यस गरिव देशका विपन्न र निरीह नागरिकलाई ४६ किसिमका कर-तिरोको भार थोपरेर त्यसकै बटुलबाटुलले १८ खर्ब रूपैयाँको राष्ट्रिय बजेट भएको यो देशमाथि २७ खर्ब बढी ऋण लादिएको थियो ! र, नेता खलकका उनीहरू चाहिं जहानियाँ हुकुमी राणातन्त्रलाई बिर्साउने तानाशाही-नवाबी विलासमा मस्त हुने गरेका थिए ।
✍ नकुल काजी
वस्तुतः आफ्ना प्राकृत शरीरबाट स्वतः प्रवाह हुने ‘लेण्डुप दोर्जे फ्लेवर’-लाई छली-कपटी वेदान्तको ‘अत्तर’ छिटेर ढाँट्तै-छल्दै ‘लोकतान्त्रिक गणतन्त्र’-मा नित्य निरन्तर टाँसिंदै आएका रक्तपिपासु जुका-किर्नाहरू अब सतमै नाङ्गिसकेका छन् । तीद्वारा उत्सर्जित चरम बेथितिका सर्वव्यापी पोल्दो-डहँदो रापबाट देशबासीलाई त ‘जेन्-जेड’ चोलाका सन्ततिले मुक्त गराइसकेका छन् । त्यसैले ती जुका-किर्नाहरूका घिनलाग्दो अनुहार र कुमति बारे यी पवित्र र स्वतः श्लील अक्षरहरू खर्चिरहने आवश्यकता अब शायद छँदैछैन ! बरू, यो असल परिस्थितिका संवाहक ‘भदौ २३ गते’-सम्मका सक्कली ‘जेन्-जेड’ वर्गमा समाविष्ट किशोर-किशोरी र नवयुवा-युवतीहरूमा, एक फालका लागि, निश्शेष कृतज्ञता आँक्नु वास्तवमै कारगर होला । चाहे घुसपैठिया शैतानहरूले दलाई लामाको आगामी अवतार हिमालवारि नै गराउने तारतम्य मिलाइरहेका किन नहुन्, भदौ २३ सम्मका ‘जेन्-जेडहरू’-ले, सम्भवतः, त्यसबेलासम्म आफ्ना पुर्खा-परपुर्खाका वरेण्य र गौरवमय इतिहास समेत घोकिसकेका हुनेछन् । किनभने, जेन्-जेड आन्दोलन नेपाली मात्रको अभ्यन्तरबाट प्रादुर्भाव भएकाले नेपाली जन-मनले मानसपटलमै झेलिरहेका पीडाको उद्वेलन जो हो !…
यद्यपि, ‘जेन्-जेड’ पनि राजनीतिको नाममा देशलाई कबिला (जस्तै : बाबरको कबिला, तैमुरलङ र चङ्गेज खाँका कबिला, अब्राहम र इस्रायलका कबिला इत्यादि)-को थान्कोमा र देशबासीलाई रैती-रैतानको दर्जामा आफलेर आफू शासक बन्ने सत्तालोलुप लालची जेठाबाठाका भक्तिमार्गी घुसपैठियाहरूको, षडयान्त्रिक दुष्चक्रस्वरूप अतिक्रमणबाट मुक्त छैन कि भन्ने सन्देहले दैनन्दिन आकार लिँदै जाँदैछ ! र, नेपालको ‘सार्वभौम राज्य’-को आकृति नै ‘राजनीतिक भाँडाकुटी’-को उपमा बन्ने दिशातिर प्रस्तावित गराइँदैछ कि भन्ने घातक शंकाले टाउको उठाउँदैछ ।
लगभग ३६ वर्षदेखि देश र जनतामा अघोषित विषाक्त पैशाचिक स्वभावको दलन र मालिक्याइँ लादेर ब्रह्मलूटबाट आफू धनधान्य बन्दै विलासमा मगनमस्त हुँदै आएकाहरूलाई राहत दिनेगरी जेन्-जेडभित्र गुट-गिरोह विभाजन गराइन थालेका आभासहरूले आम नेपालीका मन-मस्तिष्कमा भने ‘फेरि हिस्याउने हो कि !’ भन्ने सन्देह टुसाउन थालेको छ । र, उतिका वर्षदेखि आफ्नो मनचाहे र अविच्छिन्न भोग-चलनमा रहेको देश र शासनसत्ता नामे कमाउ अखडा (?) खोसिएको तिक्त र तरस्वी अनुभूतिले बेचैन र विक्षिप्त भएकाहरू पुनः पुरानै स्वेच्छाचारी शैलीले बुर्कुसी मार्न आफ्ना हिंस्रक नंग्रा उद्याउन ताउर-माउर गर्न थालेका छन् । यी सबै जेन्-जेड आन्दोलनले आम नेपालीका परोक्ष-प्रत्यक्ष आधारभूत पीडा, असन्तोष र आक्रोश-उद्वेलनको प्रतिनिधित्व गरेका हुन् ।
बस्…, यति सहज बोधगम्य अवस्थाको सम्यक मूल्यांकन गर्ने सामर्थ्यसम्म नभएर अनावश्यक ओताएकाहरूको हालका चलखेलको अन्तर्य कति घृणास्पद छ भनेर व्याख्या गर्ने हो भने शायद ‘लाज’-ले पनि लजाएर मुख ढाक्दो हो । तीन वयोवृद्ध नेताले देश र देशबासीलाई निर्ममतापूर्वक ढाँटे, झुट्टा आश्वासनका छारोहरू उडाए मात्र होइन, उनीहरूले आफूहरूलाई १८औं शताब्दीदेखि नै विश्व-इतिहासमै कुख्यात (माथि उल्लिखित जस्तै) कबिला-मालिकका नेपाली प्रतिकृति बनाएर आफूलाई स्थापित गर्ने लक्षण देखाउने हद टेकेका थिए । तिनका गलत र अवाञ्छित परवरिसमा औंसा भएर जन्मिई कीरा-कीटाणु बन्दै हुर्किंदै आएका झोले-चम्चेहरूले उसरी नै धरातलीय नेपालीलाई विरक्त तुल्याएर आफ्नो हुँदो गर्न पाइआएका थिए ।
उतिका वर्षदेखि आफ्नो मनचाहे र अविच्छिन्न भोग-चलनमा रहेको देश र शासनसत्ता नामे कमाउ अखडा (?) खोसिएको तिक्त र तरस्वी अनुभूतिले बेचैन र विक्षिप्त भएकाहरू पुनः पुरानै स्वेच्छाचारी शैलीले बुर्कुसी मार्न आफ्ना हिंस्रक नंग्रा उद्याउन ताउर-माउर गर्न थालेका छन् ।
यी यावत् दलन-शोषण र अन्याय-अत्याचारका प्रतिको असन्तोष, इख र आक्रोश जेन्-जेड अवतारमा अवतरण भएको हो । यति स्पष्ट विषय उनीहरूले नबुझेका होलान् र ? जेन्-जेडको अन्तर-पहिचानमा विभाजन एवम् ध्वंशकारी मतिधारकहरू-को घुसपैठको अज्ञात अन्योलले अघिल्लो शासक-मण्डलीमा समाविष्ट सबै नाम-थर-गोत्रलाई पुनरस्थापित हुने आशाले कुत्कुत्याएको स्थिति मात्र हो, अहिलेको उनीहरूको थेत्तरो ताउर-माउर ! तर, अजम्बरी रूपमा स्थापित भएको जेन्-जेडको ऐतिहासिक र विश्वचर्चित सफलतालाई स्थायित्व दिन र अझ नतिजामुखी एवम् सुदृढ बनाउन अब अविलम्ब उल्लिखित अन्योलको बादल फाट्न वा फटाउन जरुरी छ ।
संविधानमा आफूले नै लेखे-लेखाएका कतिपय नीति-विधिका धारा-दफाहरूका बहुअर्थक कमजोरीको सहारा लिएर जुनसुकै अपराधबाट आफू बँच्तै आफ्ना कौडे दास झोले भक्त र स्वार्थवश बगालिएका कालाधन्धे सुण्डमुण्ड दलाल माफिया र तस्करहरूलाई बचाउने ‘संकट-मोचक’ हुनु नै आजसम्म ‘नेता’को सक्कली परिचय भइआएको थियो ! अन्ततः यस गरिव देशका विपन्न र निरीह नागरिकलाई ४६ किसिमका कर-तिरोको भार थोपरेर त्यसकै बटुलबाटुलले १८ खर्ब रूपैयाँको राष्ट्रिय बजेट भएको यो देशमाथि २७ खर्ब बढी ऋण लादिएको थियो ! र, नेता खलकका उनीहरू चाहिं जहानियाँ हुकुमी राणातन्त्रलाई बिर्साउने तानाशाही-नवाबी विलासमा मस्त हुने गरेका थिए ।
यी सब सरेआम फटाइँ कायम राख्ने ध्याउन्नमा सदा अनुरक्त देशघाती-जनघाती शासक-मण्डलीको घोर बेवास्ताका कारण घटीमा नब्बे-पञ्चानब्बे लाख (कूल जनसंख्याको झन्नै एक तृतीयांश) ऊर्जावान पाखुरे नागरिकले विदेशी भूमिमा श्रम बेच्नुको विकल्प नदेखेका हुन् । देब्रे हातले दाहिने कान र दाहिने हातले देब्रे कान समाएर आँखामा छारो हाल्ने खेलमा जनतालाई अल्मल्याउने पाखण्ड खपिनसक्नु भएकै परिणामतः भदौ २३-२४ आएको थियो । ती दिनहरू सत्ताको अहम् र अहंकारलाई जेन्-जेडको अगुवाइमा हर तह र तप्का-कान्लाका नेपालीको बाध्यात्मक शक्तिको ऐतिहासिक दनक थिए । यी-इत्यादिबाट प्रादुर्भूत अत्यास, विक्षिप्ति र जेन्-जेडको यो विद्रोहलाई प्राप्त आम समर्थनलाई भाँड्न पुराना सत्ता-मण्डलीका सकल दर्जाका अगुवाहरू उद्यत छन् ।
यी कुरा यसरी नै बुझेर सक्कली जेन्-जेडका अगुवाहरू सावधान हुन र आफ्नो यहाँसम्मको सफलताको शाख निर्दाग जोगाउँदै अघि बढ्न अत्यावश्यक देखिएको छ । जुन आन्दोलनको धरातल टेकेर हालको सरकार बन्यो, त्यसको पनि आजसम्मको यात्रा उत्ति सन्तोषजनक र विश्वासिलो हुन सकेको छैन । पुरानै कार्यशैली र अभ्यासशैली जो देखिएको छ… हेक्का रहोस् ।
पवित्र उद्देश्य बोकेका जेन्-जेड पुस्ताका कलिला नवयुवा सन्ततिमाथि गोली वर्षाएर भाग्ने खलपात्र अहिले फेरि ‘मै संविधान हूँ र म जे भन्छु, त्यही ऐन-कानून हुन्छ’ अथवा ‘म नै राज्य हुँ’ भनेजसरी चरम अहंकारी र दलनकारी उवाच धतुराउँदै छन् – सन् १९९० ताकाको युगाण्डेली इदी अमिनकै झल्को हुनेगरी ! आन्दोलनसँग डराएर सैनिक हेलिकप्टरमा भाग्न लाग्दा कामचलाउ प्रधानमन्त्रीको हैसियतमै थिए उनी । र, त्यस हैसियतले लिखित सहमतिको सिफारिश गरिदिएर उनैले प्रधानमन्त्रीमा नियुक्त गराएका हुन्, सुशीला कार्कीलाई । तर, अहिले उनै निर्लज्ज सो नियुक्ति अवैधानिक करार गर्दै आफ्ना सुण्ड-मुण्डलाई सुऱ्याउँदैछन्, मुद्दा-माम्ला खाप्न लगाउँदैछन् र सडकमा तनाव नार्ने पार्श्व-भूमिका आदि यत्रतत्र सर्वत्र मूल धुन्धुकारी बनिरहेका छन् ! र, यस्तै लबस्तरो चालालाई नै ‘विनाशकाले विपरीत बुद्धि’ भन्ने गरिएको हुनु पर्छ !
आजलाई यत्ति ।
प्रतिक्रिया