‘निर्वाचनको माहोल बनाउन’ सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय बैठक गरिने

‘निर्वाचनको माहोल बनाउन’ सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय बैठक गरिने


सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (१२ कात्तिक) अपराह्न ४ः०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको जानकारी दिँदै निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको बताए ।

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबैपक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको दाबी छ ।

निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले जिकीर गरे । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको र सोहीअनुसार आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको सरकारी पक्षको दाबी छ ।