एकता होइन पार्टी नै बलियो बनाउनुपर्ने जनार्दन शर्माको तर्क
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने जनाएको छ । शनिबार (१५ कात्तिक) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब-करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ’, प्रवक्ता सापकोटाले भनेका छन् । उनका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवास काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।
एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहको उनले जानकारी दिए । ‘सबैसँग वाम एकता गर्ने हाम्रो जोड हो, तर एकता ढिलो गर्नुहुँदैन, एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ भन्ने आजको निष्कर्ष हो, नभए राष्ट्र झन् झन् अराजकतातिर गइरहेको छ । फागुन २१ गते सरकारले चुनावको घोषणा गरेको छ, यी अवस्थालाई मध्येनजर गर्दै एकतालाई अगाडि बढाउने भनिएको छ ।’
तर, माओवादीकै प्रभावशाली नेता जनार्दन शर्माले चाहिँ तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने धारणा राखे । आफ्नो धारणा राखेपछि शर्मा बैठक छोडेर निस्किएका थिए ।
पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताबारे शर्माको केही फरक मत रहेको तर शर्मा र एकीकृत समाजवादीमा फरक मत राखेका झलनाथ खनालसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया