नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित काठमाडौंमा अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
‘बोडरलेस स्माइल फर स्माइल’ शीर्षकमा आइतबार (२३ कात्तिक) सुरु भएको प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । चित्रकला प्रदर्शनी सांंस्कृतिक आदानप्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने उनले बताए ।
प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानले मित्रराष्ट्रसँग गर्ने यस्ता कला प्रदर्शनीको आयोजना गर्ने काम एकदम सराहनीय भएको बताए। उनले विज्ञान र प्रविधि झै कलाले फड्को मारिरहेको धारणा राखे ।
जिञ्जा ग्यालरी जापानका निर्देशक तामाकी कानोले नेपालमा यस किसिमको प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले यस पटकको प्रदर्शनीमा बालकलालाई समावेश गरिएको जानकारी दिइन् ।
प्रदर्शनीका क्युरेटर तथा बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले प्रदर्शनीमा सहभागी सबै कलाकार तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशका ७५ कलाकृति छन् । जसमा नेपालबाट कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरु सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङसहित कलाकारहरु प्रदीप शाक्य, सुन्दर सिंख्वाल, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, आशा डङ्गोल, सम्झना राजभण्डारी, अनिल शाही, भाइराजा महर्जन, विनोद लिम्बू, विनोद प्रधान, दीपक आउजीका कलाहरु समावेश छन् ।
यस्तै जया शर्मा, जेनी घले, कर्मा टासी गुरुङ, कृष्ण लामा, मनोरमा खत्री, मिन थापा, मुना भडेल, नवीन नाल्बो, प्रदीपकुमार बज्राचार्य, प्रद्युम्न श्रेष्ठ, प्रमिला बज्राचार्य, राजन महर्जन, रितु थापा, रोशन प्रधान, सुभाद्री सुभा, सुरेम देशार, दिप्रोज गुरुङका कलाकृति रहेका छन् ।
जापानबाट ३५, जर्मनीका २ र कोरियाका तीन जना कलाकारका कलाकृति प्रदर्शनीमा रखिएका छन् । जेनजी आन्दोलनपछि कलाका अन्तररष्ट्रिय गतिविधिहरु घटेकामा पुन यस्ता प्रदर्शनीहरु सुरु हुन थालेको छ । प्रदर्शनीले आपसी सम्बन्ध विस्तारका साथै सिकाइ आदानप्रदान हुने विश्वास गरिएको छ ।पर्यटन प्रवर्द्धनका लागि यो प्रदर्शनीले सहयोगसिद्ध हुने विश्वास गरिएको छ । प्रदर्शनी यही कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया