‘एक्लोपन मन्त्री’ हामीकहाँ पनि राख्ने कि ?

‘एक्लोपन मन्त्री’ हामीकहाँ पनि राख्ने कि ?


एक्लै बस्नु र एक्लोपनको महसूस हुनु फरक कुरा हुन् । मानिस एक्लै बस्दैमा एक्लोपनबाट गुज्रिरहेको छ भनेर बुझ्नु हुँदैन र परिवारसँग बस्दैमा एक्लोपनसँग जुधिरहेको छैन भनेर सोच्न हुँदैन । अघिल्लो दिनसम्म हँसिलो मुहारमा देखिएका कतिपय मानिसले भोलिपल्ट आत्महत्या गरेका घटना हाम्रो देशमा बढ्दै गएका छन् । बाहिरबाट हेर्दा पति, पत्नी, बच्चा साथमै छन्, नाम छ, काम पनि छ, जिन्दगी ठिकठाक चलिरहेको जस्तो देखिएपनि मानिसहरू सहज जीवन बाँचिरहेका छैनन् भन्ने उदाहरण आत्महत्याका घटना बन्दै गएका छन् । आधुनिक जीवनको दुखद वास्तविकता बन्दै गएको एक्लोपन र त्यसबाट निम्तिने अप्रिय घटनाहरू हाम्रो देशमा मात्रै नभइ विश्वब्यापी रूपमै बढ्दै गएका छन् । फरक यति हो – विश्वका कतिपय मुलुकले एक्लोपनसँग जुध्न र यसबाट मुक्तिका लागि विभिन्न प्रयास गर्दै आएका छन्, हामीकहाँ जसलाई जेसुकै होस मतलवै छैन !

विश्वका विभिन्न मुलुकमा एक्लोपनको समस्यालाई कसरी सम्बोधन गर्ने भनेर ब्यापक छलफल, बहस मात्र नभइ मन्त्रीकै ब्यवस्था गर्न थालिएको छ । मोर्डन लाइफको स्याड रियालीटी मानेर एक्लोपनलाई सम्बोधन गर्नका लागि बेलायत र जापानमा विभागीय मन्त्री नै तोकिएको छ । बेलायतमा सन् २०१८ मा पहिलोपल्ट ‘एक्लोपन मन्त्री’को ब्यवस्था गरिएको थियो । पहिलो ‘लोन्लीनेस मिनिस्टर’ ट्यासी क्राउचले आफू सांसद हुँदा भएको डिप्रेशनको बारेमा सार्वजनिक रूपमा बताएपछि बेलायतका अखबारहरूले उनको भनाइलाई महत्वका साथ प्रकाशित गरेका थिए । जापानमा एक्लोपनलाई सम्बोधन गर्न ‘मिनिस्टर फर लोन्लीनेस एण्ड आइसोलेसन’को ब्यवस्था गरिएको छ । जापानका ‘एक्लोपन मन्त्री’ले केही नीतिगत ब्यवस्थाका साथै वेब च्याट र काउन्सिलिङको ब्यवस्था गरेका रहेछन् । मन्त्रीको ब्यवस्था गरेपछि मानिसहरूलाई एक्लोपनबाट बाहिर ल्याउनका लागि ब्यापक जनचेतनाका कार्यक्रम गरिएको रहेछ ।

बेलायत र जापानका लोनलीनेस मन्त्रीका कामलाई हेर्दा तिमी एक्लो छैनौ भनेर ढाडस दिलाउने, मनोवैज्ञानिक त्रासबाट मुक्त गर्ने, लोन्लीनेस कम गर्न ‘सेफ स्पेस’को ब्यवस्थालगायतका कार्यहरू उनीहरूले गर्दै आएको देखिन्छ । अपाङ्गता भएका ब्यक्तिहरू, वृद्धवृद्धाको नेटवर्क बनाउने, तथ्याङ्क सङ्कलन, सर्भे, रिसर्च गरेर तथ्याङ्कका आधारमा नीति बनाउने कामहरू हुने रहेछन् । कतिपय मुलुकमा एक्लोपन मन्त्री भनेर नतोकिएपनि एक्लोपनसँगको मुक्तिका लागि सरकारी इकाईहरूले काम भने गर्दै आएका छन् । जर्मनीमा मन्त्री तोकिएको छैन तर एक्लोपनका विरुद्ध लड्न सरकारी स्तरबाट रणनीति बनाएको छ । फेडरल मिनिस्ट्री फर फेमिली अफेयर्स, सिनियर सिटिजन, वीमेन एण्ड युथले एक्लोपनलाई नीतिगत प्राथमिकतामा राखेको छ । आत्महत्यालाई कसरी कम गर्न सकिन्छ भनेर नीति, योजना, कार्यक्रम बनाउने गरिएको छ । स्थानीय सरकारसँग तालमेल गरेर कार्यक्रमहरू अघिसारिएका छन् । समग्रमा भन्दा बदलिँदो समयसँगै विभिन्न मुलुकले एक्लोपनलाई सरकारी प्राथमिकताको विषय बनाएका छन् । हामीकहाँ भने एक्लोपनले सतायो भने कतै गएर आफ्नो कुरा भन्ने र रुने ठाउँ पनि छैन ।

सरकारी स्तरबाट कुनै प्रयास नभएकोले हामीले जनस्तरबाट एकार्कालाई केयर गर्नुपर्ने अवस्थामा हामी छौँ । भनिन्छ, सबैभन्दा ठुलो झुट मानिसले ‘म ठिक छु’ भनेर बोलिरहेको हुन्छ । जतिसुकै पीडा र उल्झनबाट गुज्रिरहेका भएपनि पनि कसैले ‘हाउ आर यु ?’ भनेर सोध्दा जवाफमा ‘आई एम फाइन’ नै भन्ने गरिन्छ । जिन्दगीमा कति कुराहरू ठिकठाक नचलिरहेका बेला पनि फिस्स हाँस्दै ‘मलाई ठिक छ’ भन्नेहरूको संख्या ठुलो छ । जिन्दगीमा आइलाग्ने सङ्कटका रूप अनेक छन् । कसैलाई केको अभाव, कसैलाई केको, जीवन अब सहज होला भन्ने आशामा अनेक सङ्घर्ष गर्दै जाँदा भावनात्मक सङ्कटका कारण अप्ठ्यारो परिस्थितिमा पुग्नेहरूको संख्या पनि त्यत्तिकै छ ।

मानिसहरूमा थोरबहुत ‘फ्रष्ट्रेसन’ सबैमा हुन्छ भनिन्छ, कहिले बढी हुन्छ कहिले कम, कसैमा धेरै कसैमा कम ! फ्रस्ट्रेसन बढ्दै गएर डिप्रेसनमा परिणत हुने कारणहरू अनेक छन् । जीवनमा तनाव नहुने मानिस सायदै होलान् । तनाव केलाई भन्ने, कतिसम्मलाई भन्ने र तनावलाई कसरी लिने भन्ने कुरा मानिसले परिस्थितिलाई हेर्ने दृष्टिकोणमा भर पर्छ । कतिले त्यही कुरालाई सामान्य रूपमा लिन्छन्, कतिले सोही कुरालाई विकराल बनाइरहेका हुन्छन् । जसका कारण उनीहरूमा ‘इमोसनल क्राइसिस’ बढ्दै जान्छ, बढ्दै गइरहेको छ । अर्काको विषयमा नराम्रो सोच्नु र बोल्नु पनि तनावको विषय हो । कसैको प्रशंसा गर्दा मनमा जति आनन्द आउँछ, नराम्रो कुरा गर्दा त्यति नै तनाव हुन्छ । कसैलाई नराम्रो भन्नका लागि मानिसले पहिला आफ्नो मष्तिष्कलाई विषाक्त बनाउनु पर्छ । हाम्रो माइण्डले सबैकुरा निर्देश गर्ने हुँदा राम्रो गर्नका लागि राम्रै विचार खेलाउनु पऱ्यो, नराम्रो गर्नका लागि नराम्रै विचारसँग खेल्नु पऱ्यो । सामाजिक संजालको नकरात्मक उपयोगले पनि मानिसमा भावनात्मक सङ्कट निम्त्याइरहेको छ । सामाजिक संजालमा हजारौँ साथी र फ्लोअरका बीच वास्तविक जीवनमा मानिस एक्लो बन्दै गइरहेको छ ।

एक्लोपन कम गर्नका लागि मानिसलाई आफ्ना कुरा सेयर गर्ने मान्छे चाहिन्छ । यस्तो साथी या कुनै मान्छे जोसँग सबै कुरा निर्धक्क भन्न सकियोस् । समयक्रममा त्यस्तो खालको मान्छे भेट्नै गाह्रो छ, जसले सबै कुरा सुनेर आफूलाई जज नगरोस् । भनेजस्तो मान्छे नभेटिएकै कारण कतिले आर्टिफिसियल इन्टेलिजेन्ससँग कुरा गरेर आफूलाई भुलाउने गरेका छन् । कतिपय मानिसहरू आफ्नो कुरा अरुलाई पटक्कै सेयर नगर्ने हुन्छन् । कम बोल्नु या मौन रहनु जीवनमा राम्रो कुरा हो, तर मनमा पीडा राखेर गरिने मौनताचाहिँ घातक हुन्छ । हाम्रो समाज यस्तो बन्दै गएको छ कि आफ्नो मनको कुरा जस्ताको तस्तै सेयर गर्ने मानिस पाउन गाह्रो हुँदैछ । जीवनशैली र परिस्थितिजन्य फ्रस्ट्रेसनले मानिसमा डिप्रेसनका लक्षणहरू देखिइरहेका छन् । डिप्रेसनले धेरै मानिसहरू तनावमा छन्, तनावका कारण मानिसमा डिप्रेसन बढ्दै गएको छ । हाम्रो मुड या परिस्थितिहरू जस्तो भएपनि शरीर आफ्नै सिस्टममा चल्ने हुँदा उसले गर्ने काम गरि नै रहन्छ । त्यसैले पनि परिस्थितिहरूलाई सहज रूपमा लिने शक्ति हामीले आफैमा विकास गर्नु आवश्यक हुन्छ । जुन त्यति सहज होइन तर कोशिस गऱ्यो भने असम्भव पनि छैन ।

‘स्ट्रेस कोपिङ मेकानिज्म’का बारेमा हामीकहाँ चर्चा हुने गरेको छैन । योग ध्यान, सकारात्मक सोच… उपायहरू फररर… भन्न जति सहज छ, हाम्रा स्कुल, कलेज, घर, कार्यस्थल, अभ्यासमै लागु गर्ने वातावरण त्यति देखिँदैन । घटना-सन्दर्भहरूलाई कसरी सहज रूपमा लिने भन्ने कुरा मानिस आफैले आफूभित्र विकास गर्ने हो । कहिलेकाहीँ जीवनमा सोच्दैनसोचेका घटनाहरू एक्कासी भइदिन्छन् । हामी सबैलाई आफ्नो कारणले भन्दा अरुको कारणले हुने तनावहरू धेरै हुन्छन् जस्तो लाग्छ । तर ती तनावको ब्यवस्थापन भने अरुले गरेर हुँदैन, आफैले गर्नुपर्छ । माइण्डलाई ब्यवस्थित गर्न सक्यो भने धेरै कुराको समाधान निस्किन्छ ।

संसारमा दुःखी मानिसहरू धेरै होलान् कि सुखी ? दुःख केलाई मान्ने ? खुशी केलाई ठान्ने ? खुशी र पीडा मनसँग सम्बन्धित छ । सुख र दुःख शरीरसँग सम्बन्धित छ । सुख पाउनुको अर्थ शरीरलाई आराम या शरीरलाई आनन्द महसूस हुने कुरा हो । सुख र दुःख त फरक हुन् नै, सुख र खुशी पनि फरक कुरा हुन् । सुखको अनुभूति शरीरले गर्छ भने खुशीको महसूस मनले गर्छ । खुशी कहाँबाट प्राप्त हुन्छ ? खुशीको श्रोत के हो ? भनेर खोजी गर्ने हो भने खुशीको स्थाई श्रोत अहिलेसम्म कतै भेटिएको छैन । पैसा या धन-सम्पत्ति नहुनेका लागि पैसा भयो भने खुशी मिल्छ तर जब पैसा हुन्छ अनि मान्छेलाई अरु नै केही चाहिन्छ । धन सम्पत्ति, नाम, मान, प्रेम, मदिरा, प्रेमी या प्रेमिका, पति या पत्नी, सन्तान यी र यस्ता अनेक कुरामा मानिसहरू खुशी खोजिरहेका हुन्छन् । मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफू खुशी हुनकै लागि गरिरहेका हुन्छन् । आफ्ना साना, ठुला हरेक उपलब्धिमा मानिस खुशी हुन्छ तर प्राप्तिको कुनै सीमा हुँदैन, त्यसैले खुशीको सिमा या स्थाई श्रोत यही हो भनेर भन्न सक्ने अवस्था छैन ।

शास्त्र भन्छ- जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी हुन्छन, ती हुन्- ‘विद्या, असल जीवनसाथी, नियमित पैसा आउने या गरिखाने ठाउँ, राम्रो स्वास्थ्य र भनेको मान्ने अर्थात् आज्ञाकारी सन्तान ।’ तर यी पाँच कुरा एउटै मानिसको जीवनमा एकसाथ भइरहेका हुँदैनन् । कोही विद्वान् छन् तर जीवनसाथीसँग राम्रो सम्बन्ध छैन । कसैको पति-पत्नीबीच सम्बन्ध राम्रो छ तर धन आर्जन हुने ठाउँ छैन । कसैको पति-पत्नीबीच राम्रो सम्बन्ध छ, विद्या पनि छ तर सन्तानबाट सुख छैन । कसैको सन्तानबाट सुख छ, गरिखाने ठाउँ छ, सम्बन्ध पनि राम्रो छ तर स्वास्थ्य राम्रो छैन । यी पाँचै कुराको तालमेल मिल्ने मान्छेहरूको सङ्ख्या खोज्दै गयो भने नभेटिन पनि सक्छ या अत्यन्त थोरै छ । आफूवरिपरिको परिस्थिति जे-जस्तो भएपनि आफू खुशी हुँदा संसार राम्रो देख्ने र दुःखी हुँदा संसार अध्यारो देख्नेहरूको सङ्ख्या ठुलो छ ।

पहिला-पहिला मानिसको संसार सानो थियो, आफूवरिपरि जीवन्त मानिस र सुरक्षित महसूस गर्न सकने वातावरण हुन्थ्यो । अहिले संसार फराकिलो भएको छ तर देखावटी जीवन बाँचिरहेका ‘फेक’ मान्छेहरूको भीडमा असुरक्षित भावनासहित मानिस एक्लो बन्दै गएको छ । मानिस जति ठुलो ओहदामा पुग्यो, जति नामी भयो उसको ब्यक्तिगत संसार झनै साँघुरिँदै जान्छ । हामीकहाँ त्यस्तो कुनै सर्भे या रिसर्च भएको छैन, यदि हुने हो भने निजी जीवन बाँचिरहेका भन्दा सार्वजनिक जीवन बाँचिरहेका मानिसहरूमा एक्लोपन बढी हुनसक्छ । विभिन्न मुलुकले एक्लोपनविरुद्ध लड्नका लागि संयन्त्र त्यत्तिकै बनाएका छैनन्, समस्या बढेर नै बनाएका हुन् । हामीकहाँ पनि विभिन्न कारणले मानसिक समस्या बढ्दो छ, मानसिक समस्या बढाउनमा एक्लोपनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले एक्लोपन र मानसिक समस्यालाई राष्ट्रिय प्राथमिकताको विषय बनाऔँ ।