✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक १९ गते तद्अनुसार सन् २०२५ नोभेम्बर ५ तारिख बुधबार कार्तिक शुक्ल पक्षको पूर्णिमा तिथि अश्विनी नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१८ मा भयो र सूर्यास्त साँझ १७ः१५ बजे हुनेछ । पूर्णिमा व्रत, निम्बर्का जयन्ती, गुरू नानक जयन्ती ।
आजको राशिफल
मेष – अरूलाई प्रभावित गरेर कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । सामाजिक परोपकारी एवम् प्रतिष्ठित काम गर्ने मौका जुर्ने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । दाम, इनाम र प्रतिष्ठा आर्जनको योग छ । श्रमको उचित मूल्यांकन हुनेछ भने पढाइलेखाइमा प्रगति होला । सामाजिक कामको दायित्व बढ्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।
वृष – प्रतिष्ठित काम गर्ने मौका जुर्नुका साथै पारिवारिक जमघटमा मन रमाउने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाटले आत्मविश्वास वृद्धि होला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । छर-छिमेकमा भने केही असमझदारी बढ्ने सम्भावना छ । आयवृद्धिमा साथीभाइको सहयोग रहला । रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका कामहरू सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई सहजताको दिन छ । आरोग्यबल वृद्धि हुनुका साथै रसरागको क्रियाकलापमा आकर्षण रहनेछ । पारिवारिक सुख वृद्धि हुने देखिन्छ ।
कर्कट – स्वास्थ्यमा केही कमजोरीका बाबजुद धेरै परिश्रम गर्नुपर्ने दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । पढाइलेखाइमा राम्रै प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । कतैबाट शुभ समाचार प्राप्तिको सम्भावना छ । भाग्योन्नतिको समय हुनाले त्यसै–त्यसै मन उत्साहित रहनेछ ।
सिंह – बाध्यतापूर्ण काममा आजको ज्यादा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तथापि, श्रमको उचित मूल्यांकन हुनेछ भने अध्ययन-अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ । जिम्मेवारी बढिरहनेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कन्या – शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक काममा केही खर्च बढेपनि बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तथापि, आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जनको योग छ । यात्रामा अनुकुलतका वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।
तुला – नियमित काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरुबाट आलोचनाको शिकार बनिएला । पठन-पाठनमा पनि खासै समय दिन नसकिने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्ने योग छ । परिवारजनको भरण-पोषणमा खर्च वृद्धि हुनाले उत्साहमा कमी आउला । साझेदारीको काममा पनि नोक्सानीको सम्भावना छ । सतर्क रही व्यवहार गर्नुहोला ।
वृश्चिक – व्यवसायिक कार्यमा लगानीको समय छ । सहयोगीहरूले त्यत्ति साथ नदिन सक्छन्, तर काममा मातापिताको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । रोकिएका काम प्रयास गर्दा पूरा हुनेछन् । सुख-सुविधाको बस्तुमा केही खर्च बढ्ने देखिन्छ । व्यस्तता वृद्धि हुनेछ ।
धनु – मिश्रित फलदायी दिन छ । नियमित कार्यमा सहयोगीहरूले त्यत्ति साथ नदिने, बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सोचेको काम समयमा सम्पादन गर्न नसक्दा अवसर फुत्कने सम्भावना देखिन्छ । तपाईंको कमी-कमजोरीमाथि टिप्पणी होला, सचेत रहनुपर्नेछ । विगतको श्रमबाट लाभ मिल्ने देखिन्छ । विभिन्न अवसर पनि जुर्नसक्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मकर – कर्मबल वृद्धि हुनुका साथै महत्वपूर्ण योजना अघि बढाउन सकिने दिन छ । सफलताको दर वृद्धि होला । ऋण, रोग र शत्रुपक्ष किनारा लाग्नेछन् । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । समग्रमा समय उत्साहवद्र्धक रहला ।
कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । बेलैमा होश नपुग्नाले अनावश्यक खर्च बढ्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, ध्यान राख्नुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट फाइदा मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।
मीन – नियमित कार्यमा ब्यस्तता वृद्धिसँगै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट पनि थप लाभ हुन सक्छ । व्यवहारबाट नयाँ ज्ञान सिक्ने मौका जुर्ला । कृषि तथा पशुपालनमा कम तथा व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंका कमी-कमजोरी औंल्याउन सक्छन् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ ।
प्रतिक्रिया