मेरो घरको बगैंचामा रहेको गुलाफको बोटमा जुरेलीले गुँड लगाई केही बच्चासमेत काडिसकेकी रहिछ । लगभग पाँचफिटे गुलाफको बोटमा रहेको त्यो गुँडका बच्चा मसिनो स्वरमा कराउन थालेपछि मात्र त्यसबारे जानकारी भयो । गएर हेर्दा पहिला त मैले देखिनँ, तर जब आँखै नखुलेका र जिउमा रौं पनि नभएका स–साना बच्चा चल्मलाए त्यसपछि मात्र मेरो आँखा पर्यो, त्यहाँ चारवटा बच्चा रहेछन् । मेरी श्रीमती पूजाले आफ्नो मोबाइलबाट गुँडसहित ती बचेराको फोटो खिचिन् । सायद हाम्रो चहलपहल बचेराहरूलाई आफ्ना आमाबाबु आएझैं भएछ क्यारे सबैले चुच्चो आकाशतिर फर्काई मुख बाए । हामीले केही खानेकुरा मुखैमा हालिदिने पनि विचार गर्यौँ तर उसलाई दिनुपर्ने खानाको प्रकृति हामीले तय गर्न सकेनौँ । नजिकै हाँगामा बसेका ती बच्चा जुरेलीका आमाबाबु पखेटा उचाली–उचाली हामीलाई धम्की हो वा अनुरोध गरिरहेका थिए । हामीले तिनका बालबच्चालाई कतै क्षति पुर्याइदिन्छौँ कि भन्ने उनीहरूलाई परेको हुँदो हो । त्यसैले पुच्छर उचाली–उचाली हामीलाई तर्साउने चेष्टा गरिरहेका थिए । हाम्रो उद्देश्य बचेरालाई क्षति पुर्याउने नभई मद्दत गर्ने नै थियो भन्ने जुरेलीका जोडीले बुझून् पनि कसरी ?
त्यस दिनदेखि हामीले आफ्नो परिवारमा केही सदस्य थपिएको महसुस गर्न थाल्यौँ । बिहानबेलुका ती बचेरालाई कुनै बाधा नपुर्याईकन हामी हेर्न थाल्यौँ । यसरी हेर्दाहेर्दै हरेक दिन ती केही बढेको महसुस हुन्थ्यो । त्यहाँ बच्चा छ भन्ने थाहा पाएको क्षणदेखि नै हामीलाई एक काल्पनिक डरले सताउन थाल्यो । घरमा दुईवटा कुकुर सदस्यसमेत रहेका कारण ती कुकुर कुनै पनि बेला बचेराहरूका लागि खतरा बन्न सक्छन् भन्ने आशङ्काले हामीलाई सताउन थाल्यो । वास्तवमै कुकुरहरूले थाहा पाए भने त त्यो गुलाफको बोट सजिलैसँग हल्लाएर ती बच्चालाई तल झारी तिनलाई मार्न सक्थे । हामी श्रीमान्–श्रीमती नै ती बच्चाहरूलाई जोगाउने उपाय सोच्न थाल्यौँ । हाम्रो सोचको केन्द्रबिन्दु कुकुरबाट हुन सक्ने खतरासँग बढी केन्द्रित थियो । मैले गुँडसमेत उठाई घरपछाडि रहेको अलि अग्लो नासपातीको बोटमा सार्ने विचार गरेँ, तर त्यसरी लैजाँदा उसका आमाबाबुले हेर्छन्–हेर्दैनन् या देख्छन्–देख्दैनन् भन्ने पिर पर्यो । पूजाले पनि त्यसलाई बिजुलीको मिटरमाथि कतै सार्ने हो कि भन्ने राय दिइन्, तर त्यहाँ कसरी गुँड अड्याउने भन्ने चिन्ता भयो । अन्तमा हामीले यो निर्णय गर्यौँ कि आँखा खोलेर पखेटा पनि अलिक बढेपछि मात्र कतै सारिदिऊँ, अहिले यही ठाउँमा कुकुरबाट बचाउने प्रबन्ध मात्र मिलाऊँ । यो सोच आएपछि हामीले बचेरा यदि गुँडबाट खसिहाले पनि भुइँमा नबज्रिऊन् भनी सुरक्षा व्यवस्था मिलायौँ । गुलाफका पातले छोपिएका गुँडका बचेरा अब हाम्रा लागि निकै सरोकारको विषय बनिसकेका थिए । हामी ती बच्चाहरूलाई छिटोभन्दा छिटो आफैं आकाशमा उडेको देख्न चाहन्थ्यौँ । ती दिन नआउन्जेल हामी तिनको पूरापूर सुरक्षा गर्न चाहन्थ्यौँ ।
त्यसरी गुँडमा जुरेलीका बचेरा देखेको करिब तीन दिन मात्र भएको थियो, अचानक पूजाले आँखाभरि आसु पार्दै जुरेलीका बच्चाहरू गुँडमा नभएको बताइन् । म पनि हतार गर्दै त्यो गुलाफको बोटमा पुगेँ र हातले पात पन्छाई बच्चा खोज्न थालेँ । छेस्काछेक्सीले बनेको गुँड मात्र त्यहाँ थियो तर बचेरा थिएनन् । मलाई पनि खाली गुँड देखेर ज्यादै नरमाइलो र दु:ख लाग्यो । त्यसैक्षण मैले बुझेँ ती चराका बच्चाहरूले मलाई पनि खुसी दिन थालिसकेका रहेछन् र म पनि तिनलाई औधी माया गर्न थालिसकेको रहेछु । वास्तवमै खाली गुँडले हामी पति–पत्नीलाई निकै दु:खी तुल्यायो । बचेरा कहाँ गए होलान् भनेर खोजी गर्दै जाँदा थाहा भयो कि एक बिरालो कतैबाट आएर सबै बच्चा खाइदिएको रहेछ । जुरेलीका बचेरालाई बिरालोबाट पनि खतरा होला भन्ने त हामीले सोच्नै सकेका रहेनछौँ । बिरालोसम्बन्धी नयाँ तथ्य थाहा पाएपछि गुँड रहेको स्थानमा हामीले केही अवशेष पनि भेट्यौँ । ती अवशेष हातमा उठाउँदा हामीलाई पुन: ती चार बचेराको निकै याद आयो जो आँखा खुलिनसकेको भए पनि हामीलाई आमाबाबु ठानी चुच्चो माथि उठाई खाना माग्दथे । त्यस रात हमाीलाई राम्रोसँग निद्रा पनि लागेन । तिनै जुरेलीका बच्चाको कुरा गरिरह्यौँ । मोबाइल फोनमा तिनका फोटाहरू बारबार हेर्यौँ । सायद यसो गरेको भए ती बाँच्थे कि वा त्यसो गरेको भए बाँच्थे कि भन्ने तर्कना गर्दै हामीले आफूलाई दोषी मान्यौँ । त्यसपछि जुरेलीको जोडी पनि घरवरिपरि देखिन छाडे । जब–जब हामी उक्त गुलाफको बोटनजिक पुग्छौँ, अझै पनि लाग्छ बचेरा त्यहीँ छन् र आँखा चिम्लेर चुच्चाहरू माथि उठाई हामीसँग खाना मागिरहेका छन् । जुरेलीका ती बच्चाहरू जम्मा तीन दिनका लागि मात्र हाम्रो साथमा रहे र कहिल्यै नफर्कने ठाउँमा गए । तिनको जीवन यस प्रकृतिमा जम्मा पाँच दिन जत्ति मात्र रहेछ । उनीहरूले आँखा खोलेर प्रकृति हेर्न पनि पाएनन् तर पनि हामीलाई उनीहरूले यही केही दिनमै कहिल्यै नबिर्सने याद छोडेर गए ।
यो लेख लेख्दै गर्दा ती बचेरालाई बिरालेले खाएको सात दिन भयो । तिनको मृत्युले अझै हामीलाई दु:खी नै बनाइरहेको छ । तर, यही सात दिनभित्र नेपालमा थुपै्र मान्छे दुर्घटना, झगडा वा आपराधिक घटनामा परी मरिसकेका छन्, तर तिनको मृत्यु मेरा लागि फगत एक समाचारबाहेक अरू केही बन्न सकेको छैन । ती मान्छेका मृत्युमा म यी जुरेलीका बच्चाको मृत्युमा जति पनि संवेदनशील हुन सकिरहेको छैन । आज साँझ त्यो गुलाफको बोटनजिकै बसेर मैले आफूले आफैंलाई प्रश्न गरेँ कि ‘वसन्त, तँलाई नेपालकै अरू नेपाली दाजुभाइ मर्दा किन त्यो चराको बच्चा जत्ति पनि दु:खानुभूति भइरहेको छैन ? त्यो चरोलाई त प्रकृतिले नै मासु खाने प्राणीको आहाराका रूपमा बनाएको थियो होला र त ज्यान गुमायो, तर यहाँ त मान्छेले मान्छेलाई नै मारिरहेका छन्, के तिनको मृत्युमा तँलाई चरोको बच्चाभन्दा अलिक बढी नै दु:ख लाग्नुपर्ने होइन र ?
मैले लामो श्वास फेरेँ । वास्तवमै मलाई लाग्न थाल्यो, म नेपालीहरू अकालमा मर्दा त्यो चरो जति पनि संवेदनशील हुन छाडिसकेको रहेछु । मलाई केवल आफ्ना परिवारजन या नातागोताको मृत्युमा मात्र दु:ख लाग्दछ । परिवारबाहेक मैले सायदै कसैको मृत्युमा आँसु बगाउने गर्छु, तर आँसुका लागि माया चाहिने रहेछ । कोही त्यस्ता नेता वा महान् व्यक्ति पनि छैनन् जसले मलाई ती चराका बच्चाले जति पनि खुसी र सुरक्षा वा माया दिएका हुन्, सायद त्यसैले होला म तिनका मृत्युमा आँसु बगाउँदिनँ । आखिर म किन मान्छेहरूको मृत्युमा भन्दा ती चराहरूको मृत्युमा बढी संवेदनशील भइरहेको छु ? म यस प्रश्नको उत्तर खोज्न थालेँ ।
अन्तमा मैले यही उत्तर पाएँ कि मलाई ती चराहरूले खुसी दिएका थिए । कसैले कसैलाई खुसी दिन सक्यो भने नै माया पनि बढ्ने रहेछ । यही मायामा समाज सभ्य तरिकाले बढ्दो रहेछ । यही मायाले कसैका मृत्युमा आँसु झार्दो रहेछ ।
अहिले नेपालमा जातीयता र क्षेत्रीयताका कुराहरू अगाडि ल्याएर एक जात अर्को जातसँग भिड्ने तयारी गर्दैछौँ । हिटलरले जातीयताकै कुरा गरेर साठी लाख यहुदीको हत्या गरे । पोलपोटले राजनीतिक आस्थाकै आधारमा बत्तीस लाख आफ्नै मुलुकवासी मारे । नेपालमा पनि माओवादी युद्ध अगाडि बढेपछि थुपै्रले ज्यान गुमाए । अबका दिनमा यदि साँच्चिकै जातीय हिंसा भड्कियो भने हजारौँ नेपालीले ज्यान गुमाउनेछन् । एउटा जातले अर्को जातलाई मार्न सकेकोमा गौरव गर्नेछन् । शत्रु मारिएको महसुस गर्नेछन् । त्यसपछि हजारौँ वर्ष मिलेर बसेका नेपालका जातजाति, भाषाभाषीको आफू–आफूका भिडन्तकै कारण नास हुनेछ, तर ती मृत्युमा मेरो घरको जुरेलीका बच्चा मर्दा भएझैँ जति पनि संवेदनशीलता एक–अर्कालाई हुने छैन ।
मेरो विचारमा मुलुकमा यो स्थिति ल्याउने आलाकाँचा र मूर्ख नेताहरू नै हुन् तर तिनको कारणले हाम्रा घर रगतमा डुब्नुहुँदैन । तिनीको कारणले र तिनका वहकावमा परेर हजारौँ वर्षको हाम्रो मेलमिलाप बिथोलिनु हुँदैन । यहाँ कोही कसैका दुश्मन छैनन् । सबै आफ्नै हुन् । केवल हामीले छाती छौडा बनाई सबैलाई आफूमा अटाउन सक्नुपर्छ । यो मुलुक भनेको सबैको समान हक भएको परिवार हो भनेर बुझ्नुपर्छ । एकले अर्कोलाई नजिकबाट हेर्नुपर्छ, भेट्नुपर्छ, सबैले सबैसँग आत्मीयतापूर्वक कुरा गर्नुपर्छ, सबैले सबैको भलाइका लागि सोच्नुपर्छ र सबैभन्दा ठूला कुरो एकले अर्कालाई खुसी दिन प्रयास गर्नुपर्छ । यति गरेर त हेरौँ, हामी–हामीबीच कोही कसैको दुश्मन बनाउन कुनै तत्व सफल हुने छैन । एकले अर्को नेपालीलाई धेरैभन्दा धेरै माया गरौँ । जाबो जङ्गलको चरो आफ्नो बगैंचामा तीन दिन बसेर जाँदा त त्यसको विछोडमा आँसु झर्दोरहेछ भने हामी हजारौँ वर्षदेखि नेपालमा बस्दै आएका मानिसबीच कति धेरै माया हुँदो होला ? तर अहिले जुन सामाजिक सद्भाव बिगँ्रदै जान लागेको देखिएको छ, यसको कारण हामीले एक–अर्कालाई नजिकबाट राम्ररी नियालरे नहेरेकै कारणले होजस्तो मलाई लाग्छ । कति सुन्दर छन् हिमालका केटाकेटी, कति भव्य देखिन्छन् हिमालवासी नेपाली, कति मधुर लोकगीत सुनिन्छ पहाडबाट, कति मिहिनेती छन् तराईका मानिस । नेपाल यी सबैबिना अधुरो छ र एकलाई बचाउन, जिउँदो राख्न र सम्पन्न बनाउन अर्को ठाउँका मानिस चाहिएको छ । केवल हामीले एक–अर्कालाई नजिकबाट हेरौँ । फुर्सद नभएर होला हामी टाढा–टाढा हुँदै छौँ । प्रत्येक गाउँ–गाउँ र घर–घरमा जातभात, रंग, भाषा बिर्सेर हालखबर सोध्न एक–अर्काको घरदैलोमा पुगौँ । जब हामी एक–अर्कालाई नजिकबाट हेर्छौं, सबैजना परिवार भएको बुझ्छौँ । त्यसपछि सबै–सबैका खुसीका स्रोत हुनेछौँ । यही आपसी उपस्थितिले दिने खुसीले नै ‘नयाँ नेपाल’ जन्माउनेछ । त्यो नेपालमा स्वार्थी नेता, बाह्यशक्ति, आईएनजीओहरू या जो–जो लागे पनि जातीय सद्भाव बिथोल्न सक्नेछैन ।
प्रतिक्रिया