काठमाडौं-निजगढ फाष्ट ट्र्याक : जसले अर्थतन्त्रलाई कोल्टे फेराउन सक्छ

काठमाडौं-निजगढ फाष्ट ट्र्याक : जसले अर्थतन्त्रलाई कोल्टे फेराउन सक्छ


केवल राजनीति, आन्दोलन, चुनाव, यो पार्टी-त्यो पार्टी, विद्रोह, धम्की, वादविवाद र अराजकताको यो मौसममा आशाको दियो बाल्ने एउटा आयोजनाको कुरा गरौँ । बहुआयामिक महत्वको आयोजना काठमाडौं-निजगढ फाष्ट ट्र्याकबारे केही लेख्दैछु । किन पनि यस विषयमा लेख्दैछु भने, पहिलो त यस आयोजना सम्पन्न हुनुपर्ने थपिएको समय सिमा ०८३ चैत्र अब धेरै टाढा छैन, जम्माजम्मी १७ महिना बाँकी छ । यही मेलोमा जनताको भरोसाको केन्द्र नेपाली सेनाले पनि यस आयोजना समयसिमामै सक्छौँ भनिरहेको छ । दोश्रो- पंक्तिकारले हरेक नयाँ सरकारलाई झक्झक्याउन पनि यसबारे लेख्न आवश्यक ठानेको छ ।

देशको समृद्धिमा वृहत्तर टेवा दिने बहुआयामिक महत्वको यस आयोजना काठमाडौं-निजगढ फास्ट ट्र्याकको निर्माण नेपाली सेनाद्वारा भइरहेको छ । ०७४ साल जेष्ठ १४ गते तत्कालिन प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास भइ निर्माणाधीन यस आयोजना समय-सीमामै सम्पन्न नहुँदा लागत बढिरहेको छ ।

फास्ट ट्र्याकको कार्य-प्रगति

चालु आर्थिक वर्ष ८२/०८३ को असोज महिनासम्ममा यसको भौतिक प्रगति ४३.५ प्रतिशत र ४४.७ प्रतिशत वित्तिय प्रगति भएको अयोजना निर्देशक धमेन्द्र कुमार झाले बताएका छन् । खासगरी सेनाले १२ वटा प्याकेज बनाएर फास्ट ट्र्याकलाई निर्माण गरिरहेको छ ।

नेपाली सेनाले बनाइरहेको यस राष्ट्रिय गौरव आयोजनाको ०७६ साल भदौ १ गते मात्र डिपिआर स्वीकृत भएको थियो । ०७४ सालदेखि नै थालनी भएपनि डिपिआर स्वीकृत हुन समय लाग्दा यसको ढिलाइ भएको देखिन्छ । तर केही वर्षयता यसको काम रफ्तारमा अघि बढिरहेको छ । ७१ किमी लम्बाइ रहेको आयोजनाले बागमती प्रदेश र मधेश प्रदेशका गरी ४ जिल्ला छोएको छ । यसमा साना-ठुला गरी १३ वटा सुरुङमार्ग निर्माण हुनुपर्नेमा ७ वटामा काम भइरहेका छन् । जसमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ ।

जे होस्, फास्ट ट्र्याकको काम हुँदै नभएको होइन । यसबीच ५ हजार १ सय ७२ रोपनी जग्गाको मुआब्जा पनि दिइसकेको छ । रुख कटान तथा वृक्षरोपण जस्ता कामअन्तर्गत हालसम्म ४९ हजार ६३४ वटा रुख कटान गरिएको र त्यसको बदलामा ७ लाख भन्दा बढी बिरुवा रोपिएको जनाइएको छ । १२ वटा प्याकेजमध्ये ११ वटामा तीव्र काम भइरहेपनि यसको प्रस्थानबिन्दु खोकना इलाकामा पर्ने प्याकेजमा भने केही झमेला अझै कायम छन् । खासगरी फाष्ट ट्र्याकको खोकनास्थित सुरुबिन्दु निर्धारण, जग्गा अधिकरण तथा सवारी आवागमन ब्यवस्थापन जस्ता विषयमा समस्या अझै सुल्झिएका छैन । त्यसबाहेका अवरोध यस आयोजनाका लागि अन्य खासै छैनन् ।

तर नाम जस्तै फास्ट अर्थात् तीव्र काम भएको भने होइन । त्यसमा नेपाली सेनामात्र होइन, नेपाल सरकारका सम्बद्ध सबै निकाय, सार्वजनिक खरिद ऐन, नियम, नियमावली सबै जिम्मेवार छन् । सबै तप्काबाट जिम्मेवार हिसाबले साथ-सहयोग रहने र काम हुने हो भने यस आयोजनाको निर्माण अबको १७ महिनाभित्रै गर्न नसकिने पनि होइन । भारत तथा चीनमा एकाध वर्षमै स्मार्ट सिटीहरू नै तयार हुन्छन् भने नेपालमा एउटा आयोजना बनाउन धेरै वर्ष लाग्नुपर्ने कारण के ? यसका १२ मध्ये ११ वटा प्याकेजमा धमाधम काम भइरहेको छ भने एउटा प्याकेजमा केही अवरोध देखिन्छ । खासगरी मुआब्जा तथा स्थानीय अवरोधका कारण । त्यो फुकाउने हो भने १७ महिना पनि थोरै समय होइन । किनकि भौतिकरूपमा पनि यस आयोजनाको धेरै काम भइसकेका छन् । निर्माणाधीन पुलहरु तथा सुरुङहरू करिव-करिव बनिसक्न लागेका छन् । त्यसकारण यस आयोजनाले धेरै आशा दिलाएको छ ।

दशकौँदेखि योजनामै सीमित यस आयोजनाको निर्माण कार्य सुरु भएयता खासगरी तराई र उपत्यकाबासी उत्साहित छन् । नेपाली सेनाले उच्च महत्व दिएको र सेनाको पनि सक्षमता विश्व समुदायले देख्ने र इतिहास रच्ने यस आयोजना वास्तम्बमै सबै हिसाबले महत्वपुर्ण छ । यसले तराइ-मधेशको समृद्धिको ढोका खोल्ने विश्वास छ । ५ वर्षमै सक्नेगरी सेनाले निर्माण र व्यवस्थापनको जिम्मा थालेको भएपनि कोरोनाजनित समस्या, अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट र सार्वजनिक खरिद ऐनका नियमावलीसम्बन्धी व्यवस्थाअनुसार आयोजनाको भौतिक प्रगति सुस्त हुन गएको भनाइ रहँदै आएको छ । तर पछिल्लो समय फास्ट ट्र्याकका सबैजसो ठेक्का लागेर धमाधम काम भइरहँदा यसले एउटा आशाको दियो बालेको छ ।

मुलुककै ठुलो शहर तथा केन्द्रिय राजधानी काठमाडौंलाई करिव सवा घण्टामै जोड्ने फाष्ट ट्र्याक निर्माण हुँदा विशेषगरी तराईवासीले प्रचुर लाभ उठाउन सक्नेछन् । कृषि उत्पादनको लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिरहा, सर्लाही, धनुषासम्मका जिल्लाहरूले काठमाडौंलाई सहजै आफ्नो बजार बनाउन सक्छन् । फलस्वरुप देशले तेस्रो मुलुकहरुबाट खर्बौंको तरकारी तथा खाद्यान्न आयात गरिरहेको कुरा यथेष्ट घटाउन सक्छ । किनकि काठमाडौंबाट नजिकैको जिल्ला जस्तो कि काभ्रे, पाँचखाल लगायतले अहिले पनि तरकारीमा थोरै भरथेग गरिरहेको छ । त्यसमा अब सवा घण्टामै आइपुग्ने बारा, पर्सा, रौतहट, मकवानपुर लगायतले पनि सघाउने छ । त्यसको सकारात्मक असर सोझै अर्थतन्त्रमा पर्ने हुन्छ । किनकि काठमाडौं उपत्यका अहिले खाद्यान्न तथा कृषि उपजमा पूरै परर्निभर छ । जटिल भौगोलिक अवस्था र लम्बेतान एवम् गुणस्तरहीन रोडको अप्ठ्याराका कारण त्यसको फाइदा भारतले लिइरहेको छ । आयातमार्फत नेपालीहरूको पैसा सिधै भारत गइरहेको छ ।

नेपालले हिजोआजका वर्षहरूमा कृषिजन्य वस्तुको आयातमा मात्रै वार्षिक ४ खर्ब हाराहारी ब्यापारघाटा ब्यहोरिरहेको छ । काठमाडौ उपत्यकामा अत्याधिक रुपमा थुप्रिएका मान्छे र तीनको भातभान्सा चलाउन ठुलो पैमानामा कृषि उपजको जरुरत पर्ने हुन्छ । त्यसको परिपूर्ति अब भारतले होइन फाष्ट ट्र्याकले छुने छेउछाउका जिल्लाहरूले गर्नेछन् । अर्को, तीन सय कि.मि पार गरेर ल्याइने सामान भन्दा ७१ कि.मि.मै काठमाडौं आइपुग्ने सामान उपभोक्ताको लागि स्वाभाविक रुपमा सस्ता हुन्छन् । जसले जनताको चुलोचौको सुलभ हुन्छ । अर्को महत्वपुर्ण त फास्ट ट्र्याक सम्पन्न भएपछि पेट्रोलियम पदार्थको ढुवानीमा मात्र नै वार्षिक १० अर्ब बढीको बचत हुने अध्ययनले देखाएको छ । त्यस हिसाबले यस आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपाली अर्थतन्त्रले कोल्टे नै फेर्ने विश्वास गर्न सकिन्छ ।

विकास निर्माणको मुख्य आधारशिला भनेको खासगरी अत्याधुनिक सडक, बिजुली, खानेपानी तथा टेलिकम्युनिकेसन जस्ता अत्यावश्यक पुर्वाधारहरूको क्षेत्रमा हुने प्रगति नै हो । निश्चय नै त्यसले अनेकन अवसरहरू सिर्जना गर्छन् । बजारविहीनहरूलाई बजार सिर्जना गर्छ । अनेकन समस्या झेलिरहेका काठमाडौं, ललितपुर जस्ता शहरहरूलाई समस्याबाट निकास प्रदान गर्छ । देशकै मुहार बदल्न सक्ने र मुलुककै आधा जनसङ्ख्यालाई प्रत्यक्ष वा परोक्षरूपमा यस आयोजनाले सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

यस आयोजना निर्माणका लागि पछिल्लो परिमार्जित डीपीआर अनुसार २ खर्ब ११ अर्ब ९३ करोड रकम लागत लाग्नेछ । नेपाली सेनाका अनुसार यस आयोजनमा ९० ओटा पुल पर्छन् । ती पुलमध्ये कतिपय विशिष्ट प्रकृतिका अग्ला-अग्ला छन् र सबै पुलको कुल लम्बाई करिव १० किमि जति हुन आउँछ । खासगरी पुलहरूको निर्माण कार्यले नै यस आयोजनामा धेरैजसो समय खर्च भएको छ । नेपाल आफैमा धेरैजसो पहाडी भूभागले बनेको अप्ठेरो भौगोलिक संरचनाले गर्दा राजमार्ग निर्माणको क्रममा केही जटिलता अवश्य हुन्छन् ।

फास्ट ट्र्याक बन्दा अर्थतन्त्रलाई लाभैलाभ

नेपाललाई नयाँ बनाउन र विकासको स्वरुप बदल्न काठामाडौ-निजगढ फास्ट ट्र्याक उच्च प्रभावकारी आयोजना रहेकोमा सबै सहमत छन् । अन्य आयोजनाको तुलनामा लाभ-हानीको हिसाबले पनि यस आयोजना अत्याधिक लाभदायी छ । धेरै जनसंख्याले लाभ उठाउन सक्ने कारण पनि यसको महत्व अहम् छ ।

खासगरी फास्ट ट्र्याक काठमाडौको महँगी, अभाव, असुरक्षा व्यवस्थापन गर्न, जनसाङ्ख्यिक स्थान्तरण, फलफुल तथा तरकारीमा आत्मनिर्भरता, अवसरहरुको फैलावट र विकेन्द्रीकरण लगायतको कारणले यो आयोजना महत्वपूर्ण छ । फास्ट ट्र्याकले काठमाडौ उपत्यकाका ६० लाखभन्दा बढी मानिसका लागि महत्वपूर्ण सरोकार र सम्बन्ध राख्छ । तिनको आधारभुत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्दछ ।

विश्वविख्यात विकासवीदहरूले पूर्वाधार निर्माण नै विकासको पहिलो सर्त हो भन्ने गरेका छन् । त्यो वास्तविकता पनि हो । नेपालमा भने यथोचित पूर्वाधार विकास नै हुन सकेको अवस्था छैन । यदि तराई, पहाड र हिमालबीचको अन्योन्याश्रित सम्बन्धलाई व्यवस्थित गर्ने हो र ठुला पूर्वाधार निर्माणमा अग्रसरता लिने हो भने नेपालको विकास धेरै टाढाको विषय हुँदैन । नेपालको दीर्घकालिन विकासको लागि बहुआयामिक महत्वका ठुला सडकको निर्माण अति आवश्यक छ । त्यसमा पनि घना जनसङ्ख्याले घेरिएको काठमाडौंसँग सिधै जोडिने फास्ट ट्र्याक जस्तो आयोजनाको ठुलो महत्व रहन्छ । केन्द्रीय राजधानी काठमाडौमा हाल महँगी, अभाव र अराजकता ब्याप्त छ । यसो हुनुमा छिटो-छरितो दूरीको सडक अभावले ठूलो भुमिका खेलेको छ ।

धेरैजसो मान्छेहरू सुविधाको लागि काठमाडौं उपत्यकामा नै थुप्रिएका छन् । काठमाडौंको तुलनामा देशका अन्य स्थान विकासको दृष्टिले पछिपरेका कारण आम मान्छेको नजर यसैमा अडिएको छ । निश्चय पनि फास्ट ट्र्याक जस्तो छोटो दुरीमै तराईसँग जोडिने पूर्वाधार निर्माण भएमा राजधानीको जनघनत्व पनि घट्न सक्छ । साथसाथै राजधानीको धेरै समस्याको समाधान हुन्छ । जस्तो काठमाडौं निजगढ फाष्ट ट्रत्याक (७१ किमि) काठमाडौंलाई लामो समयदेखि जोड्दै आएको मुगलिङ्ग सडकखण्ड (२६२ किमि) भन्दा १९१ किमि छोटो, गुणस्तरीय र सिधा हुनेछ । जसले मुगलिन सडक खण्डद्वारा काठमाडौं उपत्यकामा आयातनिर्यात हुने बस्तुहरू भन्दा फास्ट ट्र्याकबाट आयात-निर्यात हुने बस्तुहरू स्वतः धेरै सस्ता, ताजा हुनेछन् ।

एसियाली विकास बैंक र विश्व बैंक लगायत विभिन्न संस्थाहरूले गरेको अध्ययनहरूले पनि फास्ट ट्र्याकको प्रयोगबाट नेपालले वार्षिक १० अर्बभन्दा बढीको पेट्रोलियम पर्दाथ बचत गर्ने देखिएको छ । फास्ट ट्र्याक प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आधारस्तम्भ समेत हो । यी दुवै आयोजना एकअर्कामा अन्तरसम्बन्धित छन् । यी आयोजनाहरूले काठमाडौ उपत्यकामा संकटको रुपमा विकसित हुँदै आएको पानीको समस्या, इन्धन समस्या, फोहोरमैला समस्या हल गर्न धेरै हदसम्म योगदान दिनेछन् । अर्को काठमाडौंकेन्द्रित विकासलाई यसै आयोजनाहरूमार्फत तराईसम्म पुऱ्याउन सकिन्छ, जसले गर्दा रोजगारी र आयआर्जनका नयाँ-नयाँ सम्भावनाहरू पहिलिन्छन् । गुणस्तरहीन सडक प्रयोग गर्दा दिनहुँजस्तो हुने सडक दुर्घटना कम गर्न सकिन्छ । हरेक हिसाबले यी दुई आयोजना मुलुकको लागि फलदायी छन् । यी आयोजना शीघ्र निर्माण गर्नु राज्यको दायित्व हो ।