वास्तवमा आन्दोलनका नाममा भएका आगजनी, तोडफोड, लुटपाट र हिँसालाई पूर्णतः राजनीतिक वैद्यता दिने हो भने नेपाली राजनीतिमा आपराधिक संस्कृति मौलाउने प्रस्टै छ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘परिस्थितिले गोली हान्न आदेश दिएको’ भनेर बडो प्रस्ट, सुझबुझपूर्ण र जिम्मेवार अभिव्यक्ति दिएका छन् ।
✍ डा. प्रेमराज सिलवाल, अधिवक्ता

प्रचण्ड नामको ‘ब्रान्ड आउटडेटेट’ भयो । माओवादी ब्रान्ड ‘डेटएक्स्पायर्ड’ भयो । माओवादी केन्द्रसहितका केही वामपन्थी नामका ‘फन्टुस दल’हरूले तिनका नाम, झन्डा, चुनाव चिन्ह र राजनीतिक विचारलाई नै तिलाञ्जली दिएका छन् । ‘नयाँ बोत्तलमा पुरानो डेटएक्स्पायर्ड रक्सी राखेर फेरि जनतालाई मूर्ख बनाउने प्रयत्न गरिएको छ ।
गत भदौ ‘जेनजी विद्रोह’ नामको विध्वंशलाई हेर्ने दृष्टिकोणमा काङ्ग्रेस, पूर्वप्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल आदि दिग्भ्रमित देखिन्छन् । बाबुराम, प्रचण्ड आदि जेन्जी रिझाउन विश्वबाटै असफल भइसकेको ‘प्रत्यक्ष निर्वाचिन’को तोरी-नारा उराल्दैछन् । निर्वाचन, संसद्को पुनःथापना, संविधान, शासकीय स्वरुप आदिमा एमाले तुलनात्मक रूपमा प्रस्ट देखिन्छ । विचारविहीन/नेतृत्वविहीन अराजकता, हिंसा, आजगनी, लुटपाटलाई लोकप्रियतावादबाट प्रभावित भएर प्रचण्डले ‘महान् क्रान्ति’सम्म भन्न भ्याए । एमाले बाहेकका राजनीतिक दलहरूले जिब्रो चपाएर बोल्ने गरेका छन् । एमालेले चाहिँ अपराधपूर्ण विध्वंशलाई देशी/विदेशी आपराधिक संस्था तथा व्यक्तिहरूको राष्ट्रघाती कार्य भएको प्रस्ट बोलेको छ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘परिस्थितिले गोली हान्न आदेश दिएको’ भनेर बडो प्रस्ट, सुझबुझपूर्ण र जिम्मेवार अभिव्यक्ति दिएका छन् । वास्तवमा आन्दोलनका नाममा भएका आगजनी, तोडफोड, लुटपाट र हिँसालाई पूर्णतः राजनीतिक वैद्यता दिने हो भने नेपाली राजनीतिमा आपराधिक संस्कृति मौलाउने प्रस्टै छ । राजनीति, राजनीतिक विचार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आलोचना गर्न पाउने नागरिकको नागरिक र राजनीतिक अधिकारको सम्मान गर्नु पर्दछ । तर, अपराधलाई समर्थन गर्न सकिन्न ।
भीड, हल्ला, हुल, सस्तो लोकप्रियताको पछाडि लाग्ने प्रचण्ड महान् छेपारो हुन् । हत्याको आरोपमा सर्वाेच्चमा मुद्दा चल्दै गरेका प्रचण्ड र भ्रष्टाचारमा विशेष अदालतमा तारिक बोकेका माधव नेपाल दुवै फौज्दारी अपराधका आरोपी र अभियुक्त हुन् । दुवै राजनीतिका फेलर हुन् । दुवै साउनमा जमेको पोखरीमा फ्यालिएका उत्तिसका लौरा जस्ता मात्र हुन् । जसमा पानी छउन्जेल हरियो देखिन्छ, तर दुवै मृत हुन् । तिनमा फेरि पालुवा लाग्ला भन्ने ठान्नु र प्रचण्ड माधव जस्तो ‘डेटएक्स्पायर्ड’ समूहले नेपाली राजनीतिमा केही परिवर्तन ल्याउन सक्लान् भन्ने ठान्नु उस्तै हो ।
ओलीको आलोचना भएपनि उनी राजनीतिका बाघ हुन् । उनमा प्रस्टता छ । दृष्टिकोण छ । भिजन, मिसन र कन्सट्रक्टिभ एक्शन देखिन्छ । एमालेले २०८२ साल मंसिर २७-२९ गते काठमाडौंमा महाधिवेशन गर्न मैदानमा उत्रिसकेको छ । आन्दोलनका नाममा भएका अपराधीलाई कानुनी कारवाही हुनुपर्ने र नागरिकका जीउ, धन र सम्पत्तिको सुरक्षा हुनुपर्ने कुरामा एमाले प्रस्ट देखियो । उसले निर्वाचनमा राजनीतिक दलहरू नै प्रमुख खेलाडी भएकाले सुरक्षासहितको वातावरण हुँदा निर्वाचनमा सहभागी बन्ने कुरा भनेको छ । निर्वाचन नहुने, सुरक्षाको वातावरण नहुने र राजनीतिक तथा संवैधानिक अन्यौलको अवस्था आउने स्थितिमा संसद्को पुनःस्थापना अनिवार्य भएको कुरामा चाहिँ एमालेमात्र प्रस्ट रह्यो ।
प्रचण्डसहितका खुद्रे कम्युनिस्टको नयाँ बोत्तलमा पुरानो र डेटएक्स्पायर्ड रक्सी प्याक गरेर जनता ठग्ने ‘फन्टुस फन्डा’ले नेपाली राजनीतिमा निराशा थप्ने काम गरेको छ ।
राजनीति नीतिको पनि नीति हो । महाधिवेशनमा नयाँ नेतृत्वका अतिरिक्त मुलुकको सत्ता सञ्चालन, शासन–प्रशासन, देशका राजनीतिक, सामाजिक, सार्वजनिक, संवैधानिक र अनेकौँ विषय एवम् मुद्दाहरूको हल खोज्ने गरिन्छ । द्वन्द्वहरूको शान्तिपूर्वक र वैधानिक समाधान खोज्ने सूत्र पहिचान गरिन्छ । मुलुकमा एक दशकदेखि सङ्घीय गणतान्त्रिक संविधान लागु हुँदैछ । संविधान, सङ्घीयता, निर्वाचन प्रणाली र शासन-सत्ताप्रतिका अनेकौँ प्रश्न तथा सवाल सार्वजनिक र बौद्धिक जगतमा चर्चामा रहेकाले ती पनि एमाले महाधिवेशनका विषय हुन् । सडकबाट असंवैधानिक विधिबाट विघटन भएको संसद्को सिट सङ्ख्याको हिसाबले दोस्रो र सत्ताको नेतृत्वकर्ता रहेको दलको आफ्नो दृष्टिकोण र धारणाले चौतर्फी अर्थ राख्ने भएकाले ती विषयमा एमालेले आफ्नो धारणालाई राष्ट्रिय महाधिवेशनमार्फत प्रस्ट गर्नुपर्दछ ।
एमाले आफ्नो काठमाडौंमा हुने महाधिवेशनमा कार्यक्रमसहित प्रस्टतासहित होमिएको भए पनि नेपाली काङ्ग्रेसचाहिँ झन्-झन् अन्यौलग्रस्त, दिशाहीन र छरप्रस्ट बन्नुले लोकतान्त्रिक दलीय संस्कृतिमाथि कालो बादल देखिएका छन् । ‘ओलीलाई हटाउने’ र ‘जसरी पनि ओलीलाई विजयी गराइ छाड्ने’ रस्साकस्सीका बीच एमालेको राजनीतिक, वैचारिक र सांगठानिक लाइनचाहिँ प्रस्ट देखिन्छ । केन्द्रीय कमिटीको बैठकमा आएका धारणा हेर्दा ओलीले नै रिकमान्ड गर्ने प्रस्ट छ ।
राष्ट्रिय राजनीति एमालेको महाधिवेशनको विषयले तातिरहेको अवस्था भए पनि प्रचण्डसहितका खुद्रे कम्युनिस्टको नयाँ बोत्तलमा पुरानो र डेटएक्स्पायर्ड रक्सी प्याक गरेर जनता ठग्ने ‘फन्टुस फन्डा’ले चाहिँ नेपाली राजनीतिमा निराशा थप्ने काम गरेको छ । ४० वर्ष पार्टीमा एकलौटी तरमारेका प्रचण्ड फेरि नयाँ बोत्तलमा पुरानै आउटडेटेड मान्छेलाई टीकेनेता घोषित गरेर राजनीतिलाई ठगी खाने भाँडो र संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर गोरुको मासु बेच्ने प्रणाली हो भन्ने विरोधी तर्कलाई टेवा दिँदैछन् ।
प्रतिक्रिया