चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाइने जानकारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताएका छन् ।
नवलपरासी (बसुप)को सुनवलमा शनिबार (८ कात्तिक) आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको आरोप लगाउँदै संसद् पुनःस्थापनाको ‘एजेन्डा’ एमालेले नछोडेको जानकारी दिए ।
उपमहासचिव ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे । उनले जेनजी प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे ।
‘फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ’, उपमहासचिव ज्ञवालीले भने । उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने पनि बताए ।
प्रतिक्रिया