नेपाली युवतीलाई अफ्रिका जस्ता मुलुकमा पुऱ्याएर यौनपेसामा लगाउने मानवतस्करहरू जति दोषी छन्, त्योभन्दा बढी दोषी नेपालका नेता-कार्यकर्ता, मिडिया, पत्रकार, सामाजिक अभियन्ता, प्राध्यापक, न्यायाधीश, कलाकारहरू छन् भन्दा अतिसयोक्ति नहोला ।
✍ काशी पौडेल ‘आयुष’
परदेशको भूमिबाट जन्मभूमि नियाल्दै गर्दा तिहारको रमझम-स्मरण गरेर मन आनन्दित हुँदै थियो । दिदीबहिनीको दीर्घायु आशीर्वाद र भाइटीका ग्रहणसँगै पारिवारिक जमघटको मनोरञ्जन बेग्लै हुन्थ्यो । कामको थकान बिर्सिएर सम्झनामा भएपनी हर्षोल्लास अंकुरण हुँदै थियो । मन न हो एकनास कहाँ पो बग्थ्यो र ? स्मृतिको पर्दा च्यातेर वास्तविक धरातलमा फर्की हाल्यो । मानसपटलमा सम्झना हैन वास्तविकताले हिर्काउन थाल्यो ।
परदेशमा रहनेले हरेक चाडबाडमा दिदीबहिनीको स्नेहलाई मुटुको एक कुनामा थाती राखेर आफ्नो दैनिकीसँग पौंठेजोरी खेल्नुपर्छ । देशमा भए/गरेका राजनीतिक द्वन्द्व वा हिंसात्मक गतिविधिले गर्दा आर्थिक र सामाजिक अप्ठ्यारो चुनौतीको सामना गर्न परिवार र मातृभूमि छाडेर परदेशिनुपर्दा मन भावविह्वल तुल्याउँदै देश छाड्नुपर्ने बाध्यता आम विपन्न र मध्यम वर्गीय नेपाली युवायुवतीको दैनिकीजस्तै बनेको छ । देश छाडेर परदेश नै हानिनुपर्ने आम नेपालीको बाध्यता वा रहर जेसुकै होस्, तर जम्मा जनसंख्याको एक तिहाईलाई राजनीतिक खिचातानीकै कारण देशबाट विस्थापित नै गरिएको हो भन्दा अत्युक्ति नहोला ।
यी यावत कुराले दलका कार्यकर्ता, विदेशी एनजीओ/आइनजीओको कारिन्दालाई पीडाबोध नभएपनि खासै फरक पर्दैन । तर कसैको चाकडी नगर्ने, आफ्नै पौरखमा जिउने आम नेपालीलाई भने विषम परिस्थितिको पीडाले छाती भतभती पोल्छ । देशले हिंसात्मक द्वन्द्वबाट मुक्ति पाएर तङ्ग्रिँदै गरेको दुई दशक पुग्दानपुग्दै विदेशी एनजीओको उक्साहटमा जेन्जी आन्दोलनले पुनः सोही हिंसा आगजनी तोडफोड चोरी डकैतीको लय समातेर बिदेशी एनजीओ/आइनजीओ र दूतावासको हितमा सरकार गठन भएको छ । सरकार जनताको वास्तविक पिडामा मल्हम लगाउन भन्दा विदेशी राजदूत, एनजीओ रिझाउनमा लागेको देख्दा मनमा ज्वाराभाटा उठेको थियो । त्यो भन्दा पनि ठूलो विचलन त देशबाहिर नेपाली चेलीबेटी तस्करीमा परेर अफ्रिकी मुलुकमा समेत यौन शोषणमा परेको समाचारले माथिङ्गल नै हल्लिएको छ ।
अफ्रिकी मुलुक जाम्बियन अनलाइन पत्रिकामा प्रकाशित एउटा समाचार पढ्दा लाग्थ्यो- नेपाल र नेपाली विश्वभरीका नागरिकको लागि विभिन्न परिवेश, विषयमा प्रयोगशाला नै बन्दै आएको रहेछन् । उक्त पत्रिकाले जनाएअनुसार नेपालका एजेण्टको सहयोगमा दुई जना भारतीय मोहित चाल र महावीर मन्डलले चार जना नेपाली महिला कुमाल, बुढाथोकी, कार्की र श्रेष्ठ (गोपनियताको लागि नाम उल्लेख नगरिएको) लाई यौन शोषणका लागि जाम्बिया लगेर यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा पक्राउ गरेर कानुनी प्रक्रियाको लागि अदालत पुऱ्याएको थियो । अदालतबाट जमानतमा छुटेका दुई भारतीयहरू पछि न्यायिक कठघरामा उपस्थित नभइ फरार भए । नेपालका तस्कर हुँदै विभिन्न देशलाई ट्रान्जिट बनाएर जाम्बियासम्म पुऱ्याएको घटना २०२५ जनवरी १ देखि जुलाई ३० सम्म भएको थियो ।
स्थानीय र प्रहरीको सहयोगमा अभियुक्तलाई पक्राउ गरेर जेलमा राखिएको भएपनि दुई महिनापछि chief Resident Magistrate Davies Chibwili ले प्रत्येक अभियुक्तलाई ५००,००० जाम्बियन क्वाचा जरिवाना तिराएर धरौटीमा रिहा गरेका थिए । तर तोकिएको समयमा उपस्थिति हुनुपर्नेमा उनीहरू उपस्थित नभइ जाम्बिया नै छाडेर भागेछन् । अर्थात्, सम्पर्कविहीन छन् । अभियुक्तका वकीलहरू Musonda Chisha र Dickson Bwalya ले अदालतलाई सुचित गरेअनुसार उनीहरू कुनैपनि माध्यमबाट सम्पर्कमा छैनन् । साथै अर्को अभियुक्त अरोरामाथि पनि सोही अवधिमा ती नेपाली महिलाहरूको तस्करीमा सहकार्य गरेको आरोप लगाइएको छ ।
भरखरै घटेको हत्याहिंसा, द्वन्द्वमा देशका नवजवानहरूको हताहती भएको रणमैदान भएर ग्रसित बनेको देशको अवस्था नियाल्दा मन-मस्तिष्कमा परेको मानसिक विचलन त छँदै थियो, त्योभन्दा पनि पीडा चाडबाडको मुखमा परदेशको भूमिमा यौनजन्य क्रियाकलापको निम्ति पशुजस्तै बेचिँदा आम नेपालीलाई अवश्य हुन्छ । नेपाली युवती जाम्बियामा मात्र हैन, अफ्रिकी मुलुकहरू तान्जानिया, मोजाम्बिक, केन्या, मलावी, माउरिसस, रुवान्डा, कङ्गो जस्तो राष्ट्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यौनजन्य क्रियाकलापको गन्तव्यका रूपमा पुग्ने गरेको सूचना विभिन्न माध्यम हुँदै बेलाबखत निस्कन्छ । केन्यामा नेपाली चेलीबेटीहरू यौन शोषणका लागि डान्सबार, स्ट्रिप क्लब तथा सेक्स ट्राफिकिङका लागि पुऱ्याइएका धेरै घटना सार्वजनिक भइसकेका छन् । त्यसैमध्ये सन् २०१९ मा केन्यास्थित मोम्बासाको न्यु रङ्गिला बारमा १२ जना नेपाली चेलीलाई यौन क्रियाकलापमा लगाएको एक सार्वजनिक घटनालाई लिन सकिन्छ ।
यदि साँच्चिकै नेपाली नेताको माथिङ्गलमा देशको हितमा राजनीति गर्ने नीति भैदिएको भए अथवा दल भन्दा उद्योग खोल्ने चेतना भएको भए, जनतामा पार्टी र नेताको भन्दा देशको हितमा आफ्नो विवेक प्रयोग गर्ने मगज भएको भए, देशले आर्थिक उन्नतिको मार्ग समातेको हुनेथियो । नागरिकले देशमै रोजगारीको अवसर प्राप्त गर्थे । आज हाम्रो चेलीबेटी विश्वका अनेक कुनामा पुगेर यौनकर्मी बन्नुपर्ने थिएन ।
उक्त घटनाको अभियुक्त मानव तस्कर आसिफ अमिराली अलिभाइ जेथालाई चेलीबेटीलाई यौन क्रियाकलापमा लगाएको आरोपमा पक्राउ गरिएको घटनाले संसारकै उत्कृष्ट संविधान उत्तम व्यवस्था ल्याएको भनेर नाक फुलाएपनि विश्वसामु सिङ्गो नेपालको वर्तमान अवस्थालाई उदाङ्ग पारेको छ । साथै पैसाको निम्ति जुनसुकै कर्म गर्न तयार हुने नेपाली नागरिकको वर्तमान अवस्थालाई उजागर गरेको छ । केही वर्षपहिले नेपालका युवतीहरू मलावीबाट पनि उद्धार गरिएका थिए । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल एजेन्ट तथा मानवतस्करहरूले दक्षिण अफ्रिका पुग्न सास्तीपूर्ण र अवैध माध्यम प्रयोग गर्ने, धेरैलाई बाटोमा छिचोल्ने गरेको चेतावनी जारी गरेको घटनाले नेपाली चेली पैसाको निम्ति नेपालका होटल रेस्टुरेन्टमा मात्र हैन, कामको खोजीमा पुगेको वा पुऱ्याइएका एसियाको विभिन्न देश अफ्रिकी मुलुकसहित युरोपेलि अमेरिकी र अष्ट्रेलियाली द्विप हुँदै विश्वव्यापी स्वैच्छिक वा बाध्यतात्मक यौन दासी बनेको घटनाले नेपालको राजनैतिक र विदेशी स्वार्थको प्रयोगशाला बनेको यथार्थलाई झल्काउँछ ।
नेपालमा २०४७ सालपछि आएको बहुदलीय व्यवस्थामा जनताले स्वतन्त्रता त पाए तर सोही स्वतन्त्रताले आफ्नै अस्तित्व आफ्नोपन, गौरवपुर्ण वीरताको इतिहासलाई जलाएर पराईको स्वार्थमा बन्द हड्ताल, हत्याहिंसा, बलात्कार, चोरी–डकैती अपहरण जस्ता निन्दनीय कार्यलाई अँगाल्न पुगे । नेपालका सयौं कलकारखाना (सिमेन्ट, चिनी, ऊनी, गार्मेन्ट, जुत्ता र कागज उद्योगहरू) एकपछि अर्को गर्दै बन्द गराएर नेपालीलाई बहुराष्ट्रिय कम्पनीको कामदार बन्दै, यौनजन्य क्रियाकलापको निम्ति परदेशिन बाध्य बनाएको यथार्थलाई भुल्नु हुँदैन । तितो यथार्थ बहुदलले ‘उद्योग-धन्दा’ होइन ‘दल’ खोल्ने ब्यवस्था ल्यायो । पार्टीका मजदुर संगठनले अनेकौँ स्वार्थमा परेर विभिन्न क्रियाकलाप गर्दै देशको कलकारखाना उद्योग बन्द गराए । उद्योग चलाउनेले हानी-नोक्सानी व्योहोर्नु पऱ्यो, आन्दोलन चलाउने र तिनलाई साथ दिने जो-कोहीले लाभ उठाए । जसले उद्योग बन्द गराउन भूमिका खेल्यो उसैले र उसको वरिपरिका मान्छेले म्यानपावर कम्पनी खोलेर युवा-युवतीलाई विदेश पलायन हुने मार्ग खोले । प्रतिफल…, आज देश हरेक कुरामा परनिर्भर हुनुपरेको छ भने, नागरिक पराया मुलुकमा पीडादायक र घृणित कर्ममा जक्डिनुपरेको छ ।
देशमा २०४७ पछि पटक-पटक राजनैतिक परिवर्तन आए पनि जुनसुकै परिवर्तनले नागरिकको अत्यावश्यक शिक्षा, स्वास्थ, कृषिसँगै राष्ट्रिय औद्योगिक मेरुदण्डमाथि नै प्रहार गऱ्यो । देशका व्यावसायिक लगानीकर्तालाई धम्की, चन्दा आतंक र भौतिक आक्रमणले लगानीकर्ता देश छोड्न बाध्य भए, राष्ट्रिय उद्योग बन्द गर्नैपर्ने विवशता आइलाग्यो । विदेशी संस्थामा आवद्ध ब्यक्तिले विभिन्न अधिकारको नाममा गरेको हडतालले बचेखुचेको उद्योग टाट पल्टिए जसले गर्दा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएको नेपालीको रोजगारीका स्रोतहरू नष्ट भए । यदि साँच्चिकै नेपाली नेताको माथिङ्गलमा देशको हितमा राजनीति गर्ने नीति भैदिएको भए अथवा दल भन्दा उद्योग खोल्ने चेतना भएको भए, जनतामा पार्टी र नेताको भन्दा देशको हितमा आफ्नो विवेक प्रयोग गर्ने मगज भएको भए, देशले आर्थिक उन्नतिको मार्ग समातेको हुनेथियो । नागरिकले देशमै रोजगारीको अवसर प्राप्त गर्थे । आज हाम्रो चेलीबेटी विश्वका अनेक कुनामा पुगेर यौनकर्मी बन्नुपर्ने थिएन । दाजुभाइले विदेशको विमानस्थल प्रवेश गर्दा अपमानित हुँदै बहुराष्ट्रिय कम्पनीमा निम्नस्तरको कार्य गर्नुपर्ने थिएन ।
यो सबै हुनुको पछाडि पंक्तिकारले नेता-कार्यकर्ता मात्रै दोषी देख्दैन, नेपालका तथाकथित सामाजिक अभियन्ता, अधिकारकर्मी, राष्ट्रिय मिडिया, पत्रकार, कलाकार, प्राध्यापक, न्यायाधीश, वकीलहरूलाई पनि उत्तिकै दोषी देख्छ । उनिहरूले विदेशी अनुदानमा आधारित अभियान र कलम चलाएर उनीहरूको स्वार्थअनुसार चल्ने, तर देशको हितमा रहेर आफ्नो कर्म नगर्ने जसले लगानी गर्छ उसकै भाषा बोल्ने गर्नाले नै आज नेपाल र आम नेपाली नागरिकले यो अवस्था भोग्नुपरेको यथार्थलाई नकार्न मिल्दैन । नेपालमा अराजकता, द्वन्द्वको खेती गर्ने विदेशी एनजीओ/आइनजीओ र विदेशी उत्पादनलाई आत्मसात गर्दै हिँड्नुभन्दा नेपाल बनाउने नेपालीले नै हो, त्यसैले नेपाली उत्पादन प्रयोग गरौं भन्ने यथार्थलाई आत्मसात गरेको भए आज देश उद्योगमय बन्नेको हुन्थ्यो । युवायुवतीहरू आफ्नै माटोमा पौरखी बनेका हुन्थे, न देशमा विदेशीले स्वार्थको रणभूमि बनाउने थिए न त जनता प्रयोगशालाको बस्तु नै बन्ने थिए । त्यसैले यहाँ नेपाली युवतीलाई अफ्रिका जस्ता मुलुकमा पुऱ्याएर यौनपेसामा लगाउनेहरू जति दोषी छन्, त्योभन्दा बढी दोषी नेपालका नेता-कार्यकर्ता, मिडिया, पत्रकार, सामाजिक अभियन्ता, प्राध्यापक, न्यायाधीश, कलाकारहरू छन् भन्दा अतिसयोक्ति नहोला ।
नागरिकले विदेशी आइएनजीओ/एनजीओको पैसा, राजनीतिक नाराभन्दा देशलाई छातीमा राखेर हिँड्ने प्रण गरौं । नेपाललाई आर्थिकरूपले सम्पन्न बनाउने नेपालीले हो, विदेशी एनजीओ/आइएनजीओले हैन । सबै नेपाली एकताबद्ध भएर देशको हितमा आ-आफ्नो क्षेत्रबाट लागिपरौँ । विभिन्न दलगत स्वार्थ र अधिकारको नाममा देशको इतिहास, गौरव, सांस्कृतिक पहिचान पुर्खाको विरासत, उद्योग जलाएर ध्वस्त पार्ने र परायाको स्वार्थमा लाग्नेलाई कानुनी काठघरामा उभ्याउने प्रण गरौँ । विदेशी गिरोहहरूले सरकार चलाएर नेपाली छोरीहरू बेच्दा मौन बस्ने होइन, स्वदेशमा अवसर सिर्जना गरेर, आत्मनिर्भर नेपाल बनाउने मार्ग खोजौँ ।
जय मातृभूमि !
प्रतिक्रिया