबालिकालाइ बिद्यालय पठाउने बाबुआमाहरु बिध्यालय र विश्वबिद्यालयबाट के शिक्षा प्राप्त गरेका होलान् भन्ने चिन्तामा छन् किनभने शिक्षा स्वयं दलगत स्वार्थले प्रदूषित छ । त्यहाँ पढाइ हैन गुन्डागर्दी बढी हुन थालेको छ । हजारौं युवायुवतिहरु आक्रोस लुकाउँदै मौनतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लागेका छन् केवल परिवारको पेट पाल्नका लागी ।
नेपाल त्यो भूमि हो जसले हजारौं वर्षदेखि सभ्यता र संस्कृति बोकेर आएको छ । तर यसलाई उपेक्षा, स्वार्थ र अल्पदृष्टिपूर्ण राजनीतिले सल्काइरहेको छ । हामी केवल राजनीतिक असफलताको साक्षी मात्र बनेका छैनौं, हामी जीवन जीउने आशासमेत खरानी भइरहेको दृष्य हेर्न बाध्य छौं ।
के गर्न सकिन्छ ?
यो समय आधा अधुरा समाधानको होइन। निर्णायक, संस्थागत र निडर कदमहरूको आवश्यकता छ।
आगामी रोडम्याप :
१. विशेषज्ञहरुको अन्तरिम सरकार
राजनीतिक दलका निष्ठावानहरू होइन, तर स्वच्छ छवि भएका प्राविधिज्ञ, कानूनी विज्ञ र प्रशासकीय दक्ष व्यक्तिहरूले नेतृत्व गर्ने अन्तरिम सरकार गठन गर्नुपर्छ। यसको प्रमुख उद्देश्य जनादेश पुनर्स्थापना, अर्थतन्त्र स्थिरीकरण, र स्वतन्त्र निर्वाचनको वातावरण निर्माण हुनुपर्छ ।
२. वास्तविक राष्ट्रिय संवाद
केवल प्रतीकात्मक सम्मेलन होइन, समावेशी संवाद आवश्यक छ। नागरिक समाज, युवा, आदिवासी, व्यवसायी, बौद्धिक समुदाय, र सांस्कृतिक प्रतिनिधिहरू सबैले सहभागी हुने नयाँ राष्ट्रिय समझदारी आवश्यक छ, जसले जनताको वास्तविक इच्छा प्रतिबिम्बित गर्ने बाध्यकारी ढाँचा तयार गरोस्।
३. भ्रष्टाचारलाई राष्ट्रिय सुरक्षा खतरा मान्नुपर्छ
राजनीतिज्ञ, ठेकेदार वा कर्मचारी जो कोही दोषी भएपनि, उनीहरूलाई स्वतन्त्र भ्रष्टाचार विरोधी अदालतमा पेश गर्नुपर्छ। कुनै ‘आममाफी’ हुनु हुन्न , कुनै ‘ढिलाइ’ पनि हुनुहुन्न । भ्रष्ट प्रमाणितलाई जेल र तिनका मतियार प्रमाणित भएमा परिवारलाई राज्यका सबै सुविधाबाट जीवनभर वञ्चित गरिनु पर्छ ।
४. नागरिक स्वतंत्रता र स्वतन्त्र मिडियाको संरक्षण
लोकतन्त्रको मेरुदण्ड नागरिक समाज, स्वतन्त्र मिडिया र युवा संगठनहरू माथि हुने आक्रमण तुरुन्त बन्द हुनुपर्छ। नागरिक आवाज नै जनताको सुरक्षा कवच हो।
५. रोजगारी र कौशल विकासमार्फत आशा पुनःस्थापना
ग्रामीण पूर्वाधार, फर्किएका प्रवासीहरूको सीप विकास, र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना तत्काल सुरु हुनुपर्छ । ती कार्यक्रम केन्द्रीय राज्यद्वारा नभई सामुदायिक नेतृत्वमा आधारित हनुपर्छ ।
६. संवैधानिक सुरक्षाको पुनर्संरचना
कोही पनि राजनीतिकर्मीको कार्यकालको सीमा तोक्ने प्रावधान राखेर, दलहरूको वित्तीय अवस्थाको पारदर्शीताको सुनिश्चितता, स्वतन्त्र न्यायपालिका र कठोर भ्रष्टाचारविरोधी कानुनहरू सुदृढ गर्नुपर्छ। यही नै लोकतन्त्रलाई ‘माया गर्ने’ मात्र होइन ‘सत्ताको एकाधिकार र दंभको शासन’बाट नागरिक र अन्ततोगत्वा देश नै बचाउने हो ।
पुनर्निर्माण वा पतन :
नेपाल अहिले सामाजिक पतनको संघारमा छ । यदि जवाफदेहितापूर्ण सुधार र समयमै निर्वाचन गरिएन भने, हामी लेबनान, अफगानिस्तान वा सुडानजस्ता असफल राष्ट्रहरूको पथमा पुग्नेछौं जहाँ अस्थिरताले राष्ट्रिय पहिचान र सार्वभौमिकता सबै लुटिएको छ या सिक्किमजस्तै विलयको खतराको घण्टी । यो त्रास फैलाउने कुरा होइन, यथार्थ हो ।
विकल्प स्पष्ट छ :
हामी साहसिक रुपमा, निष्पक्षता र एकताका साथ संस्थागत पुनर्निर्माणमा लाग्नु पर्नेछ, नत्र दशकौं लामो अराजकता र विखण्डनको अन्धकारमा हराउने खतरा उत्तिकै छ ।
तर त्यो केवल इमानदार नेतृत्व, जनताको सचेत सहभागिता, र लोकतान्त्रिक संस्थाको पुनःजीवन मार्फत मात्र सम्भव छ। क्रान्तिको अर्थ विनाश होइन पुनर्जागरण हो, अग्रगमन हो ।
हाम्रो जस्तो ध्वंसांगत क्रान्ति आशाको अन्त्य हुने अन्त्येष्टि हुनुहुँदैन । यसले एक दृढ, बलियो गणतन्त्रको आधार खडा गर्नुपर्छ – त्यो गणतन्त्र जहाँ साहसले भ्रष्टाचारलाई परास्त गर्छ, जहाँ भविष्य केवल राजनीतिक अभिजात वर्गको होइन, सिधा नेपाली जनताको अधिकार र सपना हुन्छ । यदि हामीले त्यसलाई बुझ्यौं भने, नयाँ नेपाल केवल सपना होइन, वास्तविक सम्भावना बन्न सक्छ, बुझेनौं भने हामी आफुलाई रामराम भन्न त सकौंला, काँध त कसले थाप्ला र !
प्रतिक्रिया