आजको पञ्चाङ्ग एवम् राशिफल (२३ कात्तिक २०८२ आइतबार, ९ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ कात्तिक २०८२ आइतबार, ९ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धर्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक २३ गते तद्अनुसार सन् २०२५ नोभेम्बर ९ तारिख आइतबार मार्गशीर्ष कृष्ण पक्षको चतुर्थी तिथि आद्र्रा नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा ध्वंक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो र सूर्यास्त साँझ १७ः१३ मा हुनेछ ।

आजको राशिफल

मेष – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । तार्किक क्षमताले सम्मान दिलाउला । साझेदारीले फाइदा दिलाउनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुने योग छ । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । प्रेम र मित्रताको गाँठो कसिएर जाला । आयबल वृद्धि हुनेछ । कार्यगति बढ्ने र समस्याको समाधान मिल्नेछ ।

वृष – मिश्रित फलदायी समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ, तर अनावश्यक दौडधुपमा समय बित्नसक्छ, सजग रहनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सोची–सम्भी पाइला चाल्नु लाभप्रद रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । स्वास्थ्य सबल रहनेछ ।

मिथुन – कर्मबल वृद्धि भइ सोचेअनुसार परिणाम हासिल हुने समय छ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति होला । कुनै विशेष योजना अघि बढाउन खोजिरहनुभएको छ भने उचित समय छ, हिम्मतले काम लिनुहोला । आफ्नै प्रतिभाले फाइदा दिलाउने देखिन्छ । सहयोगीहरू भेटिनुका साथै नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । धन आर्जनको योग छ । प्रेमको बन्धन कसिने एवम् विपरीतलिंगीबाट लाभ मिल्नेछ । आरोग्यबल वृद्धि हुनेछ । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।

कर्कट – बोली र व्यक्तित्वको प्रभावले फाइदा उठाउन सकिने समय छ । मेहनतले धेरै काम बनाउन सकिएला । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ भने गुरुजनको सहयोग जुट्ला । व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । सुख वृद्धि होला । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।

सिंह – आजको दिन केही चुनौती बढ्न सक्छ । काम बिग्रने डरले त्यसै–त्यसै सताइरहला । पुरानो कुनै कारणले झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ, सजग रही व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख मिल्नसक्छ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । विवेकको सही प्रयोगले शत्रुपक्ष परास्त हुनेछ ।

कन्या – बोलीको भरमा काम सम्पादन हुने समय छ । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि जित तपाईंकै हुनेछ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

तुला – खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्न सक्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । अध्ययनमा पछि परिने योग भएकाले सजग रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागको भाव जागृत होला ।

वृश्चिक – काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । शुभ समाचार प्राप्त हुने समय छ । आफ्नै प्रयासले लाभ मिल्ने र व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । खर्च पनि केही वृद्धि हुने सम्भावना छ । तथापि, नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

धनु – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहने समय छ । भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न होला । मित्र एवम् सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने देखिन्छ । गरिएका कामको पनि राम्रै मूल्यांकन होला । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदको भाव जागृत होला ।

मकर – इर्ष्यालुजनको मनोबल कमजोर रहनाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने दिन छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् भने रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै हौसला जगाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ । तथापि, आलोचकहरू बढ्न सक्छन्, व्यवहारमा विशेष सावधानीको दरकार रहनेछ ।

कुम्भ – परिवारजनसँग आत्मीयता बढ्ने एवम् व्यवसायमा थप लगानी बढाउन सकिने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिएला । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने देखिन्छ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने योग छ । साहसिक काममा आकर्षण रहला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

मीन – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलताले पछ्याउला । विशेष मित्रजनबाट विभिन्न सहयोग तथा उपहार प्राप्त हुने योग छ । आयआर्जन पनि राम्रै होला । वैदेशिक कामकाजमा फाइदा हुनेछ । फलदायी यात्रा गर्ने मौका जुर्नसक्छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । रसरागको भाव जागृत हुनेछ ।