आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८२ शनिबार, १ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०८२ शनिबार, १ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक १५ गते तद्अनुसार सन् २०२५ नोभेम्बर १ तारिख शनिबार कार्तिक शुक्ल पक्षको एकादशी तिथि शतभिषा नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । हरिबोधनी एकादशी, तुलसीविवाह ।

आजको राशिफल

मेष – पीडा दने, काममा व्यवधान खडा गर्न खोज्नेहरूको सक्रियता बढ्ने सम्भावना रहेकोले आजको दिन नयाँ काममा हात नहाल्नु उचित हुनेछ । विशेष योजना अघि बढाउन केही समय पर्खंनुहोला । गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रयत्न गर्दागर्दै पनि कामका केही अवसर फुत्कने सम्भावना छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रसरागका साथै खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।

वृष – सामर्थ्य वृद्धि भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । स्वास्थ्य कमजोर रहनसक्छ, खानपानमा सजगता अपनाउनु उचित होला । कतैबाट अस्वाभाविक प्रलोभन मिल्नसक्छ, तर प्रलोभनबाट पन्छिन सक्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नियमित खर्च बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मिथुन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ मिल्ने देखिन्छ । व्यापार-व्यवसायमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मनोरञ्जनात्मक यात्राको योग छ । प्राकृतिक पर्यावरणमा रमाइएला । आयबल बढ्नेछ । आफन्त एवम् मित्रजनको साथ प्राप्त हुनेछ ।

कर्कट – विभिन्न अवसर पाइनुका साथै कीर्तिमानी काम सम्पादन हुनसक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएकोले विशेष योजना थाती राख्नु उचित हुनेछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोगले काममा सफलता मिल्नेछ । विपरीतलिंगीको सहयोग मिल्ने योग छ ।

सिंह – दिन शुभदायी रहला । बोलीको प्रभाव बढ्नुका साथै विभिन्न अवसरले पछ्याउने देखिन्छ । आर्थिक क्रियाकलापमा प्रगति होला । धनलाभको योग छ । धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । नियमित कार्यमा प्रगति हुने र राम्रै लाभ प्राप्त हुनेछ । मान्यजनको विशेष सहयोग जुट्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

कन्या – सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । व्यवसायमा लाभ तथा आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ । प्रेमभाव वृद्धि होला । समस्यामा आफन्तको साथ मिल्नेछ ।

तुला – ब्यस्तता बढ्ने तर लगानी, दौडधुप, श्रम वा प्रयत्नको उचित मूल्य नपाइने समय छ । महत्वपूर्ण कार्य अधुरै रहन सक्छ । व्यवसायिक कार्यमा लगानी वा खर्च बढ्ने देखिन्छ । कृषि तथा पशुपालन व्यवसायमा रहनेलाई भने लाभको योग छ । उत्साहजनक समाचारले हर्ष बढाउला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा प्रगति होला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । तपाईंबाट भए–गरेका गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे सहजै पन्छिनेछन् भने दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु – आजको दिन नियमित कार्यमा उत्साहजनक प्रगति होला । मेहनतले चाहेको सफलता दिलाउने देखिन्छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । यात्रागत कार्य सार्थक रहला । दाम्पत्यजीवन सुखद रहनेछ । कर्मबल वृद्धि हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

मकर – दिन सुखदायी छ । विशेष योजनाहरू बन्नेछन् भने एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । व्यवहारले नयाँ ज्ञान प्रदान गर्ला । आत्मीयजनसँग भेटघाट हुने योग छ । साजसज्जा, वागबगैंचासम्बन्धी काममा विशेष आकर्षित होइएला । धनलाभको योग छ आरोग्यता रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । बौद्धिक क्रियाकलापमा रुचि बढ्नेछ । दौडधुप नगरी विभिन्न काम सम्पादन गर्न सकिएला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक शुखशान्ति बढ्नेछ ।

मीन – स्वास्थ्य सबल रहेपनि आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्य-व्यवहारमा व्यवधान आउनुका साथै निश्चय भएको काम पनि अचानक बिग्रन सक्छ । आश्वासन दिने मित्रजनबाटै धोका हुने सम्भावना रहेकोले सजग रहनु उचित होला । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने समय छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ ।