राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय


सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

आज (१२ कात्तिक) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेर गर्ने र स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको उनले बताए ।

यसैगरी छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिँदै उनले अब अनलाइनको दर्ता र नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू हुने प्रष्ट्याए ।

कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ विषयक कार्यक्रममा सहभागी हुनेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यही कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमणलाई स्वीकृत गरेको पनि प्रवक्ता खरेलले जानकारी दिए ।

photo: rss