बालकोटस्थित जलेको निवास अवलोकनपछि केपी ओलीले भने- ‘मैले राज्यलाई दिएको घर जल्दा राज्यलाई नै क्षति पुग्यो’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवास बुधबार (५ कात्तिक) अवलोकन गरेका छन् । आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहितका संरचना अवलोकन गरे ।
अवलोकनपछि अध्यक्ष ओलीले भने, ‘यो मेरो सम्पत्ति थिएन, यो सरकारको सम्पत्ति हो । हामीले त बाँचुन्जेल बास बस्न र खानका लागि मात्रै प्रयोग गरेको हो । अब त त्यो अवस्था पनि रहेन ।’
उनले थप भने, “मेरो श्रीमतीले राष्ट्र बैंकमा ३३ वर्ष गरेको दुःखबाट सृजना गरेको सम्पत्ति हो यो, यो सबै राज्यका नाममा दिइसकेका थियौँ, यहाँका ऐतिहासिक दस्तावेजहरू, दुर्लभ किताबहरू, महत्त्वपूर्ण सामानहरू जलाउँदा राज्यलाई नै क्षति भएको छ ।”
जेनजी आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट र आगजनीका घटना भयानक षड्यन्त्र भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैँ बोलिराख्या छ । जसरी छानीछानी व्यक्तिका घरहरू जलाइएको छ । योे आश्चर्य जनक छ ।’
आन्दोलनका नाममा योजनाबद्ध रूपमा मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग-व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाएर ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको उनको भनाइ छ । उनले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीसँगै अवलोकनमा रहेकी उनकी पत्नी राधिका शाक्यले जलेको घरलाई अब केही नगर्ने र यत्तिकै छाडिदिने बताइन् ।
अनुगमनका क्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेताहरू भानुभक्त ढकाल, विशाल भट्टराई, एमाले जिल्ला उपाध्यक्ष किरण थापालगायत एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
photo: rss
प्रतिक्रिया