कम्युनिस्टले सिद्धान्त र दर्शनका चर्का कुरा गरे पनि व्यवहारिक र भूराजनीतिक अभ्यासलाई अनुसरण गर्ने काम मदन भण्डारीले मात्र गरे । सिद्धान्त र विचारलाई मुस्लिम धर्मको ‘कुरान’ जस्तो बनाउने होइन भन्ने विचार मदनको थियो । उनको विचारले एमाले जनताको बढी समर्थन भएको दल बन्न सक्यो ।
✍ अधिवक्ता डा. प्रेमराज सिलवाल
कम्युनिस्ट पार्टी निर्माणको अभ्यास इतिहासमा सैनिक संगठन जस्तो क्रान्तिकारी अनुशासनबाट अघि बढेको पाइन्छ । त्यागी, समर्पण भएको मात्र कम्युनिस्ट सदस्य हुन सक्ने नीति रहेको थियो । तर आजको अवस्था त्यतिमा सीमित छैन । आज आम जनताको पार्टी र मूलतः चुनावी दल वा भीड चाहिएकोले विभिन्न प्रकारका मानिसहरू राजनीतिक दललाई हुलिएका छन् । हिजोको जस्तो केही सैद्धान्तिक र वैचारिक मान्छेले झोला बोक्ने पार्टीले आज पुग्दैन । जनताको बहुदलीय जनवादले जनताको प्रत्येक युनिटमा पुग्ने स्थानीयमा लोकप्रिय बन्ने जनताको नेता आजको आवश्यकता रहेको छ ।
कम्युनिस्टको नाममा प्रचण्डले मुलुकमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अपराध गरे । अपराधको संस्कृति भित्र्याए । अपराध र हिंसालाई संस्थागत तथा दलीयकरण गरे । प्रचण्डलाई अहिले कम्युनिस्ट र खासमा माओवादी नाम र झन्डा नै ‘घाँडो’ भइसक्यो । संगठनको जुइना खुस्किएको अवस्थामा नयाँ तुल्याउन हेतु ‘पुरानो बोत्तलमा नयाँ रक्सी’ भनेझैँ ‘आउडडेटेड’ माधव नेपालसँग अन्तिम किस्ताको ‘पत्ता’ फ्याँक्न खोज्दैछन् । तथापि, अब प्रचण्ड र माधवका दलमा भएका केही हजार मान्छे जोगाउन सक्ने अवस्था छैन । तिनको दललाई पुनः संगठित बनाउनु चुनौतीपूर्ण छ ।
अब ढाँट्ने कुरा पनि केही बाँकी रहेन । कमिटीलाई जिउँदो बनाउनुपर्ने, नियमित बैठक बसाउन र जीवित बनाउन एकताको अन्तिम पत्ता खेल्न खोजिएको भए पनि उनीहरू आफैंलाई समेत यसबाट पार लाग्दैन भन्ने कुरा थाहा छ । तिनका पार्टीको नीति र संगठनको आज आवश्यकता रहेन । कम्युनिष्ट पार्टी नीतिप्रधान हुनुपर्नेमा प्रचण्डले ‘आफूप्रधान’ बनाएर ल्याएकाले तिनमा उत्साह सबै मऱ्यो । संस्थागत निर्णयको परिपाटी बसाल्न सकेनन् । विचारको राजनीतिक दलमा निश्चित नीतिको आधारमा नेता छानिने कुरा हुन्छ । पार्टी निर्माण भौतिक परिस्थितिले मानिसको चेतनाको निर्माण गर्ने गर्छ । पार्टी निर्माणमा सिद्धान्त र विचारले काम गर्छ भन्ने मार्क्सवादले भन्ने कुरा हो । कम्युनिष्ट पार्टी जनवाद मात्रले चल्दैन र केन्द्रीयताले मात्रै पनि चल्दैन । जनवाद र केन्द्रीयताको ‘फ्युजन’ गर्नुपर्नेमा प्रचण्डले ‘दाहालवाद’ मात्र चलाएकाले उनको हातमा राजनीतिको कुनै तुरुप छैन । अब बचेको अन्तिम पत्ता प्रयोग गरेर ‘जिरो’ भइसकेका माधव नेपाललाई मिसाउने तरखरमा छन् । जिरो र जिरोको योग जिरोमात्र हुने हो । माधव र प्रचण्डको अन्तिम पत्ताको नतिजा जिरो हुने पक्का छ ।
वास्तवमा राजनीतिक पार्टी भनेको निश्चित उद्देश्य, कार्यक्रम, संगठन भएका एकै नीति सिद्धान्तमा संगठित व्यक्तिहरूको संगठन पार्टी हो । राजनीतिक पार्टीको एकता र एकीकरणमा सिद्धान्त, संगठन, नीति र कार्यक्रमको समायोजन गरिन्छन् भने अन्य प्राविधिक तथा सांगठानिक विषयसमेत मिलाइन्छन् । नेपालमा सामन्ती, अर्धसामन्ती औपनेविशिक अर्धऔपनिवेशिक समाजलाई बदल्ने पूँजीवादी जनवादी क्रान्तिको न्यूनतम लक्ष्य लिएको समाजवाद, साम्यवाद अधिकतम् लक्ष्य लिएको, मार्क्सवाद लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मानेको, सबैखाले अवसरवाद विरोधी, वैदेशिक एकाधिकारवाद, साम्राज्यवादको विरोध गर्ने नीति लिएको संगठन कम्युनिस्ट दर्शनलाई पत्रु बनाउने कुपात्र प्रचण्ड देखिए । आफ्नो सत्ता स्वार्थका लागि जस्तोसुकै बोल्ने, जोसुकैसँग गैरराजनीतिक मिलन गर्ने र आफू सत्ता र शक्तिमा टिकिरहन जे पनि भन्ने प्रचण्डले माधव नामको ढोडेलौरी लिएर राजनीतिको उकालो यात्रा चढ्ने दुःस्साहस गर्न खोज्दैछन् ।
नेपाली समाजलाई बदल्न, जनताको समृद्धिप्रतिको चाहना पूर्ति गर्नको लागि न्यूनतम् लक्ष्य न्यायपूर्ण समाजवाद हो । विश्वमा हतियारबाट क्रान्ति गर्ने कम्युृनिस्ट पार्टी सिद्धिए । नेपालमा तत्कालिन नेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादी क्रान्तिको मार्गबाट हिँडेको कारण नेकपा एमालेचाहिँ बलियो छँदैछ । जनवाद र जनवादी अभ्यास गर्दै आएको कारण जनताको मनमस्तिष्कमा त्यो पार्टी रहन सकेको देखिन्छ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादीसँग २०७४ सालमा एकता भएपछि नेकपाको निर्माण भएको थियो, तर त्यसलाई मारियो ।
प्रचण्ड पानीबाट बालुवामा झिकेका माछा जस्ता भएका छन् । यही कारण जिरो भइसकेका माधव नेपालसँग एकता भन्दै ‘ए-कता ?’ को अन्तिम पत्ता फ्याँक्ने तयारीमा लागेका छन्, जसको कुनै अर्थ छैन ।
मानिसहरूले आफ्नो इतिहास आफैले बनाउने भए पनि बस्तुस्थितिबाट इतिहास बन्ने कुरा कार्ल मार्क्सले बनाएका थिए । सन् १९१७ मा रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो । लेलिनको नेतृत्वका यो क्रान्ति भएको थियो । सन् १८८९ को फ्रान्सेली क्रान्तिबाट पनि दुनियाँमा क्रान्तिको उद्विकास भइसकेको थियो । श्रमिक मजदुर वर्गबाट आन्दोलनको सुत्रपात भएको थियो । सन् १९४९ मा चीनमा नव जनवादी क्रान्ति सम्पन्न भयो । जसको नेतृत्व कमरेड माओले गरे । नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलको चर्चा गर्दा सन् १९४९ मा कमरेड पुष्पलाल, नारायण विलास जोशी, निरन्जन गोविन्द वैद्य र संस्थापक हुनुहुन्थ्यो । तत्कालिन राणा शासन कालमा दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ इतिहासका जिउँदा राजनीतिक शहीद बने । तत्कालिन अवस्थामा नेकपा स्थापनाका प्रेरणाका स्रोत-व्यक्तिमा भारतका रत्नलाल ब्राम्ह्मणलगायत थिए । सन् १८७६ मा नेपालमा लखन थापाले विद्रोह गरेका थिए । इतिहासका घटनालाई बिर्सन हुँदैन । इतिहास संघर्षपूर्ण र गर्विलो भए पनि २०५२ सालको हिंसाबाट उदाएका प्रचण्डका सबै पत्ता यसअघि नै समाप्त भइसकेका छन् ।
सिद्धान्तको कुरा र ब्यवहारमा फरक भएपछि कम्युनिस्ट पार्टीमा बिग्रह आउने गरेका छन् तथपि माधव नेपालचाहिँ पद र इगोको कारण एमालेबाट भागे । अर्थात् आफूलाई केन्द्रीत गर्दा नेपाल एमाले पार्टीबाट बाहिरिएका हुन् । नेपालको इतिहासमा सन् १९५१ सेप्टेम्बर २७ मा कलकत्तामा पहिलो कम्युनिस्ट सम्मेलन भएको थियो । जसले नेपाली समाजको विश्लेषण गर्ने काम गरेको थियो । पुष्पलाललाई डिल्लीरमण रेग्मीले एम.ए. नगरेकोले सिद्धान्तका कुरा बुझ्न सक्दैन भनेकोले पुष्पलाललाई निकै घोचेकोले उनले अध्ययनमा आफूलाई अति गहिरो तथा गम्भीर बनाएका थिए । कम्युनिस्टले सिद्धान्त र दर्शनका चर्का कुरा गरे पनि व्यवहारिक र भूराजनीतिक अभ्यासलाई अनुसरण गर्ने काम मदन भण्डारीले मात्र गरे । सिद्धान्त र विचारलाई मुस्लिम धर्मको ‘कुरान’ जस्तो बनाउने होइन भन्ने विचार मदनको थियो । उनको विचारले एमाले जनताको बढी समर्थन भएको दल बन्न सक्यो ।
प्रचण्डचाहिँ हिंसा र हत्याको बलमा मात्र आए । उनीसँग वैचारिक, व्यवहारिक र रचनात्मक एवम् सिर्जनात्मक ज्ञान रहेन । हान्ने, ठोक्ने, मार्ने, भत्काउने, बाल्ने, पोल्ने मात्र संस्कार प्रचण्डले हुर्काएका कारण अहिलेको जेन-जी प्रदर्शनमा पनि विध्वंश, हिंसा, तोडफोड, लुट, आगजनी र अपराधलाई आन्दोलन हो भन्ने भ्रम रह्यो । कतिपय आगजनी र अपराधमा अहिले पनि प्रचण्डका आफ्ना कार्यकर्ता देखिएका थिए । यस घटनाबाट झन्-झन् नाङ्गिएपछि प्रचण्ड पानीबाट बालुवामा झिकेका माछा जस्ता भएका छन् । यही कारण जिरो भइसकेका माधव नेपालसँग एकता भन्दै ‘ए-कता ?’ को अन्तिम पत्ता फ्याँक्ने तयारीमा लागेका छन्, जसको कुनै अर्थ छैन ।
प्रतिक्रिया