सचेत भनिएकाबाटै किन गरिन्छ राष्ट्रिय झण्डाको अपमान ?

सचेत भनिएकाबाटै किन गरिन्छ राष्ट्रिय झण्डाको अपमान ?


राजनीतिक परिवर्तनले नागरिकका समस्या निवारण गर्दै देशको विकास गर्नेछ भन्ने अभिलाषा नराख्ने सायदै कोही होलान् । हरेक नेता-कार्यकर्ता तथा अभियन्ताले आफ्नो भाषण या बोलीमा देश निर्माण र राष्ट्रिय हितका अभिव्यक्ति दिए पनि ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय पहिचान जोगाउन र राष्ट्र समृद्धिको मार्ग समात्न सकेको भने देखिँदैन । युवा, प्रौढ सबै विदेशीको स्वार्थको प्रयोगशाला बन्ने र सत्ता प्राप्तिको निम्ति देशकै अस्मिता धुमिल पार्ने क्रियाकलाप दशकौँदेखि चल्दै आएको छ । यही परिस्थितिका कारण राष्ट्र र नागरिकले दुर्गति भोग्दै आएको यथार्थ विदित नै छ । सत्ता-स्वार्थको पछिल्लो उदाहरण – हालैको जेन्जी आन्दोलन र मधेस प्रदेशमा भएको मूख्यमन्त्री परिवर्तन प्रकरणको भाँडभैलोमा नेपालको राष्ट्रिय झण्डाप्रति दुर्व्यवहार, अपमान देख्दा लाग्छ- दलीय नेता-कार्यकर्ता र विदेशी एनजीओ/आइएनजीओद्वारा परिचालन भएका मनुष्यलाई कदापि जन्मभूमि र राष्ट्रको पहिचानप्रति आस्था र स्नेह नहुने रहेछ ।

अमेरिकी युथ काउन्सिल, युरोपेली युनियनलगायत विभिन्न राजदूतावासद्वारा प्रशिक्षित हरकोही कदापि जन्मभूमिप्रति जवाफदेही नहुने नै रहेछन् । चाहे जेन्जी नामका झुण्ड होस् वा विभिन्न किसिमका अधिकारवादी, अभियन्ता वा राजनीतिकर्मी नै किन नहुन् – तिनको व्यवहार, अभिव्यक्ति देख्दा आम नेपालीको रगत तात्दछ । राष्ट्रिय झण्डा ओढ्दै राष्ट्रकै महत्वपूर्ण संरचनामा आगो लगाउने, सडक/बाटोमा झण्डा मिल्काइ त्यसैमा कुल्चिएर तोडफोडमा उत्रनेहरू, सत्ता गुमेको झोकमा झण्डा च्यात्ने वा जलाउने दुष्कर्म गरी भ्याटिकन मिसनलाई टेवा पुऱ्याउने ब्यक्ति देख्दा लाग्छ – युवा र शिक्षित भनिदैमा तिनका मगजमा चेतना हुन्छ भन्नु किमार्थ मिथ्या रहेछ । अझै भन्नुपर्दा प्रधानन्यायाधीश बनिसकेको ब्यक्तिले समेत झण्डाको बर्को ओढ्ने र जेन्जी आन्दोलनलाई निर्देशित गर्ने कार्य गरेको देख्दा आफैले आफैलाई धिक्कार्नुबाहेक अर्को विकल्प रहेन ।

सार्वभौम राष्ट्र नेपालको पहिचान, प्रतीक, झण्डा, गान, चिन्ह प्रतीकात्मक स्वरुपमात्र किमार्थ होइन । ती नेपाली जनताको गौरव, इतिहास, सभ्यता, स्थायित्व र साझा दृष्टान्त अनि पुर्खाको विरासत बोकेको गौरवपुर्ण राष्ट्रिय पहिचानका आधार हुन् । राष्ट्रिय झण्डालाई केवल कपडाको टुक्रा सोच्नु अन्यथा हुन्छ । यो राष्ट्रको पहिचान र गौरवपुर्ण इतिहासको साक्षी हो । तर आज नेपालको गौरवपुर्ण प्रतीकमाथि दलका नेता-कार्यकर्ता, शिक्षित वर्ग र युवा भनिनेहरूबाटै राष्ट्रिय पहिचानमाथि भैरहेको अवहेलना र दुरुपयोगले हामी आम नेपालीको आत्मसम्मानमा ठेस पुगेको अनुभूति हुन्छ । कतै यस्तै विवेकशून्य हर्कतले किराँत कालदेखि सत्यमेव जयते अर्थात् सत्यको सधैं जित हुन्छ भन्ने स्लोगन बोकेको राष्ट्रको पहिचान नै धुमिल हुने त हैन ? भन्ने चिन्ताले पङ्क्तिकारको हृदय एवम् मथिङ्गलमा ज्वारभाटा उठ्दै आएको छ । सायद मजस्ता हरेक राष्ट्रप्रेमी नेपालीमा बेचैनी बढेको हुनुपर्छ !

सामान्यतया धार्मिक-महाकाव्य, ग्रन्थहरूमा ध्वजा, पताका (झण्डा)को प्रयोग योद्धा, राजवंश वा धर्मयुद्धको प्रतीकको रूपमा पाइन्छ । यसरी हेर्दा झण्डा केवल प्रतीकात्मक, युद्धको सांकेतिक चिन्ह मात्र नभएर धार्मिक-सांस्कृतिक पहिचानको सत्तारूप पनि हो । आधुनिक राष्ट्र निर्माण प्रक्रियालाई केलाउदा झण्डाको अवधारणा सन् १२१९ मा डेनमार्कबाट विकसित भएको भनिएपनि पूर्वोत्तर, दक्षिण एशियाली राज्यहरूले प्राचीनकालदेखि त्रिकोणत्मक ध्वजा, पताका आदि राष्ट्रिय वा राजकीय प्रतीकको रुपमा प्रयोग गरेका थिए । तसर्थ, नेपालको त्रिकोणात्मक ध्वजाको प्रयोग प्राचीन गोपाल बंश, महिषपाल (अभिर बंश) हुँदै आएको भएपनि किराँतकाल (करिव इ.पू. ८५० – इ.सं. ३८०) अलिक परिस्कृत रुपमा प्रयोगमा आएको थियो भन्दा अत्युक्ति हुँदैन । लिच्छवी, मल्लकाल हुँदै आजसम्म त्रिकोणात्मक झण्डाको प्रयोग निरन्तर चलिरहेको छ । यद्यपि आधुनिक झण्डाको चित्राङ्कन, मानकीकरण वि.सं. २०१९ मा किराँतकालिन ध्वजाको अवधारणामा शंकरनाथ रिमालले ज्यामितीय गणितको सहारा लिएर गर्नुभएको थियो । यसबाट नेपालको राष्ट्रिय झण्डाले प्राचीन कालदेखि नै सांस्कृतिक, सामाजिक, अवधारणालाई अवलम्बन गर्दै राजनीतिक अर्थ पहिल्याउँदै आएको देखिन्छ ।

आधुनिक नेपालको राष्ट्रिय झण्डा अनौठो र विश्वमै फरक त्रिकोणीय भाग मिलेर बनेको र विश्वकै इतिहासमा प्राचीन रहेको छ । रातो पृष्ठभूमिमा चन्द्र-सुर्य अंकित निलो किनाराले मुर्तरुपमा सजिएको छ । जसले सुर्यको ताप र चन्द्रको शितलता जस्तै नेपालीको वीरता, गगन जस्तै शान्ति तथा हिमाल देखि तराईको एकता र भूमिलाई दर्शाउँछ । यसको अर्थ जबसम्म निलो आकाशमा चन्द्र–सुर्य रहन्छ तबसम्म नेपाली राष्ट्रिय एकतायुक्त सार्वभौम भूगोल रहिरहनेछ भन्ने हुन्छ । तर, आज पढेलेखेका शिक्षित भनिनेहरूबाट नै नेपाली राष्ट्रिय झण्डाको अपमान र दुरुपयोग तीव्र रूपमा हुँदा हाम्रो ऐतिहासिक झण्डाको अस्तित्व नै गुम्ने त हैन भन्ने खतरा पनि उत्तिकै देखिन्छ । कुनै विश्वविद्यालय पढेर प्रमाणपत्र हातमा लिँदा वा कानुनका ठेली समात्दैमा उसको मगजमा राष्ट्रप्रतिको असल चेतना आउँछ भन्ने कथन मिथ्या प्रमाणित भएको छ ।

दलगत आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने, सडक किनारातिर मिल्काएर त्यसमै कुल्चिहिँड्ने युवा अथवा वैदेशिक रोजगारीमा जाँदा विमानस्थलबाहिर झण्डाको बर्को बनाएर ओढ्ने र भित्र पुगेपछि दुर्व्यवहार, अपमान गर्ने युवा साथै उच्च ओहोदामा रहेका ब्यक्ति र राष्ट्रिय कलाकार भनिने कतिपयको ब्यवहारले पुर्खाको योगदान विरासत र बोकेको नेपालको प्राचीन ऐतिहासिक पहिचानलाई नै तिलाञ्जली दिएजस्तै लाग्छ । नेपाली नागरिकता, राहदानी बोक्दैमा अथवा नेपाली बोल्न जान्दैमा आत्मीय हिसाबले नेपाली नै हुन्छ भन्न नसकिने अवस्थाको सृजना भएको छ । राष्ट्रिय गौरव, विरासतको मर्म बुझ्न नसक्ने मातृभूमिको ऐतिहासिक महत्त्वलाई नबुझ्नेहरू न नेपाली बन्न सक्छन् न त तिनलाई नेपालको माया नै हुन्छ भन्दा किमार्थ भुल हुनेछैन ।

इतिहासमा कहिल्यै नझुकेको, विदेशी शक्तिको अधीनमा नपरेको झण्डा आज स्वघोषित देशभक्त बनेका युवा वर्ग, कलाकार र अभियन्ताको अर्धचेत र स्वार्थको कारण झुकेको छ । अंग्रेज साम्राज्यले भारतदेखि बर्मासम्म फैलिँदा पनि पुर्खाको वीरताले नेपाली झण्डा उच्च राख्न सफल भएका थिए । सन् १८१४-१६ को अंग्रेज-गोर्खा युद्धपछि भएको सुगौली सन्धिले नेपालको सिमालाई बदलेर छोट्याए पनि नेपाली झण्डाको आकारलाई छोट्याउन बदल्न दिएनन् । हाम्रो पुर्खाले विश्वयुद्धमा विदेशी भूमिमा लडे पनि आफ्ना शिविरमा नेपालको झण्डा उच्च सम्मानको साथमा अनिवार्य रूपमा फहराउँदै आएको तथ्य पाइन्छ । तर विडम्बना ! अचेल शिक्षित भनिने नेपालीहरू परदेश जाँदा देशकै विमानस्थलमा झण्डाको अपमान तथा दुर्व्यबहार गर्दै परदेश हानिन्छन् । उच्च ओहोदामा बसेकाले समेत पूरै देशको अस्तित्व सकिएको जस्तै झुक्याएर बर्को ओढ्छन् ।

राष्ट्रिय झण्डालाई कसैको स्वार्थमा प्रयोग भएर सडक किनारमा मिल्काउने, मान्द्रो बनाएर बिछ्याउने वा बर्को बनाएर ओढ्ने कपडाको टुक्रा कदापि बनाइनु हुँदैन । किनकि चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डा नेपालका अनेकौँ जाति-समुदाय, हिमालदेखि तराईसम्मको भूगोलको प्रतीकात्मक पहिचान हो, जुन हजारौँ वर्षदेखि चलिआएको नेपाली सभ्यताको द्योतक हो । त्यसैले श्रद्धापुर्वक हाम्रो पहिचान, मातृभूमिप्रति सम्मान व्यक्त गरौं । यदि कोही-कसैले ब्याक्तिगत स्वार्थ वा दलगत प्रायोजनका निम्ति दुरुपयोग वा अपमान गर्छ भने राज्यद्वारा त्यस्ता ब्यक्तिलाई जघन्य अपराध करार गरी सजाय दिनुको विकल्प छैन । विश्वको इतिहासलाई केलाउँदा राष्ट्र पतन हुने संकेत युद्ध हार्नु मात्र होइन, नागरिकले आफ्नो राष्ट्रिय झण्डाको सम्मान गर्न छोड्नु, दुरुपयोग गर्नु पनि पतनको बाटोमा जानु हो ।

त्यसैले राज्यले पाठ्यक्रममा राखेर हुन्छ कि दण्ड-सजायको कानुन पारित गरेर हुन्छ नागरिकलाई राष्ट्रिय झण्डाको सम्मान, इज्जत गर्ने वातावरण बनाउनुपर्छ, अन्यथा भोलिका सन्ततिले ब्यक्तिगत स्वार्थ वा बैरीको उक्साहटमा राष्ट्र र राष्ट्रिय पहिचानलाई सदाको निम्ति अन्त्य गर्न तम्सिनेछन् । झण्डा ओढ्नु, झुकाउनु भनेको पुर्खाको बलिदान झुकाउनु हो भन्ने हरेक नेपालीले बुझ्नुपर्छ । जनतालाई राष्ट्रिय पहिचान, ऐतिहासिक महत्त्व, पुर्खाको वीरता गौरवपुर्ण इतिहास, नेपालका विभूति, सांस्कृतिक पहिचानबारे सिकाइएन भने भोलिको नेपालको अवस्था के होला ? सार्वभौमसत्तासम्पन्न देशको अस्तित्वलाई कसले जोगाउला ?
जय मातृभुमि !