पहिले राजालाई मात्र निषेध गरेर अगाडि जान खोज्दा त मुलुकले असहजता महसूस गरिरहेको थियो भने अहिले राजाका साथै प्रमुख दलहरूलाई समेत निषेधको मनशाय राखिएको देखिन्छ । नेपाललाई राज्यविहीन तुल्याएर आफ्नो अभीष्ट पूरा गर्न जुन अदृष्य शक्ति सक्रिय छ त्यसैको पहिचान र उपचार नभएसम्म नेपालको राज्य संस्थागत हुने आशा गर्न सकिँदैन ।
✍ देवप्रकाश त्रिपाठी
शत् प्रतिसत निजी कुनै कुरा छन् भने त्यो जन्म, मृत्यु र उमेर मात्र हो, तर त्यही तीन अवस्थाको आफ्नो इच्छा र योजनासँग कहिल्यै सरोकार रहँदैन ! ठ्याक्कै आफ्नो र केवल आफ्नो मात्र भन्ने यिनै तीन अवस्था हुन्, अनि यही अवस्थाचाहिँ आफ्नो इच्छा र नियन्त्रणमा नहुने भएपछि संसारमा आफ्नो चाहिँ केलाई मान्नु भन्ने प्रश्न उठ्नु स्वभाविक हुन्छ । ब्रह्माण्डमा चीरस्थायी भन्नु केही छैन, तर मानिस स्थीरतामा बिश्वास राख्छ र सधै स्थायित्वको खोजी गरिरहन्छ ! मानिस सधै निःस्वार्थ र निस्वार्थी भावनाको कदर गर्नेगर्छ, तर स्वार्थरहित प्राणी मानिस कदापी होइन, हुनसक्दैन । कोही आत्मकेन्द्रीत र सधै निजी स्वार्थको वरिपरि घुमेर जिन्दगी बिताइरहेका हुन्छन भने कतिपयले राष्ट्रिय या सामाजिक स्वार्थमा समेत आफूलाई समर्पित गरेका हुन्छन । सबै स्वार्थ त्यागेको दावी गर्ने योगीको पनि परमात्मासङ्ग साक्षात्कार हुने स्वार्थ हुने गर्छ, सामाजिक र राष्ट्रिय स्वार्थमा केन्द्रीत मानिसमा चाहिँ नाम र प्रतिष्ठा आर्जनको स्वार्थ हुन्छ । जन्मजात गुण-प्रवृत्ति तथा पारिवारिक वातावरण र सामाजिक परिबेशले ब्यक्तिको प्राथमिकता निर्धारण गर्ने गर्दछ ।
सामान्यतया हरेक मानिसमा दशक बदलिएसँगै रुचि परिवर्तन हुनेगर्छ । दस वर्ष तलका बालबालिकाको खुशीका विषयसँग बीस वर्षीय युवाको खुशी मेल खादैन, त्यस्तै तीस वर्षे र चालीसका युवाको खुशी या दुःखको क्षेत्रमा निकै ठूलो भिन्नता आइसकेको हुन्छ । एवम् रितले बाँचिन्जेल हरेक दशकमा मानिसको चाहना र प्राथमिकताको क्षेत्रमा परिवर्तन भइरहेको हुन्छ । तर आश्चर्यको पक्ष के हो भने हरेक अवस्थामा मानिस आफूले सोचेको या भोगेको कुरालाई नै सबैभन्दा महत्वपूर्ण ठानिरहेका हुन्छन् । मानिसमा रहेको यिनै गुण-स्वभावलाई पनि पश्चिमका पापीहरूले नियोजित ढङ्गले विभाजित गरेर आफ्नो स्वार्थसिद्धि गर्न थालेको र नेपाल यसको सिकार बन्दै जाने खतरा बढेकोले यहाँ केही स्पष्ट गर्ने प्रयास गरिएको छ । खासगरी जेनजी (Gen-Z)का नाममा उत्पन्न सोच र ब्यबहारले मानव सभ्यता, समाज र देशलाई कसरी गम्भीर असर पार्दैछ भन्ने बारे लेखमा विवेचना गर्न खोजिएको छ ।
‘जेनजी’ आन्दोलनको सबैभन्दा सकारात्मक पक्ष भनेको किशोर र युवापुस्ता पनि मुलुकको भविष्यलाई लिएर चिन्तित छन् भन्ने सन्देश प्रवाह हुनु हो । सर्वाधिक नकारात्मक पाटो चाहिँ नेपाल राज्य कहिल्यै संस्थागत नबन्ने भयो र समाज सधै बिथोलिने बाटोमा गयो भन्ने हो ! अमेरिकी विद्वानहरूले प्रविधिको विकास र यसको उपभोगका आधारमा आफ्नो मुलुकका नागरिकहरूको अवस्था बुझ्ने क्रममा पैदा भएको विचारलाई राजनीतिकरण गरिएपछि संसारमा उमेर समूहका आधारमा मानिस विभाजित भएका/गरिएका छन् र यसले अनपेक्षित उपद्रवको स्थिति पैदा गरिरहेको छ । जगतमा रात र दिन, सुख र दुःख आदि भएजस्तै सकारात्मक र नकारात्मक प्रवृत्ति पनि अस्तित्वमा छ र सकारात्मक भन्दा नकारात्मकताले मानिसलाई ज्यादा प्रभावित गर्ने गर्दछ । विगतमा जाति, भाषा, धर्म, क्षेत्र आदिलाई आधार बनाएर मानिसकाबीच विभाजन ल्याउने र आफ्नो स्वार्थ-लक्ष्य भेदन गर्नेहरूले अब उमेर समूहका आधारमा मानिसलाई लडाउने क्रमको सुरुवात गरेका छन्, जेनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो । उमेरका आधारमा गरिने विभाजनले अन्ततः हाम्रो पारिवारिक र सामाजिक संरचना मात्र ध्वस्त बनाउने छैन, देशको अस्तित्वमै गम्भीर क्षति पुऱ्याउनेछ ।
हामीले खर्ब खर्च गरेर संविधान बनायौँ, अर्बौं खर्च गरेर निर्वाचन गरायौँ ! सरकार बनाउने, चलाउने र ढलाउने संवैधानिक र कानूनी ब्यवस्था हुँदाहुँदै जसले जति ठूलो हिंसा गराउन सक्छ उसैलाई सत्ता मिल्छ भन्ने प्रमाण फेरिपनि हामीले पेस गऱ्यौँ ! अब प्रश्न उठ्छ- यदि जसले जति ठूलो हिंसा भड्काउन सक्छ उसैलाई सत्ता मिल्ने जङ्गली परम्परालाई निरन्तरता दिने हो भने हामीले संविधान किन राख्ने ? राज्यको धन खर्च गरेर चुनाव किन गराइरहने !?
‘म अरूभन्दा नितान्त भिन्न छु’ भन्ने मानसिकता हरेक मानिसमा अविच्छिन्न रूपमा रहन्छ । कति मानिस धनीका सन्तान या धनी भएकोले आफूलाई विशिष्ट ठानिरहेका हुन्छन् भने कतिचाहिँ आफ्नो गरिबीलाई विशिष्टता ठान्छन् । कतिपय मानिस धूमपान ज्यादा गर्ने भएकोले आफूलाई विशिष्ट मानिरहेका हुन्छन् भने जिन्दगीमा कहिल्यै धूम्रपान नगरेकाले चाहिँ त्यही कारण आफू पृथक भएको ठानेका हुन्छन् । शिक्षितहरू शिक्षित भएकोले विशिष्टताको अभिमानमा हुनु एउटा पक्ष भयो, अशिक्षितहरू चाहिँ आफूले लेखपढ गर्न नसक्नुलाई नै आफू विशिष्ट हुनुको कारण ठान्छन् । बालपनको निर्दोषिताको चर्चा यहाँ नगरौं, जवानहरू यौवनका कारण आफ्नो विशिष्टता बोध गर्ने गर्दछन् भने परिपक्व र प्रौढहरू पनि आफ्नो अनुभव र उमेर अवस्थालाई लिएर विशिष्टताको महसूस गरिरहेका हुन्छन् । यौवनको प्रारम्भिक कालखण्डमा जो-कोही मानिस ज्यादा भावनाप्रधान (इमोसनल) हुन्छन्, भावनात्मकता ज्यादा तरल हुन्छ र सजिलै बहकाउन सकिन्छ ।
मानिसको स्थायी मित्र नै दुःख हो र सङ्घर्ष चाहिँ अभिन्न अङ्ग हो भन्ने नबुझेका पुस्तालाई ‘तिम्रो दुःखको कारण चन्द्रमा हो’ भनिदिए पनि पत्याउछ र तारा हो भनिदिएपनि त्यसैमा विश्वास गर्छ । हो, यिनैलाई पुरानो पुस्ता नै तिम्रो लक्ष्यको बाधक हो भनेर पढाइदिएपछि तिनले भिन्न उमेर समूहप्रति नकारात्मक दृष्टिकोण राख्नु स्वभाविक हुन्छ र भयो पनि त्यस्तै ! केही वर्षदेखि नै बुढाहरू कुनै राम्रो काम गर्न सक्दैनन् भनेर पढाइएका युवाले युक्रेनलाई जहाँ पुऱ्याए, त्यो नकारात्मक शिक्षाको एउटा सफलता थियो । नेपाली राजनीतिमा लामो समयदेखि सतहमा देखापरेका मूल पात्रहरू बुढा भएकोले भ्रष्ट र निकम्मा भएको अर्थ लाग्नेगरि प्रचार गरियो, उनीहरू भ्रष्ट र गलत थिए भने युवाकालदेखि नै थिए भनेर सोच्न पनि नसक्नेगरी बुढाहरू विरूद्ध घृणाको बाढी ल्याइयो । जसका कारण असी वर्ष नाघेका वृद्ध र महिलालाई समेत घोर आक्रमण गर्नसक्ने मनस्थितिमा युवा पुगे । युवा र परिपक्व नागरिकबीच खिचिएको विभाजनको रेखाले समाज र राष्ट्रलाई कहिल्यै शान्त, स्थीर र अनुशासित बन्न नदिने निश्चितप्रायः छ । यो नयाँ रोगले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि नै अन्ततः गम्भीर असर पार्ने सम्भावना छ । किनभने, नेपाल त्यसैपनि अन्यौल, अस्थीरता र अनिश्चयको मार्गबाट गुज्रिरहेकै थियो, नयाँ रोगले देशलाई थप दुष्चक्रको भुमरीमा फसाउने देखिएको छ ।
विक्रम सम्वत् १८२५ मा राजा पृथ्वीनारायण शाहले गोरखाबाट राजधानी काठ्माडौं स्थानान्तरण गराउनुभएपछि पनि राज्य संस्थागत हुन सकेको थिएन, किनकि त्यसको सात दशकसम्म नेपाल एकीकरणकै अभियानमा केन्द्रीत थियो । सुगौली सन्धिले नराम्रोसँग थचारेपछि नेपाल आन्तरिक सत्ता-सङ्घर्षको चक्रब्युहमा फस्न पुग्यो, जुन ब्यूहबाट नेपाल अझै मूक्त हुन सकिरहेको छैन । बहादुर शाह र राजेन्द्रलक्ष्मी बीचको सत्ता-सङ्घर्ष, पाँडे र थापा, थापा र राणा, राणा र शाह हुँदै राजा र राजनीतिक दल अनि दल र दलबीचको द्वन्द्वसम्म ब्यहोरिसकेका हामीले अब उमेर समूहबीच हुने द्वन्द्वको सामना गर्दै जानुपर्ने अस्वाभाविक अवस्थाको सुरुवात भएको छ । २०४६ को परिवर्तन पश्चात् क्रमशः खस्कँदै गएको राज्य प्रणाली (संयन्त्र) २०५२ मा माओवादीको नाममा बाह्यशक्तिले हिंसात्मक गतिविधि सञ्चालन गरेपछि राज्य जरैदेखि हल्लियो, राज्यमाथि जनताले मात्र होइन राज्य स्वयमले समेत भरोसा नराख्ने स्थिति बन्यो ।
त्यसो त नेपालमा राज्य र उसको स्वभाविक प्रक्रियाभन्दा बाहिरबाट समाधान खोज्ने अनौठो प्रवृत्ति पहिलेदेखि नै नभएको होइन । पञ्चायतकालमा बहुचर्चित ब्यक्तित्व शरदचन्द्र शाहलाई खेलकुद परिषदको सदस्यसचिव बनाइएको थियो, उहाँले तोकिएको जिम्मेवारी धेरै राम्रोसँग पूरा गर्नुभएको पनि हो ! तर मानिसहरू खेलबाहेकका हरेक कामका निम्ति शाहकोमा धाउन थाले र अन्ततः उहाँलाई समेत विवादमा तान्ने काम भयो । एकताका लोकमान सिंह कार्कीजीले अख्तियार प्रमुखको जिम्मेवारी लिनुहुँदा पनि हरेक कामका लागि कार्कीसमक्ष पुगेर उहाँलाई पनि विवादास्पद बनाइयो । एकताका आफूलाई नम्बर एक दाबी गर्ने एक दैनिकका प्रकाशक नै राज्य बनेका थिए ! एउटा त्यस्तो समय पनि देशले ब्यहोऱ्यो जतिबेला टेलिभिजनमा कार्यक्रम चलाउने एकजना ब्यक्ति आफैलाई राज्य ठान्ने स्थितिमा पुगेका थिए । यति हुँदाहुँदै पनि राज्य पूरै धराशायी भइसकेको थिएन । माओवादी हिंसाले थिलथिलो बनाएको राज्यलाई जेनजीको नाममा रचिएको कपटपूर्ण विध्वङ्शले करिब ‘जिरो’ बनाइदियो । भाद्र २४ गते राति दस बजेदेखि सेनाले स्थिति नियन्त्रणमा नलिइदिएको भए नेपालमा राज्य छ भन्न नमिल्ने अवस्था सिर्जना भइसकेको थियो ।
अमेरिकी विद्वानहरूले प्रविधिको विकास र यसको उपभोगका आधारमा आफ्नो मुलुकका नागरिकहरूको अवस्था बुझ्ने क्रममा पैदा भएको विचारलाई राजनीतिकरण गरिएपछि संसारमा उमेर समूहका आधारमा मानिस विभाजित भएका/गरिएका छन् र यसले अनपेक्षित उपद्रवको स्थिति पैदा गरिरहेको छ ।
जेनजीको नाममा कसैले बिध्वङ्स गरेपछि सोही विध्वङ्शको आडमा जननिर्वाचित सरकारलाई गलहत्याइयो । यस घटनाले सरकार बदल्ने काममात्र गरेन, संविधान र निर्वाचनको औचित्यमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । हामीले खर्ब खर्च गरेर संविधान बनायौँ, अर्बौं खर्च गरेर निर्वाचन गरायौँ ! सरकार बनाउने, चलाउने र ढलाउने संवैधानिक र कानूनी ब्यवस्था हुँदाहुँदै जसले जति ठूलो हिंसा गराउन सक्छ उसैलाई सत्ता मिल्छ भन्ने प्रमाण फेरिपनि हामीले पेस गऱ्यौँ ! अब प्रश्न उठ्छ- यदि जसले जति ठूलो हिंसा भड्काउन सक्छ उसैलाई सत्ता मिल्ने जङ्गली परम्परालाई निरन्तरता दिने हो भने हामीले संविधान किन राख्ने ? राज्यको धन खर्च गरेर चुनाव किन गराइरहने !? अनि अब गराइने चुनावले चाहिँ समाधान दिन्छ भनेर कसरी विश्वास र भरोसा गर्ने !? २०७४ र २०७९ मा पनि स्थिरता विकाश र शान्तिकै लागि भनेर निर्वाचन गराइएको थियो, तर दुबैपटक निर्वाचित सरकारलाई अस्वाभाविक र अवान्छित किसिमबाट अपदस्थ गरिएको हामीले भुलेका छैनौँ ।
संविधानसभाको निर्वाचनपछि देशले स्थिरताको मार्ग तय गर्छ भन्दै हामीलाई भुलाएको बाह्रै वर्षअघिको कुरा हो । नाटकीय किसिमबाट संविधान जारी गरिएपछि पनि भनिएको थियो- ‘अब नयाँ संविधानअनुरुपको संसदीय निर्वाचन सम्पन्न भएपछि देशले स्थिरता र समृद्धि प्राप्त गर्छ ।’ तर संविधान जारी भएको दश वर्षभित्र दुई संसदीय निर्वाचन भइसके । दुई निर्वाचनपश्चात् देशले ‘जेनजी’का नाममा यस्तो दूरावस्था भोग्नु परिरहेछ कि हरेक नेपाली देश छोड्ने निश्कर्षमा पुगिरहेका छन् । जिन्दगीमा सफलता आर्जन गर्नु भनेकै खराब मानिसको सूचीमा नाम चढ्नु हो भन्ने मान्यता जेनजीको नाममा भएको विध्वंशले स्थापित गरिदिएको छ । सबै राजनीतिक शक्तिको सम्मतिमा भएका निर्वाचनहरूले त समाधान दिन नसकेको पृष्ठभूमिमा रहश्यमयी किसिमबाट उत्पत्ति गराइएको ‘युटुबे सरकार’ले गराउने निर्वाचनबाट समाधान निस्कने आशा राख्नु भनेको विमानले बच्चा जन्माउन सक्छ भनी ठान्नुजस्तै हो ।
मानिसको स्थायी मित्र नै दुःख हो र सङ्घर्ष चाहिँ अभिन्न अङ्ग हो भन्ने नबुझेका पुस्तालाई ‘तिम्रो दुःखको कारण चन्द्रमा हो’ भनिदिए पनि पत्याउँछ र तारा हो भनिदिएपनि त्यसैमा विश्वास गर्छ । हो, यिनैलाई पुरानो पुस्ता नै तिम्रो लक्ष्यको बाधक हो भनेर पढाइदिएपछि तिनले भिन्न उमेर समूहप्रति नकारात्मक दृष्टिकोण राख्नु स्वभाविक हुन्छ र भयो पनि त्यस्तै !
राजसंस्था समर्थकहरूलाई निषेधको नीति यथावत राख्दै राजनीतिक दलहरूलाई समेत तर्साएर गरिने निर्वाचनले समाधान दिने बिश्वास गर्न कुनै कोणबाट पनि सकिदैन । यदी राजनीतिक दलहरू, राजसंस्थाका समर्थकहरू, जेनजीका प्रतिनिधि तथा नागरिक समाज समेतको छलफलबाट (सर्वपक्षीय) सहमति गर्दै संविधान संशोधन गर्ने निर्णयमा पुगेको भए, संसद सुचारु गरि जेनजीका प्रतिनिधिलाई समेत संसदमा समेटेर अघि बढेको भए र त्यसपछि सर्वपक्षीय सरकार गठन गर्दै निर्वाचनमा गएको भए दिगो समाधानको प्रयास मान्न सकिन्थ्यो र विश्वासको वातावरण बन्ने आशा गर्न सकिने थियो । पहिले राजालाई मात्र निषेध गरेर अगाडि जान खोज्दा त मुलुकले असहजता महसूस गरिरहेको थियो भने अहिले राजाका साथै प्रमुख दलहरूलाई समेत निषेधको मनशाय राखिएको देखिन्छ । राजनीतिक अनुभव र ज्ञान शून्य भएका युट्युबे पात्रको जत्थालाई राज्य जिम्मा लगाएर जसले समाधान खोज्ने धृष्टता गऱ्यो उसैको नियतमा खोट छ भन्न सकिन्छ । नेपाललाई राज्यविहीन तुल्याएर आफ्नो अभीष्ट पूरा गर्न जुन अदृष्य शक्ति सक्रिय छ त्यसैको पहिचान र उपचार नभएसम्म नेपालको राज्य संस्थागत हुने आशा गर्न सकिँदैन र राज्य संस्थागत नभएसम्म शान्ति, स्थिरता र समृद्धिको कल्पना पनि गर्न सकिन्न, सबै नेपालीले गम्भीरतापूर्वक अबपनि नसोच्ने हो भने युक्रेनी, अफगानी र सुडानीले पाएको भन्दा ज्यादा सकसपूर्ण स्थिति हाम्रो समीप आइसकेको छ, समय रहँदै विचार गरौँ ।
हिजो देशको बर्बादीमा सम्पूर्ण रूपले राजा दोषी रहेको भन्ने भाष्य निर्माण गरियो, हामीले अन्धाधुन्ध ताली बजायौँ ! राजा खुरुक्क नारायणहिटी राजदरबार छोडेर हिँडिदिए । दरबार छोडेपछि पनि दलका नेताहरू आफ्ना कमजोरी छोप्न बेलाबखत राजाको आलोचना गर्ने गर्दथे । आज स्थापित दलका मुख्य नेताका कारण देश बर्बाद भएको बताइँदैछ र यसलाई पनि हामीले पत्याएर तिनलाई दण्ड दिन अग्रसर भएका छौँ ! अब भोलि फलानो जातका कारण देश बर्बाद भएको भन्ने भाष्य निर्माण गरिनेछ र हामी त्यो जातलाई देशैबाट विस्थापित गर्न हिंसात्मक ढङ्गले प्रस्तुत हुनेछौँ । पर्सि अर्थात् अन्त्यमा राष्ट्रवादी देशभक्त नेपालीलाई नै देशको शत्रु करार गरिनेछ र तिनलाई खोजिखोजी लखेट्ने अभियान चलाइनेछ । त्यसपछि नेपालले मानव बसोबासका निम्ति सबैभन्दा अनुपयुक्त स्थानको दर्जा प्राप्त गर्नेछ । अनि सर्वत्र विदेशी सेनाको राज चल्नेछ, पृथ्वीको स्वर्गजस्तो मुलुक आखिर नरक प्रमाणित हुनेछ ! आम नेपालीको एकता हुन विलम्ब हुनु भनेकै नरक बन्ने हाम्रो यात्रा निश्चित हुनु हो, समयमै हामी सबैमा सद्बुद्धि प्राप्त होस्, जय मातृभूमि !
प्रतिक्रिया