आफ्नै मार्गचित्रमा अटल रहोस् ‘जेन्-जेड’

आफ्नै मार्गचित्रमा अटल रहोस् ‘जेन्-जेड’


लोकतन्त्रलाई कुनै दलीय वा गुटगत-गिरोहगत पछ्यौरा नओढाइकन त्यसको व्युत्पत्तिकालकोे (नैसर्गिक) अन्तर्यलाई निरपेक्ष भावका आँखाले हेर्ने हो भने आजको (खासगरी २०७२ सालयताको) नेपाललाई संविधानप्रदत्त शक्तिले तथ्य-विलोम अवस्थामा पछारिरहेको देखिने छ । अतः उपर्युक्त आधारमा ‘जनमत’ चाहिँ ‘संविधान’-भन्दा माथि र दमनासाध्य बलियो हुन्छ भन्ने, सोझा र निर्धा-निमुखा नागरिकहरूबाट पैसासँग साटिएका वा लटपट्याइएका, मत (भोट)-का मालिक-मुन्सी, कार्बारी र डफ्फेदारहरूले बुझेर पनि नबुझे झैं गर्दै आएका छन् ! तसर्थ, आज ‘जेन्-जेड’ पुस्ताका लाखौंलाख ऊर्जावान सन्तानलाई महाभारत-कथाको ‘अभिमन्यु’ बनाएर आफ्नो अभीष्ट पूरा गर्न खातिर उनीहरू दुर्याेधन-शकुनि आदि जाली-प्रपञ्चेका दुत्कृत र जाली भूमिकामा अवतरित छन् ।

अन्ततः जेन्-जेडको वास्तवमा अकल्प बहादुरीको कथालाई ‘हिस्स बूढी हरिया दाँत’ उखानको हविगतमा अन्यायपूर्वक थेचारेर आफूहरू साविक हैकममा स्थापित हुने स्वैरकल्पना (फेन्टासी)-मा पनि, शायद, थरथर कामिरहेको मुटु सम्हालिरहेका छन् । यो त ‘निर्वाचन’-सँग डराएर संसद् पुनस्र्थापनाको मुद्दामा लाज पचाउँदो साविक शासक पार्टीको हरकतले छ्याङ्ग पारिरहेकै छ । हो नै, कसै-कसैलाई ‘निर्वाचन’ नामको खड्गो अति नै भयप्रद बनेको देखिंदो छ । सत्ताशक्तिको घोडा चढेर जनतालाई अनेकका अतिरञ्जनायुक्त उखान-टुक्का मिश्रित ‘हावादारी समृद्धि’को लोरी सुनाउँदै अभीष्ट पूरा गर्नु जस्तो सजिलो आसन्न निर्वाचन कदाचित हुने छैन । जेन्-जेडको तयारी वास्तवमा अवरोधमुक्त मात्र हुन सक्यो भने यहाँसम्मका सारा अहंकार र दम्भ धुलिसात हुने त निश्चितै छ !…

यद्यपि उनीहरूको दम्भलाई जेन्-जेडभित्र पन्पाएको अनिश्चय र अल्मलले प्रदान गरिरहेको मलजल-ऊर्जाको यथार्थलाई पनि नजरअन्दाज गर्नु न्यायसंगत वा निरपेक्ष हुँदैन । सोझा शब्दहरूमा भन्ने हो भने जेन्-जेड समूहको आधिकारिक मूल सारथि को हो, त्यसको आगामी कार्यभार के थियो र सो पूरा गर्न कुन मार्गचित्र तय भएको थियो त ?- इत्यादि प्रश्नहरूले क्रमशः जन-धरातलमा निराशाको मुन्टो उठाउन थालेका छन् र त्यही कमजोरीहरूका खुड्किला टेकेर पुराना राजनीतिक खल्बाटहरूले हाँक लल्कार्न थालेका हुन् । अरू त अरू, आफैले आरोहण गराएको मौजूदा सरकारले कार्यभार नसमालिरहँदा समेत त्यसैलाई पनि ठीक बाटो देखाउने निश्चित दिशा जेन्-जेडले अख्तियार गर्न नसक्ता आम जनमानसमा अन्योल मडारिइरहेको छ ।

पुराना पार्टीका झोले-चम्चेहरूका चलखेल पुनः बुर्कुसी मार्न उत्साही देखिंदा छन् – अहिले । यो अवस्थाले जेन्-जेडप्रतिको आशा-भरोसा र विश्वास जनमानसको अभ्यन्तरमा भिमलाउनु अस्वाभाविक होइन । जेन्-जेडको त्यस्तो दुर्दमनीय ठहर गरिएको जनअपेक्षाकृत कल्कलाउँदो शाखलाई अहिले विगतका उनै भ्रष्टाचार र कुशासनका सूत्रधार एवम् लूटतन्त्र (‘क्लेप्टोक्रेसी’)-का हैकमी साँढेहरूका डुक्राइले छाँयामा पार्दै लगिरहेका दुर्भाग्यपूर्ण दृश्यहरू आकृत हुन थालेका छन् । नेपालमा तीस वर्षे पञ्चायती एकाधिपत्यको अवसानपछि उदित लोकतन्त्र, लोकतन्त्र, गणतन्त्र आदिले भोग गरेको छत्तीस वर्षहरूमा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वकाललाई अलग राखेर मीमांसा गर्ने हो भने नेपालमा लोकतन्त्र (‘डेमोक्रेसी’)-को दोसल्ला ओढाएर लूटतन्त्र नै चल्दै आएको सत्यलाई कसै गरे छल्न सकिंदैन । अझ २०७२ सालयता त त्यो अझ विषालु बनेको छ ।

मनोविज्ञानले भनेकै छ नि – ‘पराजितले विजयीलाई करैले पनि श्रेष्ठ ठान्नै पर्दछ !’ तर, युग अनुकूल ‘राज्य’-को नेतृत्वले आफू र ‘आफ्ना’-हरूका लागि मात्र सजिलो र ‘फलदायी’ हुने निजी व्यापारिक कम्पनी जस्तो बेलगाम सत्ता सञ्चालन भइदिँदा र आम देशवासीको भावना र वस्तुस्थितिको पर्वाह नगरिदिंदा उत्पन्न हुने गरेका निराशा र आक्रोश गानिने-पिलिने गर्दछ । यस्तै दुर्भाग्यपूर्ण अवस्थाको क्रमिक विकासले हाम्रो नेपालले वर्तमान असीम कण्टकाकीर्ण अवस्थाको सामना गर्नु परिरहेको हो । अतः जनतामा प्रकीर्ण यही मनोभावको पर्दा जेन्-जेडले गत भदौका केवल दुई दिने जन-विद्रोहद्वारा नाङ्गो रूपमा उघारिदिएको थियो । यसलाई छिमेकी लगायत नेपाललाई चिन्ने विश्व-समाजले पनि यसरी नै बुझेका हुनन् । तर, त्यसयता आफ्नो आँखामा पसेको कसिङ्गर आफ्नै आँखाले देख्न नसकेजस्तै अवस्था जेन्-जेडभित्र पनि सिर्जना भएको शंका जनसंख्याको लगभग ९० प्रतिशतले गरिरहँदा पनि ऊ (जेन्-जेड) निःशंक झैं र उसैले स्थापना गरेको मौजूदा सरकार पनि सचेत हुन सकिरहेको देखिंदै छैन ।

जेन्-जेडले व्यक्तिगत र नीतिगत भ्रष्टाचार, शासकीय स्वेच्छाचारिता निर्देशित सरेआम कुशासनद्वारा पीडित-प्रताडित बहुसंख्यक नेपाली भावनाको प्रतिनिधित्व गर्ने वचनबद्धताका साथ विद्रोह नारेको थियो – जो राज्यसत्ता कब्जामा राखेर वा पालो पर्खेर शासकीय शक्तिले स्वधन्य बन्दै आएका र बन्न चाहने लोभी-पापीहरूको बहिर्गमनलक्षित थिए । र, यही थियो अधिक अधिकांश पछौटे, निरीह र निर्धा नेपालीका अन्तर्यको आधारभूत पर्खाइ पनि । त्यसैले अब जेन्-जेडले भदौ २३ कै स्थितिमा अभ्यन्तरबाटै एक ढिक्को भएर आफ्नो ‘सर्वसम्मत’ नायक (संयोजक) मुकर्रर गर्न सके मात्र अहिले क्रमशः बढिरहेको अन्योल हट्ने बाटो लाग्ने छ । साथै, जेन्-जेडलाई ‘किनार’-मा फ्याँकेर आफ्नो साविक तानाशाही पुनःस्थापित गर्न नाइटे-बलमा लागेका नेता र तिनका झोले-आशेपासे पाउभक्तहरूको प्रयत्न, त्यस बिन्दुबाट, धुल्याउन सहज हुने छ । बहुप्रतिशत नेपाली जेन्-जेड विद्रोहले बनाएको वर्तमान सरकार जेन्-जेडद्वारा आँकिएको मार्गचित्रप्रति पूर्णतः उत्तरदायी होओस् भन्ने कामना गर्छन् । नत्र त ७६ जना नेपालीको जीवन-बलिदान स्वतः अपमानित हुनेछ । बस्, आजलाई यत्ति नै ।