ओलीको वाक्पटुता एक विशेष क्षमता हो, उनमा जटिल विषयलाई सरल बनाउएर प्रस्तुत गर्ने र सर्वसाधारणलाई बुझाउने कला छ । यो उनको व्यक्तिगत पूँजी हो । तर देशको ठुलो दलको नेतृत्व गर्दा र देशको प्रधानमन्त्रीको हैसियतको अवस्थामा आफ्नो बोलीको पनि ख्याल गर्नुपर्छ । प्रधानमन्त्री हुँदाको बखत बोल्ने भाषा र ओठेजवाफ पार्टीइतरकालाई पाच्य हुँदैन, उल्टै आलोचना गर्ने मसला बने, आफ्नै कुराहरू ब्याकफायर भएर आए ।
✍ नारायण शर्मा घिमिरे
एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिक रंगमंचका साधारण खेलाडी होइनन् । राजनीतिमा विजय हासिल गरे पनि वा असफलता भोगे पनि, उनी सधैं राष्ट्रिय ध्यानाकर्षणको केन्द्रबिन्दुमा रहने सफल राजनीतिज्ञ हुन् । उनी सधैं राजनीतिको केन्द्रमा रहेका छन् र शक्तिको केन्द्रबाट टाढा छैनन् । उनमा जटिल गठबन्धनहरू निर्माण गर्ने र विपक्षी दलहरूलाई आफ्नो राजनीतिक एजेन्डाको मूल मर्ममा सहमत गराउने क्षमता छ । उनको कार्यकाल कमजोरी र विवादमुक्त नभएतापनि, नेपालमा ओलीको योगदान निर्विवाद छ, जसले देशको विकास र भूराजनीतिक दिशा परिवर्तन गर्न अमिट छाप छोडेको छ । जे भए पनि, लामो समयसम्म सत्ता र शक्तिको आशक्ति सोभनीय मानिँदैन । नेपाल अगाडि बढ्दै जाँदा, अब ओलीले राजनीतिको अग्रपंक्तिको युद्धभूमिबाट मार्गदर्शकको भूमिमा संक्रमण गर्ने समय आइसकेको छ । दशकौंदेखि उनले सञ्चित गरेको बुद्धि र अनुभवले अर्को पुस्तालाई मार्गदर्शन गर्नु आवश्यक छ ।
योगदान
६० को दशकतिर देश माओवादी आतंकले आक्रान्त थियो । सामान्य जनजीवन अस्तव्यस्त थियो, मानिसहरू त्रसित थिए, र हिँडडुलमा पनि प्रतिबन्धजस्तो अवस्था थियो । माओवादीको बिरोध गर्न जो कोहि तम्सिदैन्थ्यो, त्यसो गर्नु आफैलाई जोखिममा राख्नु थियो । माओवादी गुरिल्लाहरू, सेना र प्रहरीको चेपुवामा रहेर मानिसहरूले अनिश्चित भविष्य भोगिरहेका थिए । यस्तो विषम परिस्थितिमा ओली एक यस्तो पात्र थिए उनले माओवादीको कृत्यलाई पहिलो पटक सार्वजनिक रुपमै आतंकवादको संज्ञा दिए । टेलिभिजनका अन्तरवार्ताहरूमा उनले यस्तो अभिव्यक्ति दिँदा मानिसहरू आफ्नो जिब्रो टोक्थे । माओवादीको चुनौतीलाई सामना गर्दै उनले देशप्रतिको चिन्ता लिएर आफूलाई जोखिममा राखेका थिए ।
२०७२ आश्विनतिरको कुरा हो उनी पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमाथिको नाकाबन्दी विरासतको रुपमा पाएका थिए, भारतीय हैकम आम नेपालीलाई मन नपर्नेगरि हस्तक्षेपकारी बन्दै थियो । जसले आम नेपालीहरूको मनमा असन्तुष्टि बढाइरहेको थियो । नेपालका बुद्धिजीवी भनिनेहरू र दलका नेताहरू भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न समेत हिच्किचाउँथे । अकर्मण्यताको अचम्मको अवस्था विद्यमान थियो । ओलीले यो मौनतालाई तोडे र स्पस्टरूपमा भारतले नै नाकाबन्दी लगाएको बताउँदै जनतालाई आश्वस्त पारे । यतिमात्र होइन जबसम्म भारतले नाकाबन्दी हटाउँदैन तबसम्म भारतको कुनै पनि राजकीय भ्रमण नगर्ने ठोस अडान लिए । यसबाट उनले नेपालको स्वाभिमानलाई उचो राख्ने महत्त्वपूर्ण भूमिका निभाए।
नेपाल र चीनबीचको पारवहन तथा यातायात सम्झौता (२०७२) कूटनीतिक क्षेत्रमा केपी ओलीको एक ऐतिहासिक उपलब्धि हो । जसलाई गर्न उनिभन्दा पहिलेका शासकहरूले पर्याप्त इच्छाशक्ति देखाउन सकेका थिएनन् । आट गरेकै थिएनन । यो द्विपक्षीय सम्झौताले भुपरिबेस्ठीत नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्दा चिनियाँ समुद्री र स्थल-बन्दरगाहहरू प्रयोग गर्ने सुविधा प्रदान गरेको छ । भारतीय नाकाबन्दीपछि निकै आवश्यक ठानिएको यो सम्झौताले भारतमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गरेको छ । नेपाली भएर नेपाली मन नभएकाहरूले जे-जसरी व्याख्या गरे पनि यो सम्झौताले नेपालको कूटनीतिक सन्तुलनलाई मजबुत बनाएको छ । वास्तबमा उनको नेतृत्वले कुटनीतिको धारलाई नै परिवर्तन गरिदिएको छ ।
सही नेतृत्वले आलोचनालाई सुन्ने, सिक्ने र सम्मान गर्ने गुण राख्छ । नेतृत्व विनयशील हुनुपनि पर्छ, आलोचकहरू विरोधी होइनन् बरु खुला समाजका सम्पत्ति हुन् । ओलीले आफ्नै पार्टीभित्रका आफूसँग मत नमिल्नेहरूलाई तह लगाउन खोजे, जुन खुल्ला समाजमा उचित व्यवहार होइन । लोकतन्त्रमा आलोचना सिक्दै सच्चिने हो तर उनि आलोचनाविहीन हुने अस्वाभाविक कल्पनामा रुमलिए ।
भू-राजनीतिक क्षेत्रमा ओलीको अर्को महत्त्वपूर्ण भूमिका सीमा विवादमा देखियो । भारतले नोभेम्बर २, २०१९ मा जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको थियो । नेपाल सरकारले यसलाई अस्वीकार गर्दै मे २०, २०२० मा आफ्नो नयाँ नक्सा जारी गऱ्यो, जसमा यी तीनवटै क्षेत्रहरू नेपालको संप्रभु भूभाग भएको उल्लेख छ । यो साहसिक कदम ओलीको नेतृत्वमा नै सम्भव भएको थियो ।
ओलीको राजनीतिक सूझबूझ उनको पूर्व कार्यकालहरूमा देख्न सकिन्छ । जब सिके समूह र माओवादीको विप्लब समुहले सामाजिक सुरक्षालाई प्रभावित गरिरहेका थिए, ओलीको नेतृत्वले यी समूहहरूलाई संवैधानिक मार्गतर्फ ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
भ्रष्टाचारविरुद्धको उनको स्टैण्ड स्पष्ट छ- ‘घुस नखाने, खान नदिने’ उनको नारा रहिआएको छ । व्यक्तिगत रूपमा उनी भ्रष्टाचारमा संलग्न नभएकोमा जनताको विश्वास छ । एमाले पंक्तिको लागि यो गर्वको विषय पनि होला कि, जबकि कांग्रेस, माओवादी केन्द्र, समाजवादी पार्टी र रास्वपा जस्ता प्रमुख दलहरूका प्रमुखहरू भ्रष्टाचार र अनियमितताका आरोपमा अभियुक्त छन् । ओलीप्रति सदा द्वेष र पूर्वाग्रह राख्नेहरूका आफ्नै आलोचनाहरू भएतापनि, उनी भ्रष्टाचारको आरोपबाट टाढा रहन सफल भएका छन् ।
नेपाली राजनीतिमा केपी ओलीको दृढताका धेरै उदाहरणहरू छन् । माधव र प्रचण्डबीचको अनुचित साँठगाठले ओलीलाई पार्टी सदस्यबाटै वञ्चित गर्दा पनि उनी विचलित भएनन् । चौतर्फी राजनीतिक आक्रमणको सामना गर्दापनि उनले धैर्य गुमाएनन् । उनको नेतृत्वमा नै करिव अस्तित्वमै संकट आएको एमालेलाई नयाँ जीवनदान दिन र देशकै सबैभन्दा ठुलो दल बनाउन उनको नेतृत्वमा सम्भव भयो ।
ओलीले देशमा व्याप्त निराशालाई चिर्न हर प्रयास गरे । देशमा विकास गर्न सकिन्छ हामी गर्न सक्छौँ भन्ने उनको आत्मविश्वासी सन्देशले जनतामा नयाँ उत्साह सिर्जना गऱ्यो । यो केवल सन्देशसम्म मात्र सीमित नरही उनको कार्यकालमा विकासका कार्यहरूले गति लिएको तथ्यांकहरूले पनि प्रमाणित छ । देशको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै थिए ।
अनेक प्रयत्न गर्दा पनि देशको नियम र कानुनभित्र छिर्न नखोज्ने सामाजिक संजालका मालिकहरूदेखि सरकार आजित भइसकेको थियो । उनीहरूले देशलाई निकै हेपेका थिए । देशलाई हेपेको केपी ओली जस्तो राष्ट्रिय अडान लिने व्यक्तिलाई मन पर्ने कुरा थिएन । कानूनविद् विपिन अधिकारीले उल्लेख गरेजस्तै, सामाजिक संजाल प्रतिबन्ध गर्ने कार्य गलत काम थिएन, यो राष्ट्रिय स्वाभिमानको संरक्षणको कुरा थियो, तर यो देशमा देश हित चाहने भन्दा नचाहनेको हुलहुल्लत जबर्जस्त छ । उनीहरूले नै विजय प्राप्त गरेजस्तो देखियो, सरकार हाऱ्यो ।
केपी ओलीप्रतिको उनका समर्थकहरूको स्नेह ‘केपी बा’ भन्ने सम्बोधनमा प्रकट भएको छ । यो सम्बोधन केवल स्नेहमा मात्र सीमित नरही उनले देशलाई दिएको योगदानको प्रतिभूतिको रूपमा रहेको छ । यस्तो सम्मानजनक उपाधि नेपाली राजनीतिमा अद्वितीय हो, जुन कुनै पनि अन्य नेताले सहजै प्राप्त गर्न सक्दैनन् ।
कमजोरीहरू :
तर, दिनहरू सधैं एकै रहँदैनन् । हरेक मानिसका सबल पक्ष र कमजोरीहरू साथै बस्छन् । प्रशंसकहरू र आलोचकहरू उत्तिकै छन् । देशमा राजनीतिक थिति नबस्नुमा संविधान एक अवरोधको रूपमा ब्याख्या गर्ने मतलाई व्यापक स्वीकृति मिलिरहेको थियो, जसलाई सम्बोधन गर्न कांग्रेससँग सम्झौता भएको पनि हो । सत्ताको भऱ्याङ्ग चढ्दै गर्दा कांग्रेससँग गरेका ७बुँदे सहमतिहरू रद्दीको टोकरीमा फालिए । सबैभन्दा ठूलो विडम्बना त के भने सरकार गठनको मुख्य उद्देश्य नै जो काम थियो, त्यो गरिएन; संविधान संशोधनको प्रक्रिया नै सुरु गरिएन । प्रधानमन्त्रीको रूपमा जो थियो यो उसैको गैरजिम्मेवारी हो । संविधान संशोधनको खाकासम्म तयार भइदिएको भए जनतामा सरकारले काम गर्दैछ भन्ने सन्देश जाने थियो । तर यो अवसर गुमाइएकोले सरकारप्रतिको जनआकांक्षा पूरा नहुँदै देश संकटमा पऱ्यो ।
नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भनेको भविष्यको लागि उपयुक्त नेतृत्व निर्माण गर्नु हो, आफूपछि भ्याकुम छोड्नु होइन । सही नेतृत्वले आलोचनालाई सुन्ने, सिक्ने र सम्मान गर्ने गुण राख्छ । नेतृत्व विनयशील हुनुपनि पर्छ, आलोचकहरू विरोधी होइनन् बरु खुला समाजका सम्पत्ति हुन् । ओलीले आफ्नै पार्टीभित्रका आफूसँग मत नमिल्नेहरूलाई तह लगाउन खोजे, जुन खुल्ला समाजमा उचित व्यवहार होइन । लोकतन्त्रमा आलोचना सिक्दै सच्चिने हो तर उनि आलोचनाविहीन हुने अस्वाभाविक कल्पनामा रुमलिए । यो सत्य हो कि भीम रावल र घनश्याम भुषालहरू नीतिभन्दा व्यक्तिगत द्वेषजस्तो व्यवहार देखाउँथे, पार्टी पंक्तिबाहिरको प्रशंसामा रमाउँथे र पार्टीलाई प्रदूषित बनाउँथे । तर पनि पार्टी अध्यक्षले खेल्नुपर्ने भूमिकाहरू सहकार्य र समन्वय हुन् ।
पार्टीलाई प्रतिस्पर्धी बनाउँदै सक्षम नेतृत्व निर्माणको बाटो छोडेर ओलीले सर्वसम्मति जस्तो असम्भव लक्ष्यमा ब्यर्थ शक्ति क्षय गरे । सर्वसम्मतिको नाममा टीकेप्रथाको जन्म हुन गयो, कार्यकर्ताहरू प्रतिस्पर्धा चाहन्थे, उनको सोचसँग पार्टीका तल्लो स्तरका कार्यकर्ताको राय मेल खाँदैनथ्यो ।
अहिले पनि ओलीलाई चुनौती दिनसक्ने र आगामी महाधिवेशनमा उम्मेदवार बनेर जित्न सक्ने अर्को व्यक्तित्व त्यो दलमा देखिएको छैन । हो, यसै शक्तिको अवस्थामा आफ्नो जिम्मेवारी बिसाउनु ओलीको लागि उपयुक्त हुन सक्छ ।
ओलीको वाक्पटुता एक विशेष क्षमता हो, उनमा जटिल विषयलाई सरल बनाउएर प्रस्तुत गर्ने र सर्वसाधारणलाई बुझाउने कला छ । यो उनको व्यक्तिगत पूँजी हो । तर देशको ठुलो दलको नेतृत्व गर्दा र देशको प्रधानमन्त्रीको हैसियतको अवस्थामा आफ्नो बोलीको पनि ख्याल गर्नुपर्छ । प्रधानमन्त्री हुँदाको बखत बोल्ने भाषा र ओठे जवाफ पार्टीइतरकालाई पाच्य हुँदैन, उल्टै आलोचना गर्ने मसला बने, आफ्नै कुराहरू ब्याकफायर भएर आए । यो सम्झनु जरुरी छ कि बालेन्द्र, राप्रपा र राजा कहिल्यै पनि प्रमुख राजनीतिक शक्ति थिएनन्, र अहिले पनि छैनन् । उनीहरूप्रतिको बेला-कुबेलाको ओलीको आक्रामकता वास्तबमा अर्घेलो थियो, नबोलेपनि हुनेमा उत्ताउलोपन देखाएकै हो, जुन प्रधानमन्त्रीको कुर्चीको गरिमासँग मेल खाँदैनथ्यो । यसको सबैभन्दा ठूलो असर आफ्नै कार्यकर्ताहरूमा पऱ्यो, जसलाई रक्षात्मक भूमिकामा जानु पऱ्यो ।
धेरै मानिसहरू ओलीले व्यक्तिगत फाइदाको लागि कुनै भ्रष्टाचार गरे होलान्, अकुत सम्पत्ति आर्जन गरे होलान् भनेर पत्याउँदैनन् । तथापि, केही मिडिया र विश्लेषकहरूको एक वर्गले उनको मन्त्रिमण्डलका सदस्यहरू र नजिकका सहयोगीहरूले भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँछन् । भर्खरैको लिचीबगैंचा काण्ड र गिरिबन्धु काण्डजस्ता घटनाहरूले यस आलोचनालाई बल दिएका छन् । यी काण्डहरू ओलीलाई पनि बिझाउने काण्डहरू हुन् । यी आरोपहरूको आधारमा उनिप्रति जनताले प्रश्न उठाएका छन् ।
मन्त्रिमण्डल गठनको क्रममा कांग्रेस र अन्य सहयोगी दलहरूले बदनाम पात्रहरूको इन्ट्री गराउँदाको उनको मौनता उचितरूपमा ब्याख्या गर्न साह्रै गाह्रो छ । यो उनलाई असफल र बद्नाम गर्ने कुचाल थियो । सत्य हो- कुलमानले पदअनुसारको जिम्मेवारी बहन गरेपनि उनको सम्पत्ति आर्जनको तरिका स्पष्ट नभएको अवस्थामा छ । तर उनी ओलीको कार्यकर्ताजस्तो बेहोसी थिएनन्, उनले जे गरे आम मानिसको र पत्रकारको आँखामा छारो हालेर गरे, परिणामतः अज्ञानीहरूले उनलाई बिजुलीदाताको रुपमा हेरे । उनको असली रुप हेर्न बिजुली उत्पादकको संगत गर्नुपर्छ, अनि ऐनाजस्तै छर्लङ्ग हुन्छ । तर पनि राजनीतिमा जसले आम मानिसको विश्वास आर्जन गरेको छ उसँग बारम्बार जोरी खोज्नु आफ्नै इमेज ड्यामेज गर्नु हो, जुन ओलीले पटक-पटक गरे, राजनीतिको कच्चा खेलाडी जस्तो भयो । यस्ता कदमहरूले उनको राजनीतिक सूझबूझमाथि प्रश्नचिन्ह लगाए र दीर्घकालीन रूपमा उनको छविलाई क्षति पुग्यो ।
गत महाधिवेशनमा आफैले मनोनयन गरेर महासचिव बनाए जुन एउटा रणनीतिक गल्ती थियो । महासचिवको पदलाई संगठनात्मक क्षमता र जनसम्पर्क कौशल आवश्यक पर्छ, जुन तत्कालीन चयनमा पर्याप्त ध्यान दिइएन । पार्टीभित्र लोकतान्त्रिक प्रक्रियालाई कमजोर पारेर आन्तरिक प्रतिस्पर्धालाई हतोत्साहित गर्नु दीर्घकालीन रूपमा दलको लागि घातक सावित हुन सक्छ । हार्नेहरूले दल नै छोड्छन् भन्ने भ्रमले लोकतान्त्रिक प्रक्रियालाई नै विकृत बनाउने खतरा भयो ।
प्रधानमन्त्रीको हैसियतले राष्ट्रिय जिम्मेवारी र दलीय कर्तव्यबीच सन्तुलन कायम गर्नुपर्छ । ओलीले पार्टी कार्यमा अत्यधिक ध्यान केन्द्रित गर्दै शासनको मुख्य दायित्वलाई पृष्ठपोषणमा राखेको आरोप छ । राज्यको संसाधन प्रयोग गरेर दलीय कार्य सम्पादन गर्नु भ्रष्टाचारको एउटा रूप हो भन्ने तथ्यलाई बुझ्नु आवश्यक छ । प्रधानमन्त्री भएर देशबासी सबैको हुनुपर्छ, केवल दलको होइन ।
कुनै पनि घटना घट्नुपहिले तत्कालिन परिस्थितिको पनि मूल्यांकन हुनु जरुरी मानिन्छ । सांघाई कोअपरेटिभ र विजय उत्सवमा भाग लिनु कतै भूराजनीतिक असरको मुल्यांकन हुनुपर्थ्यो भन्ने कोणबाट सोच्नेहरूको कमी पनि छैन । आफ्नै अन्तर्गतको गुप्तचरी विभाग कुन दुलोमा ओथारो बसेको थियो कसैलाई थाहा भएन, देश खरानी हुनेसम्मको अवस्था थाहा नहुनु कस्तो विडम्बना हो । सुरक्षा निकायहरूले आन्तरिक सुरक्षा खतराहरूको समयमा पहिचान गर्न नसक्नु राष्ट्रिय सुरक्षाको लागि गम्भीर चिन्ताको विषय हो । सुरक्षा निकायहरूले आफ्नै घरमा दन्केको आगो निभाउनुको सट्टा आगो बलेको फोटो खिचेर रमाइलो गर्नु निकम्मापन बाहेक के हो ? कस्तो बनेको रैछ र सुरक्षा निकाय जसले आफ्नै घरमा लागेको आगो निभाउन सक्दैन ? प्रधानमन्त्रीको रूपमा देशको सुरक्षा स्थितिको जानकारी नराख्नु अक्षम्य त्रुटी हो ।
सत्य हो- कुलमानले पदअनुसारको जिम्मेवारी बहन गरेपनि उनको सम्पत्ति आर्जनको तरिका स्पष्ट नभएको अवस्थामा छ । तर उनी ओलीको कार्यकर्ताजस्तो बेहोसी थिएनन्, उनले जे गरे आम मानिसको र पत्रकारको आँखामा छारो हालेर गरे, परिणामतः अज्ञानीहरूले उनलाई बिजुलीदाताको रुपमा हेरे । उनको असली रुप हेर्न बिजुली उत्पादकको संगत गर्नुपर्छ, अनि ऐनाजस्तै छर्लङ्ग हुन्छ ।
जेनजी विध्वंशपहिले त्यतिबेला एक दुखद सडक दुर्घटना घटेको थियो । कुनै पनि दुर्घटनाको गम्भीरताको मापन केवल भौतिक क्षतिले मात्र हुँदैन, त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाले पनि हुन्छ । मन्त्रीको पदमा रहेको व्यक्तिले सडक क्रस गर्दै गरेकी बालिकालाई ठक्कर दिएर बेवास्ता गर्नु र त्यसपछि भाग्नु, र प्रधानमन्त्रीले उक्त घटनालाई ‘सामान्य’ भन्नु कुनै पनि दृष्टिकोणले स्वीकार्य हुन सक्दैन । यस्तो अवस्थामा एक जिम्मेवार राजनीतिज्ञले भूलको माफी माग्नु अपेक्षित हुन्छ । उक्त घटनाले सरकारी तहबाट आम मानिसको जिउ-धनप्रति संवेदनहीनता प्रदर्शन गरेको छ ।
सरकारको दृष्टिकोणले हेर्दा सोशल मिडिया प्रतिबन्धलाई आवश्यक देखिए पनि, यो आम मानिसको आवश्यकताको माध्यम बनिसकेको थियो, जसबाट उनीहरू टाढा रहन चाहँदैनथे । प्रतिबन्धले जनतामा सरकारी भावनाको सकारात्मक सन्देश पुऱ्याउन सकेन । यसलाई नजरअन्दाज गरेर एकैचोटि कडा कदम चाल्दा परिस्थिति विपरीत हुन पुग्यो । धेरै युवाहरूको सामाजिक जीवनमा खालीपन देखियो । युवाहरूले आफूलाई सरकारले हेपेको महसूस गरे । भ्रष्टाचार अन्त्य र सुशासनको कुरा ओली र उनको दल र आम नागरिकको एजेन्डा थियो, युवाहरूको मात्र होइन । संजाल प्रतिबन्धलाई न्यायोचित ठहऱ्याउन भ्रष्टाचार अन्त्य र सुशासन जस्ता रचनात्मक शब्दहरू प्रयोग गरिएका मात्र हुन् । आफू सुरक्षित स्थानमा बसेर उक्साउनेहरू धेरै थिए । पहिलेदेखि नै ब्याप्त निराशा र असन्तुष्टिमा यस प्रतिबन्धले थप तेल हालेको हो ।
थाकेको बेला विश्राम गर्नुपर्छ
दलको विधान भनेको मार्गदर्शनको लागि हुन्छ, व्यक्तिगत हितमा तोडमोड गर्न मिल्ने कागजात होइन । ओलीको आवश्यकता उनको दललाई छैन भन्ने होइन, उनको अवश्यकता छ तर आफैले आफ्नो दलमा एक स्वच्छ पद्धति बसाल्ने नियतले संघर्ष गरेर स्थापित विधान व्यक्तिगत अनुकुलताको लागि संशोधन गर्नु कुनै पनि दृष्टिले उचित छैन । यसले नैतिक र राजनीतिक दुवै दृष्टिले गलत सन्देश गएको छ ।
देशमा सिर्जिएको विषम परिस्थितिको नैतिक जिम्मेवारी कार्यकारी प्रमुखको रूपमा ओलीकै छ । ७६ जनाको ज्यान गएको र करिब २० खर्बभन्दा बढीको आर्थिक क्षति भएको यो घटनाको तत्कालिक र दीर्घकालीन प्रभाव अझ भयावह छ । यसको लागि नैतिक रूपमा जवाफदेही हुनु अपरिहार्य छ ।
अध्यक्षपद छोड्दा ओलीले देशलाई दिने योगदान कम हुँदैन । उनको चातुर्य र बौद्धिक क्षमताले संकटको बेलामा ठूलो भूमिका खेल्न सक्छ । गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न नसक्ने भन्ने हुँदैन । तथापि, अहिले परिवर्तनको तात्तातो अवस्था र सत्ता-शक्तिविहीन अवस्थामा उनलाई पार्टी नेतृत्वबाट विस्थापित गर्ने प्रयास भने फेरि उचित हुँदैन । आगामी महाधिवेशन नै नेतृत्व परिवर्तनको उपयुक्त मञ्च हो ।
अहिले पनि ओलीलाई चुनौती दिनसक्ने र आगामी महाधिवेशनमा उम्मेदवार बनेर जित्न सक्ने अर्को व्यक्तित्व त्यो दलमा देखिएको छैन । हो, यसै शक्तिको अवस्थामा आफ्नो जिम्मेवारी बिसाउनु ओलीको लागि उपयुक्त हुन सक्छ । महाधिवेशनमा भ्रष्टाचारमा दागी नभएको, जनताको विश्वास जित्न सक्ने, मासलाई सम्झाउन सक्ने, नम्र र जनप्रिय व्यक्तित्व भएको उम्मेदवार खोज्नु र नेतृत्व लिन सहयोग गर्नु ओलीको पनि कर्तब्य हो । त्यस्तो व्यक्तिलाई समर्थन गरेर नेतृत्व सुम्पिनु बुद्धिमत्तापूर्ण कदम हुनेछ । ओलीका शुभचिन्तकहरूको संयुक्त राय छ कि अब थकान महसूस भएको छ भने विश्राम लिनु उपयुक्त हुन्छ । सत्यको सम्मान गर्ने र त्यसलाई आत्मसात गर्ने शक्ति एमाले अध्यक्ष र उनको दललाई प्राप्त होस् ।
(एडीबी स्कलरको रूपमा जापानको अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ‘अन्तर्राष्ट्रिय विकास’मा स्नातकोत्तर र त्रिविबाट भूगोलमा स्नातकोत्तर गर्नुका साथै नेपालस्थित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव सँगालेका लेखक घिमिरे अनुगमन तथा मुल्यांकन र परियोजना प्रस्ताव लेखनमा दखल राख्दछन् । – सं.)
प्रतिक्रिया