हिंसा र असुरक्षाको कारण देशमा लगानीको स्तर खस्कने क्रम बढेको छ । निरासा र पलायन बढ्दो छ । राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेपछि ‘ग्रे लिस्ट’मा परेको देश कालो सूचीमा पर्ने जोखिम पनि बढेको छ । यस्तो संवेदनशील अवस्थामा पाका नेतृत्व वर्गले आफ्नो विवेक गुमाएर थप हिंसालाई प्रोत्साहन गर्ने कि सहिष्णुता सद्भावना प्रेमिल र समझदारीको बाटो खोज्ने/रोज्ने ?
✍ शेखर ढुङ्गेल
सत्य हो या अफवाह थाहा छैन.. पङ्क्तिकारको स्कुले-जीवनमा गफ हुन्थ्यो- सुडानका तानाशाह (तत्कालिन राष्ट्रपति) इडी अमिन (१९७१-१९७९) जसले नागरिक सरकारलाई अपदस्त गरि सत्तामा पुगेका थिए – उनी मानिसको गिदी खान्थे रे ! अहिले बुद्धभूमि कुनैबेलाको शान्तिक्षेत्र नेपालमा प्रमुख वा ठुला भनिने राजनीतिक दलका जिम्मेवार नेताले सार्वजनिक रूपमै विरोधिलाई ‘किमा र कवाफ’ बनाउने दैत्यको जस्तो वक्तब्य दिएको सुन्दा हामी नेपाली सत्ता-स्वार्थको लागि कुन हदसम्म तल झर्न सक्छौँ, कति हिंसात्मक अमानवीय र तानाशाही सोचको राजनीति गर्दैछौँ ? यस्तो सुन्दा रौं नै ठाडो हुन्छ, समाज/देश कता जाँदैछ – चिन्ता लाग्छ । विरोधिलाई ‘किमा र कवाफ’ बनाइदिने रे ! के मानसिक स्वास्थ्य सामान्य भएको नेताले यस्तो सोच्न र व्यक्त गर्न सक्छ ? सार्वजनिक रूपमा यस्तो अमानवीय र दण्डनीय वक्तब्य दिन मिल्छ ?
यस्तो हिंसात्मक र भड्काउ वक्तब्य सार्वजनिक हुँदा राज्यसंयन्त्र मुर्दाशान्तिमा रमाइरहेको छ । के यही होइन नेपाल असफल हुनुको प्रमाण ? भ्रष्टाचार, दण्डहीनता, अराजकता, असुरक्षा, हिंसा, अस्थिरता, लुट, बलात्कार, विकृति-विसंगतिको पहाड अनि कानुन ब्यवस्थापनमा निष्प्रभावी वा असफल सरकार ! यस्तो अराजक हिंसात्मक बोली सुन्नुपर्दा वेद र बुद्धको उद्गमस्थल नेपालको नागरिक कसरी भन्न सकिन्छ ? जहाँ नास्तिक र हिंश्रकहरूको राज छ । आज नेपाल र नेपालीको शिर लाजले निहुरिएको छ । दशक हुन लाग्यो विश्वकै न्यून स्तरको विवेक भएका नागरिकको सूचीमा परेका हामी अझै सुध्रिने भन्दा खस्कने बोली र ब्यवहारमा नै छौँ । कहिले सम्झने महामानव बुद्धलाई, वेदलाई ? कठै ! कस्तो थियो यो देश दैत्यहरूको कुशासनको कारण कस्तो हालतमा पुग्यो !
गान्धीले भन्नुभएको थियो- ‘हिंसात्मक विद्रोहले हिंसात्मक स्वतन्त्रताको जन्म दिन्छ जसले भारतमात्र होइन विश्वलाई पिरोल्ने छ ।’ आज नेपाल ठिक त्यही नियति भोगिरहेको छ । कथित माओवादको नाममा नेपालमा १० वर्ष जुन हिंसात्मक र अराजक विद्रोह भयो त्यसले नेपालमा हिंसात्मक र अराजकताको स्वतन्त्रता दियो जसले आज नेपालकै अस्तित्वसमेत धरापमा पारेको छ । स्मरण रहोस्, १०वर्षे हिंसात्मक विद्रोहमा जति हत्या लुट बलात्कार आगजनी तोडफोड भयो कथित माओवादीले नेपालको राजनीतिको मुलधारमा आएपछि तीन गुणा बढी मानिसको हत्या लुट बलात्कार आगजनी तोडफोड भएको प्रहरी तथ्यांक छ । ०६३ पश्चात नेपालमा विभिन्न विवादमा २५ हजार नेपालीको हत्या भएको र जुन अझै अकल्पनीय रूपमा बढिरहेको छ ।
यसरी राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेपछि ‘ग्रे लिस्ट’मा परेको देश कालो सूचीमा पर्ने जोखिम पनि बढेको छ । हिंसा र असुरक्षाको कारण देशमा लगानीको स्तर खस्कने क्रम बढेको छ । निरासा र पलायन बढ्दो छ । यस्तो संवेदनशील तरल अवस्थामा देशमा ४-५ दशकसम्म राजनैतिक अनुभव गरेका पाका नेतृत्व वर्गले आफ्नो विवेक गुमाएर थप हिंसालाई प्रोत्साहन गर्ने कि सहिष्णुता सद्भावना प्रेमिल र समझदारीको बाटो खोज्ने/रोज्ने ? राजनीति नै त हो देश र जनतालाई जोड्ने । तर, अब नेतृत्व नै हिंसात्मक असहिष्णु बनिदिएपछि देशको भविष्य कस्तो होला ?
बुद्धको देशको मर्यादा/सम्मान बढाउन प्रत्येक नेपालीले आफ्नो विवेकलाई सदुपयोग गर्नुपर्छ, दायित्व निर्वाह गर्नुपर्छ । दोष होइन आफू असल भएको उदाहरण दिन सक्नुपर्छ । स्वतन्त्रता र अधिकारको मर्म र अर्थ अर्कोको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व पनि हो यो । चेत त के नेता के जनता – सबैमा हुनुपर्छ । देश कुनै वाद, दल, पद्धति वा नेताविशेषको होइन सबैको सह-अस्तित्व र सम्मान हुनुपर्छ, तबमात्र देशको एकता बलियो हुन्छ, राष्ट्रको सम्मान बढ्छ ।
दैत्य-सोच त्यागौँ, बुद्धको सन्देशलई आत्मसात गरौँ !
प्रतिक्रिया