पार्टीभित्र लगभग विद्रोहीकै शैलीमा फरक मत राख्दै आएका माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित समाजवादी ऐक्यबद्धताको आह्वान गर्दै प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् ।
प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।
मंगलबार (१८ कात्तिक) आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री शर्माले भने, ‘विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो । आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो ।’
उनले माओवादी आन्दोलन र शान्तिप्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, ‘क्रान्तिको मर्म र शहीदहरूको बलिदानलाई ब्यर्थ जान नदिइ समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।’
त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको उल्लेख गर्दै भने, ‘नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।’
प्रतिक्रिया