मुलुक ध्वस्त हुँदैछ ‘नायक’ बन्ने र छान्ने ‘मूर्खतापूर्ण’ सोचले !

मुलुक ध्वस्त हुँदैछ ‘नायक’ बन्ने र छान्ने ‘मूर्खतापूर्ण’ सोचले !


‘जेन-जी’को नाममा २०८२ साल भदौ २३ र २४ गते भएको मुलुक बर्बाद तुल्याउने विध्वंश अदूरदर्शी र ‘ननपोलिटिकल’ भीडमात्र थियो भन्ने दिन-प्रतिदिन थप पुष्टि हुँदै गएको छ । एकातिर भूराजनीति, विश्व-परिस्थिति र ‘जेन-जी’को चाहनाविरूद्ध गएर सामाजिक सञ्जाल बन्द गर्दा कमजोरी भयो, जसले मुलुकको व्यवसायिक क्षेत्र ध्वस्तप्रायः तुल्यायो । अर्कातिर सडकमा आएर सार्वजनिक र सरकारी सम्पत्ति पोल्ने, चोर्ने, लुट्ने, निजी सम्पत्तिमा आगो लगाउने र लुटेर लैजाने कुरालाई अधिकार र दिल्लगीको विषय बनाइयो । हुलहुज्जत गर्ने, तथानाम भन्ने, अराजकता प्रदर्शन गर्ने र तोडफोड गर्ने प्रत्येक हुललाई ‘आन्दोलन’ भन्ने भाष्य विगतमा माओवादीले भित्र्यायो । विचारविहीन सिद्धान्तहीन ‘लुटेरा आन्दोलन’को कारण आन्दोलनमाथि नै मजाक भयो । अब मुलुक सिरिया, नाइजेरिया, बंगालादेश जस्तो अवस्थामा जाने खतरा देखियो ।

आन्दोलनमा नागरिकका मुद्दा, नागरिक सहभागिता, निश्चित दर्शन, उद्देश्य, विधिसम्मत्त नेतृत्व, औपचारिक र सार्वजनिक कार्यक्रम, जिम्मेवारी, व्यवस्थापन, राजनीतिक, सामाजिक र सार्वजनिक मागहरू, पूर्वसूचना, नागरिक जागरण तथा सचेतना, प्रक्रिया (सानोबाट ठूलो), विधि, कुन माग कसले कसरी पूरा गर्ने हो तथा आधिकारिक नेतृत्व समेत भएको हुन आवश्यक हुन्छ । सडकमा हुने अराजक प्रदर्शन, लुटपाट, हिंसा, चोरी, आगजनी, तोडफोड, दिशाहीनता, लक्ष्यहीनता, अराजक भीड, जिम्मेवारी लिन नसक्ने अघोषित नेतृत्व र नागरिकको सरोकार नजोडिएका तथा विषय आन्दोलनको ब्याख्यामा पर्दैनन् ।

हिरोको खोजीमा भएकालाई जिरो बनाउने प्रवृत्तिले मुलुक हायलकायल बन्दैछ । भीडले तोडफोड, हानी, नोक्सानी, सरकारी र सार्वजनिक सम्पत्तिको क्षति, बिगार्ने र भत्काउने गर्न सक्ने मात्र देखियो । राज्य, समाज र मुलुकलाई गति दिन र दिशानिर्देश गर्नचाहिँ निश्चित विचार, सिद्धान्त, कार्यक्रम, व्यवस्थापन, योग्यता, क्षमता, दक्षता, संगठन, गगिशीलता र उद्देश्य अत्यावश्यक हुन्छन् । जेन-जीको नाममा भएको अराजक भीड आन्दोलनको नाममा भएको दिल्लगीले पेशा र व्यवसायमा लगानी गर्ने सोचबाट व्यवसायीलाई टाढा धकेल्यो ।

एक्लो अभियन्ताको अभियानमा पनि शक्ति र तागत हुन्छ । जस्तो भारतमा ‘बिट्रिस भारत छोडो’ आन्दोलनमा सन् १९४२ देखि सन् १९४७ को अवधिमा महात्मा गान्धी सानो समूहका साथ शान्तिपूर्ण हडताल (अनसन) गरे । गान्धीको विचार, दृष्टिकोण, मुद्दा, अभियान, सादगी जीवन, चरित्र, निष्ठा, त्याग र शान्तिपूर्वक गरिएको निरन्तरताले कार्य गरेको प्रस्ट हुन्छ ।

जनताका निर्वाचित प्रतिनिधिद्वारा निर्मित लोकतान्त्रिक गणतान्त्रिक संविधानको विरूद्ध अराजक र गैरसंवैधानिक हर्कत गर्ने अधिकार कसैलाई छैन । मुलुकभर आन्दोलनका नाममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, लुटपाट र चोरी गर्नेलाई कानुनी कारवाही भएन भने मुलुक पूरै अराजक बन्न पुग्दछ । शान्ति सुरक्षामा आवश्यक नेपाल प्रहरीलाई मजाक बनाएर बर्दी उतार्न भनिएकाले व्यवसायिक सुरक्षाको वातावरण ध्वस्त बनायो । निजी र सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गर्ने छुट दिने हो भने मुलुक सिरियाको द्वन्द्वको अवस्थामा पुग्न बेर लाग्दैन । नेपाली नागरिकलाई लोकतान्त्रिक नेपालमा संविधानले सबैका अधिकार सुनिश्चित गरेको अवस्था छ । नागरिक र जनताका आधारभूत राजनीतिक, सामाजिक अधिकार सुरक्षित छन् । सडकमा हुने उत्तेजक प्रदर्शनका नाममा हुने जेलाई पनि ‘आन्दोलन’ भन्ने र सोच्ने प्रवृत्ति लोकतन्त्रको लागि जाजमर्दाे र मजाक हो ।

‘जीन-जी’को नाममा भएको अराजकता विचारविहीन भीडको ‘फर्जी आन्दोलन’ मात्र थियो । त्यस्तो भीडतन्त्रबाट मुलुक बर्बाद हुने बाहेक केही हुने होइन । यसलाई वाहवाही गर्ने, हौस्याउने सोच र संस्कृतिले मुुलुक सिरिया, नाइजेरिया र बंगलादेश बन्नेतर्फ अघि बढ्यो । यसले सबैलाई बर्बाद पार्ने मात्र हो । आज आगो लगाएर खुसी हुने र शक्तिमा पुगियो भनेर रमाउनेहरूको सम्पत्तिमा फेरि अर्काे दिन त्यसैगरी अर्काेले आगजनी, लुटपाट र तोडफोड गऱ्यो भने के हुन्छ ?

हिन्दी फिल्म नायकमा अनिल कपुर हिरो र खलनायक अमरिश पुरी छन् । मुख्यमन्त्री (सिएम)को भूमिकामा रहेका खलनायक पुरीलाई नायक अनिल कपुरले राज्यमा सुशासन नभएको, बेथिति भएको, भ्रष्टाचार बढेको र प्रणालीले काम गर्न नसकेको भनेर पुरीको तिखो आलोचना गरेपछि पुरीले त्यसोभए कसरी शासन सञ्चालन गर्ने हो एकदिका लागि म सत्ता तिमीलाई सुम्पन्छु चलाएर देखाउनु भन्ने चुनौती दिन्छन् । नायक कपुरले पुरीको चुनौती स्विकार गर्दै पद सम्हाल्छन् । त्यसपछि कपुरले बिजुली गतिमा भ्रष्टहरूलाई ठाउँको ठाउँ कारवाही गर्दछन् । राज्यमा सुशासन, विधि र कानुनको कार्यान्वयन गर्न उनी सरकारी तथा सार्वजनिक निकायमा दौडिन्छन् । नायकले दिनभरमा व्यापक सुधार र परिवर्तन गरेको देखिन्छ । उनको शासनशैलीलाई जनता र नागरिकले समर्थन गर्दछन् । फिल्मले राजनीतिक, सार्वजनिक र सामाजिक जीवनमा परिवर्तन ल्याउन सक्ने नायक आवश्यक हुन्छ भन्ने सन्देशचाहिँ दिएको छ । त्यो फिल्म हो । वास्तविक जीवन र नाटकमा ठूलो भिन्नता हुने कुरा नायक फिल्मबाट प्रस्ट हुन्छ । मान्छेमा फिल्ममा देखाइएको जस्तो अदभूत भूमिका खोज्नु मूर्खतापूर्ण सोचले मुलुक ध्वस्त पार्दैछ ।

फिल्ममा जस्तो ‘नायक’ सत्तामा खोज्ने प्रवृत्ति नेपालमा मात्र होइन भूराजनीतिमा त्यस्ता ‘नायक’ पात्र सफल भएको उदाहरण छैन । सन् २०१३ पछि सत्तामा आएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चावेजलाई त्यहाँ नायक सोचियो । राष्ट्रवादी उग्र भाषण गर्दै सत्तामा आएपछि मुलुकमा व्यापक सुधारको अपेक्षा गरियो । तथापि भेनेजुएला सर्वाधिक भ्रष्ट, कुशासन, गरीब र द्वन्द्वग्रस्त अवस्थामा पुग्यो । युक्रेनमा वास्तविक हिरोलाई सत्ता राजनीतिको समेत ‘हिरो’ बनाइँदा सन् २०२२ फेब्रवरी २४ देखि रुसी सैन्य आक्रमणको सामना गर्नु पऱ्यो । पाकिस्तानमा सन् २०१८-२२ को अवधिमा परम्परागत पार्टीहरूलाई ‘चोर’को आरोप लगाएर नायकत्वको भूमिकासहित सत्ता राजनीतिमा आएका इमरान खान आफैं भ्रष्टाचारमा मुछिए । भारतको नयाँ दिल्लीमा समेत भ्रष्टाचारको मुद्दा उठाएर सत्तामा आएका ‘नायक पात्र’ अरविन्द्र केजरीवाल सन् २०१३ देखि सन् २०२४ सम्म मुख्यमन्त्री रहे । दिल्लीको आर्थिक, व्यवसायिक र समग्र अवस्थामा तात्विक सुधार तथा परिवर्तन भएन । फिलिपिन्समा राष्ट्रपति तुर्तेतलाई नायक ठानियो । उनले हजारौँको गैरकानुनी हत्या गरे । दक्षिण कोरियामा पनि केही समयपूर्व पूर्वराष्ट्रपति युन सुक यलले नागरिक स्वतन्त्रता खोसेर निरंकुशता लाद्न खोजे । ‘मेक अमेरिका ग्रेट अगेन’को नारामा सत्तामा आएका राष्ट्रपति डोनाल्ड ट्रम्पको उग्र राष्ट्रवादी ‘नायक’ भूमिकाले विश्वको अर्थराजनीतिमा समस्या चर्काउँदैछ । यस्ता बहुलट्ठी पाराले ‘हिरो’ खोज्ने प्रवृत्तिले व्यापार, पेशा र व्यवसायिक वातावरण ध्वस्त र त्रस्त पार्दैछ ।

विश्व इतिहासमा अनेकौँ क्रान्ति, संघर्ष र आन्दोलनहरू भए । सबै आन्दोलनले विनाश मात्र गरेनन् । क्रान्तिका कारण पश्चिमा मुलुक विकास, व्यापार र समृद्धिमा माथि पुगे । नेपालमा भने आन्दोलनको मानक र भाष्यलाई विकृत बनाइँदा र ‘चमत्कार गर्ने हिरो खोज्ने प्रवृत्ति’ले मुलुकको निजी क्षेत्र, व्यापार र व्यवसायिक वातावरण तहसनहस हुँदैछन् । नयाँ पेशा, व्यापार र उद्योगमा युवाले ‘रिक्स’ मोलेर लगानी गर्न सक्ने अवस्था भएन ।

सन् १२१५ मा बेलायती राजा जोन (११६६-१२१६) द्वारा नागरिकको दैनिक जीवनमाथि हुने गरेका हस्तक्षेपबाट आजित भएर नागरिक विद्रोह भएपछि राजाले बाध्य भएर म्याग्नाकार्टा नामको कानुन ल्याउनु पऱ्यो । यहीँबाट उसले विकास र समृद्धिको मार्ग पहिल्यायो । बेलायती विधिशास्त्री थोमस हब्स (१५८८-१६७९) ले पादरी र धर्मगुरुको शासनको विरोध गरेपछि संसद सर्वशक्तिमान भयो । शक्तिको दूरुपयोग गरी अर्काे मुलुकको भूगोल कब्जा गर्ने प्रवृत्तिले युरोपमा ३० वर्षसम्म भीषण युद्ध गरियो । युद्धबाट हार खाएर उनीहरूले सन् १६४८ मा वेष्टफालिया सन्धिमा हस्ताक्षर गरे । जसले युद्ध थोपरेर ‘नायक’ बन्ने सोचको अन्त्य गऱ्यो । ‘चमत्कार गर्ने नायक होइन प्रणालीको निर्माणले मुलुक बन्ने हो’ भन्ने कुरा युरोपियनले अनुभवबाट सिके । त्यसपछि युरोपले कुनै एउटा चमत्कारिक व्यक्तिको शासनमा होइन प्रणालीको विकासमा जोड दिन थाल्यो । यद्यपि जर्मनमा नाजी पार्टीको गठनपछि शक्ति र सत्तामा आएका एडोल्फ हिटलर (१८८९–१९४५) द्वारा आफूलाई जर्मनको हिरोको रूपमा प्रस्तुत गरे । सन् १९३९ देखि सन् १९४५ सम्म दोस्रो विश्वयुद्ध भयो । ६० लाख बढीको हत्या गरियो । भौतिक संरचना र साधनको क्षतिको वास्तविक तथ्य निकाल्न सकिएन । मान्छे जति नै शक्तिशाली र क्षमतावान भए पनि प्रणालीले काम गरेन भने त्यो टिक्दैन । ‘एउटै मान्छेले एक्लै चमत्कार गर्ने कुरा’ फिल्ममा मात्र सम्भव हुन्छ ।

नेपालमा पटकपटक ‘चमत्कारिक हिरो शासक’को मात्र खोजी भयो । राज्य विधि र प्रणालीमा चल्ने राजनीतिक, संवैधानिक र कानुनी संरचना हो । रोमन र ग्रिक शासन कालमा नै जनताका प्रतिनिधिको चयन गर्ने गरिएको देखिन्छ । यद्यपि चर्च, धर्म, अलौकिक शक्ति, पादरी, राजा र सेनापतिका नाममा ज्यादि अन्याय तथा अत्याचार भएकाले विश्वमा दर्जनौँ पटक राजनीतिक, सामाजिक र कानुनी द्वन्द्व र सङ्घर्ष हुनपुग्यो ।

नेपालको सत्ता राजनीतिमा ‘चमत्कार गर्ने हिरो’ खोज्दा-खोज्दा नागरिक वाक्कदिक्क भइसकेका छन् । एउटालाई ‘हिरो’ मान्यो छिट्टै ‘जिरो’ हुने गरेकोले व्यवसायिक वातावरण त्यसको चेपुवामा पर्दैआयो । शान्तिपूर्ण विरोध गर्न पाइन्छ तर कानुन हातमा लिएर ‘जेपनि गर्ने’ छुट छैन । तथापि हिरो खोज्ने प्रवृत्तिले सत्ता-राजनीतिमा द्वन्द्व बढेकोबढ्यै भयो । आन्दोलन भनेपछि ‘जेपनि गर्न छुट’ हुने भन्ने भाष्य निर्माण गरिएकाले मुलुक सिरिया, यमनको हालतमा पुग्ने खतरा चुलियो, यो अति नै दुर्भाग्यपूर्ण छ ।