पत्रकार सम्मेलन : के हो, के होइन ?

पत्रकार सम्मेलन : के हो, के होइन ?


जेनजी आन्दोलनपछि गठित सरकारका मन्त्री महावीर पुनदेखि मिराज ढुंगानासम्मले ‘पत्रकार सम्मेलन’ भन्दै आयोजना गरेको जमघटमा हातमा क्यामेरा र मोबाइल लिएका मानिसहरू (केहीचाहिँ साँच्चैका पत्रकार पनि) को भीडभाड र त्यो भीडबाट बोलिएका शब्दहरू सुन्दा ‘पत्रकार सम्मेलन’को भद्दा मजाक त्यो भन्दा अर्को हुन सक्दैन जस्तो लाग्यो । पत्रकार सम्मेलनका नाममा अरु नै केही भइरहेको यसअघि खासै देखिएको थिएन ।

पत्रकार सम्मेलन किन गरिन्छ ?

मूलतः पत्रकार सम्मेलन नयाँ कुराको जानकारी दिन गरिन्छ । कतिपय अवस्थामा कुनै कुरा विवादमा पर्दा वा गलत सूचना फैलिँदा गलत कुराको खण्डन गर्नका लागि पनि पत्रकार सम्मेलन गरिन्छ । सरकार, राजनीतिक दल, कुनै नीतिगत निर्णयहरू लगायतका कुरामा जानकारी दिनका लागि प्रेस विज्ञप्तिले मात्रै नपुग्ने जस्तो ठानेपछि उक्त विषयका उत्तरदायी ब्यक्ति या संस्थाहरूले पत्रकार सम्मेलनको आयोजना गर्छन् । जसको प्रमुख उद्देश्य सम्बन्धित कुरामा पत्रकारलाई स्पष्ट पार्नु या विषयको महत्व बुझाउनु हुनेगर्छ ।

पत्रकार सम्मेलनमा आयोजकबाहेकका सहभागीमा पत्रकार मात्रै हुन्छन्, जसले कुनै न कुनै मिडियाको प्रतिनिधित्व गरिरहेका हुन्छन् । कतिचाहिँ स्वतन्त्र पत्रकार पनि हुनसक्छन्, जसले आफूले लेखेको सामाग्री कुनै पनि मिडियामा प्रकाशित गर्न सक्छन् । स्वतन्त्र पत्रकारले ‘हार्ड न्युज’ भन्दा पनि विश्लेषणात्मक या अनुसन्धानात्मक सामाग्री मिडियालाई दिइरहेका हुन्छन् ।

पत्रकार को हुन् ? पत्रकारले के गर्न हुँदैन ?

पत्रकारिता गर्ने ब्यक्ति पत्रकार हुन्, जसले समाचार संकलन गर्छन्, लेख्छन्, विश्लेषण गर्छन् र छापा या विद्युतीय माध्यमबाट प्रकाशन-प्रशारण गर्छन् । सार्वजनिक पहरेदारको रूपमा भूमिका निर्वाह गर्ने हुनाले पत्रकारले निष्पक्ष भूमिका निर्वाह गर्छन् भन्ने मान्यता रहेको छ । सरकार, सम्बन्धित निकाय र जनताबीच पुलको काम त गर्छन् नै, एजेण्डा सेटिङ्गको भूमिका पनि पत्रकारले नै निर्वाह गरिरहेका हुन्छन् । नेपालमा पत्रकारका लागि आचारसंहिता छ । विश्वमै पत्रकारका लागि आचारसंहिता लागु गरिएको हुन्छ । जसमा पत्रकारले के गर्न हुन्छ, के हुँदैन ? भन्ने कुरा उल्लेख गरिएको हुन्छ । नेपालमा प्रेस काउन्सिल र पत्रकार महासङ्घले पत्रकारका लागि आचारसंहिता जारी गरेका छन् । आचारसंहिता कर्तब्य र दायित्वसँग जोडिएको अनुशासन हो ।

पत्रकार आचारसंहिता अनुसार पत्रकारले गर्न नहुने/नमिल्ने कुरा टन्नै छन् । समग्रमा सत्यतथ्यको सम्प्रेषण, गोपनीयताको हकको सम्मान, सामाजिक दायित्व, गल्ती सच्याउने तत्परता, सामाजिक न्याय र सद्भावना प्रतिकुल असर पार्न नमिल्ने, भेदभाव हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, वीभत्स दृष्य र तस्बिर प्रकाशन, प्रसारण गर्न नहुने, पीडितलाई थप पीडा पुग्ने गरी सूचना सम्प्रेषण गर्न नहुने, पीडित ब्यक्तिको नाम, ठेगाना खुलाउन नहुने, घटनासँग असम्बन्धित ब्यक्तिको नाम उल्लेख गर्न नहुने, तथ्य बंग्याउन नहुनेलगायत रहेका छन् ।

आयोजकको तयारी के हुनुपर्छ ?

आफूले या आफूहरूले केका लागि पत्रकार सम्मेलन गरिरहेका छौँ भन्ने विषयमा आयोजक स्पष्ट हुनुपर्छ । केही समयअघि युवा अभियन्ता मिराज ढुंगानाद्वारा गरिएको पत्रकार सम्मेलनमा आयोजक आफूले के गर्न खोजेको हो ? भन्ने कुरामा स्पष्ट देखिएनन् । न त पत्रकार भनेर बोलाइएकाहरू मध्ये केहीले गरेका प्रश्न नै एउटा पत्रकारले गर्ने प्रश्न जस्ता थिए । विषयबस्तुमा स्पष्ट भएपछि आयोजकले पत्रकारको सूची तयार गर्ने हो न कि सार्वजनिक आह्वान । कसलाई बोलाउने ? कतिजना बोलाउने ? आफूले हेण्डिल गर्न सक्ने पत्रकारहरूको संख्या कतिसम्म हुनसक्छ ? उनीहरूले सोध्नसक्ने सम्भावित प्रश्नहरू के-के हुनसक्छन् ? सम्भावित प्रश्नका बारेमा सोच्नुअघि आफूले पत्रकारलाई दिने प्रेस विज्ञप्तिको ‘कन्टेन्ट’ के हुनसक्छ ? – तय गर्ने हो । विज्ञप्ति तयार भएपछि उल्लेखित विषयमा के-कस्ता प्रश्नहरू आउन सक्छन् भनेर तयारी गर्नुपर्ने हुन्छ ।

प्रेस विज्ञप्ति

पत्रकार सम्मेलनका लागि प्रेस विज्ञप्ति निकै महत्वपूर्ण कुरा हो, जहाँ के भन्न खोजिएको हो भन्ने कुरा स्पष्ट उल्लेख भएको हुन्छ, हुनुपर्छ । प्रेस विज्ञप्तिमा आफूले भन्न चाहेको कुरा ६ वटा ‘क’ (को ? के ? कहिले ? कहाँ ? किन ? र, कसरी ?) हुनुपर्छ ताकि पत्रकारले हेर्नेवित्तिकै मुख्य कुरा बुझ्न सकुन् । विज्ञप्ति पढिसकेपछि या आयोजकले आफ्ना कुरा राखिसकेपछि प्रश्न गर्ने अधिकार पत्रकारको हो ।

पत्रकारका सीमा

पत्रकारका आफ्नै सीमाहरू हुन्छन् । स्वतन्त्रता जहिले पनि उत्तरदायित्वसँग जोडिएको हुन्छ । प्रेस स्वतन्त्रताको अर्थ सीमाहीन स्वतन्त्रता होइन, उत्तरदायित्वसहितको स्वतन्त्रता हो । समाचारीय मूल्य बोध भएको, बस्तुनिष्ठता, सजगता, दूरदरर्शिता, समयपालन, शान्त स्वभाव, निडर, आत्मअनुशासन लगायतका कुराहरू एउटा पत्रकारको योग्यताभित्र पर्छन् । कुनै पनि पत्रकार सम्मेलनमा गएर ‘तपाईंले यो गर्नुभएन भने म गोली हान्छु भन्ने अधिकार पत्रकारलाई छैन ।’ यदि कसैले त्यस्तो भन्छ भने त्यो पत्रकार होइन । पत्रकारले विषयबस्तुको वरिपरि रहेर आफ्ना प्रश्नहरू निर्वाध रूपमा गर्न पाँउछन् ।

हामीकहाँ के भइरहेको छ ?

केही समयअघि जेनजी अभियन्ता मिराज ढुंगानाले गरेको पत्रकार सम्मेलनलाई हेर्दा आयोजकले के जानकारी दिन खोजेको हो उनीहरू स्वयम् स्पष्ट थिएनन् । राजनीतिक दल खोल्नेबारेको जानकारी दिन गरेको भनिएको पत्रकार सम्मेलनमा कम्तिमा राजनीतिक दलको नाम, पदाधिकारी, मुख्य उद्देश्य स्पष्ट हुनुपर्थ्यो । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बाहेक अन्य कुरा उनीहरूलाई थाहै थिएन, यदि थियो भने पनि उनीहरूको प्रस्तुतिमा थाहा भएको कुरा देखिएन । सम्भावित प्रश्नहरू के-के आउन सक्छन् भन्ने कुरामा पूर्वतयारी पनि देखिएन । मूल प्रवाहका मिडिया र युटुबर सबैलाई पत्रकारका रूपमा खुल्ला आह्वान गरेर बोलाइयो ।

मूलप्रवाहका मिडियामा काम गर्ने पत्रकार र युटुबर उस्तै होइनन् । तथापि, अहिले मूल प्रवाहका मिडियामा काम गरेका अनुभवी पत्रकारहरू पनि युटुबमा कार्यक्रम चलाउँछन् । युटुबर हुने र पत्रकार हुने योग्यता फरक छ । युटुबर जो-कोही हुन सक्छ, तर पत्रकार हुनका लागि कम्तिमा पत्रकारिताको आधारभुत जानकारी भएको हुनुपर्छ । कम्तिमा ‘फाइभ डब्लुएच’ जानेको र मिडिया इथिक्स बुझेको हुनुपर्छ । त्यसो त, युटुबरले त के हरेक मानिस आफ्नो अभिब्यक्तिमा उत्तरदायी हुन आवश्यक छ । तर हामीकहाँ सामाजिक संजाल र युटुबमा जे बोलेपनि हुने जस्तो भएको छ, जुन गलत हो । सामाजिक संजाल संचालनका पनि आफ्नै मूल्य, मान्यता र सीमाहरू हुन्छन् । सामाजिक संजाल प्रयोगकर्ता र युटुबरहरू उत्तरदायी नभइदिँदा समाजमा जसले जसलाई जे भनेपनि हुनेझैँ भएको छ, जुन गर्न पाइँदैन ।

पत्रकार सम्मेलनका नाममा युटुबर जम्मा पारेर आयोजकले जे पायो त्यही बोल्ने र प्रश्न पनि त्यस्तै सोध्ने कार्यले पत्रकार सम्मेलनकै बेइज्जती भइरहेको छ । पत्रकार सम्मेलन भाइरल हुनका लागि नभइ नयाँ कुरा सार्वजनिक गर्न या विवादास्पद विषयलाई स्पष्ट पार्न गर्ने हो । नयाँ पुस्ताका युवाहरूको मात्र कुरा होइन, महावीर पुन जस्ता परिपक्व ब्यक्तित्वले मन्त्रीको हैसियतमा गर्नुभएको पत्रकार सम्मेलनमा पत्रकारको बारेमा जे-जस्ता शब्दहरू प्रयोग गरिए ती सुन्नै अप्ठ्यारो लाग्ने खालका थिए । पत्रकारले हिजोआज के गरिरहेका छन् भन्ने क्रममा उहाँले केही तल्लो स्तरका युटुबरले गर्दै आएका कामलाई ‘पत्रकारले गरेको’ भनिदिँदा अचम्म लाग्यो । उहाँ जस्ता ब्यक्तिको त पत्रकार र पत्रकारिताप्रतिको बुझाइ त्यस्तो छ भने अरुको के होला ? अनुमान गर्न सकिन्छ । युटुबरले शिक्षामन्त्रीको शरीरभरी भिराइदिएका पिन माइक र मन्त्रीले बोलेका केही शब्दहरू करिब उस्तै-उस्तै लाग्थे, दुबैले एकर्कालाई सम्मान गर्न नसकेका ! मन्त्रीका रूपमा त के मन्त्री हुनुअघिकै महावीर पुनले पनि त्यस्ता शब्द सार्वजनिकरूपमा बोल्न नमिल्ने हो ।

पछिल्लो समयमा हामीकहाँ पत्रकार सम्मेलनहरू ज्यादै कम मात्रामा हुने गरेका छन् । प्रधामन्त्रीका रूपमा केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनैजनाले पत्रकार सम्मेलन खासै गर्नुभएन । तीन जनामध्ये प्रचण्डले बेला-बेलामा पत्रकारहरूका सामु आफ्ना कुराहरू राख्ने गर्नुहुन्थ्यो । हामीकहाँ मात्र नभइ भारतमा पनि अवस्था उस्तै-उस्तै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन नगरेको धेरै भयो । उहाँले केही कुरा राख्नुपर्दा ट्वीटरको प्रयोग गर्ने गर्नुभएको छ । अमेरिकामा भने जो आएपनि राष्ट्रपतिले पत्रकार सम्मेलनको संस्कृतिलाई छोडेका छैनन् ।

अन्त्यमा, पत्रकार सम्मेलनका आयोजकले पत्रकार र पत्रकारिता क्षेत्रलाई जे पनि भन्ने र पत्रकारका नाममा कार्यक्रममा सहभागी भएकाहरूले जे पनि बोल्ने दुवै प्रवृत्ति गलत हुन् । कुनै पनि अति आवश्यक विषयमा या नयाँ सूचना तथा जानकारी दिलाउनका लागि गरिने यो कार्यको आफ्नै तौरतरिका हुनेहुँदा पत्रकार सम्मेलनका नाममा हुलहुज्जत गर्ने काम नगरौँ ।