वर्तमान अवस्थामा सबै नेपालीले एउटै कुरा स्मरण गर्न आवश्यक छ- देश रह्यो भने हामी सबै रहन्छौं; देश कमजोर भयो भने कोही बाँकी रहने छैन । साना मतभेद, पदको लडाइँ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र भविष्यलाई प्राथमिकता दिन सकेमात्र नेपाल दीर्घकालीन रूपमा सुरक्षित, समृद्ध र स्थिर बन्न सक्छ ।
✍ काजी कार्की
नेपालको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थालाई नजिकबाट अवलोकन गर्दा स्पष्ट देखिन्छ कि मुलुक अत्यन्त संवेदनशील मोडमा पुगेको छ । समयसँगै राजनीतिक घटनाक्रमहरू जटिल हुँदै गएका छन्, सत्ता संघर्षले दीर्घकालीन राष्ट्रिय स्वार्थ ओझेलमा पर्दै गएको छ र राज्यको मूल नियतिका रूपमा रहेको राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, धार्मिक सहिष्णुता तथा ऐतिहासिक गौरव पतनको दिशामा लम्किँदै गएको अनुभूति सामान्य नागरिकदेखि बौद्धिक वर्गसम्ममा देखिएको छ ।
विगतका राजनीतिक परिवर्तनहरू भावनात्मक तथा प्रतिक्रियात्मक रूपमा भएका भए पनि तिनले अपेक्षित स्थायित्व र सुशासन दिन सकेनन् । मुलुक अभिभावकविहीन जस्तो देखिनु, राजनीतिक नेतृत्वमा परिपक्वताका अभाव देखिनु, पक्ष-विपक्षको संघर्षले राष्ट्रिय हित जोखिममा पार्नु र निर्णय क्षमतामा दुर्बलता देखिनु अब केवल राजनीतिक विवाद होइन, राष्ट्रिय अस्तित्वको प्रश्न बनिसकेको छ। वर्तमान समयलाई गम्भीरतापूर्वक आत्मसात् गरी साझा समाधान खोज्ने प्रयास नगरेको खण्डमा मुलुक भविष्यमा ‘लेण्डुप’ प्रवृत्तिका निर्बल र विदेशीनिर्भर नेतृत्व जन्मिने अत्यन्त गम्भीर जोखिममा पर्न सक्छ । यस्तो अवस्था आउनुअघि नै अब राष्ट्रका सबै प्रमुख शक्ति केन्द्रहरू राजसंस्था, राजनीतिक दल, जेनजेड पुस्ता, बुद्धिजीवी, नागरिक समाज तथा सुरक्षा निकाय एकै ठाउँमा बस्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ, जसले दीर्घकालीन समाधानमुखी राजनीतिक मार्गनिर्देशन दिन सक्छ।
इतिहासले देखाएको छ कि जब मुलुक गम्भीर संकटमा पर्छ, राजनीतिक मतभेद वा विचारधारात्मक विभाजनभन्दा माथि उठ्ने नेतृत्व उदाउँछ र राष्ट्रलाई सही दिशा दिन सफल हुन्छ । नेपालको विगत पनि यसबाट अलग छैन । राष्ट्र निर्माणको मूल आधार रहेर विगतका शासक तथा नेताहरूले इतिहासमा उल्लेखनीय योगदान दिएका छन् । तर, पछिल्ला दशकहरूमा नेतृत्व तहमा निरन्तर अस्थिरता हुनु, स्वार्थकेन्द्रित गतिविधि बढ्नु र राष्ट्रिय प्रतिष्ठा तथा निर्णय क्षमतामा गिरावट आउनुका कारण मुलुक विश्वसनीयतामा कमजोर देखिन थालेको छ । आजको आवश्यकता सत्ता संघर्ष वा पद प्राप्ति होइन, समाधानमुखी सहकार्य हो । जब राजनीतिक दलहरू, राजसंस्था, युवा पुस्ता र नागरिक समाज एकजुट भएर ‘राष्ट्रपहिले’ सोचका साथ अघि बढ्छन्, त्यहीँबाट दीर्घकालीन स्थायित्वको मार्ग खुल्छ । यसका लागि सबैले आफ्नो-आफ्नो भूमिकाभन्दा ठूलो लक्ष्य राष्ट्रको भविष्य हो भन्ने आत्मसात् गर्नुपर्छ।
नेपालमा धर्मनिरपेक्षताको प्रावधान संविधानमा भए पनि यसको व्याख्या अस्पष्ट रहँदा धार्मिक वा सांस्कृतिक पहिचान संकटमा परेको सन्देश व्यापक रूपमा फैलिएको छ । धर्मनिरपेक्षता भनेको कुनै धर्मको कमजोर बनाउने प्रक्रिया होइन, सबै धर्मको समान सम्मान र स्वतन्त्रता सुनिश्चित गर्ने अवधारणा हो । तर, पछिल्लो समय धार्मिक संरचना र संस्कारहरूमा प्रहार हुने, धर्म परिवर्तनमा तीव्रता आउने, बाह्य प्रभावले सांस्कृतिक मूल पहिचान विस्थापन गर्ने खालका गतिविधि बढेका छन् । यस्तो स्थिति दीर्घकालीन रूपमा नेपालको सामाजिक संरचना र सांस्कृतिक समन्वयमा गहिरो प्रभाव पार्न सक्ने खतरा छ । नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक शान्ति र सामाजिक सद्भाव कायम राख्नु अत्यन्त आवश्यक छ । त्यसैले धर्म निरपेक्षताको गलतरीति प्रयोग रोक्नुपर्छ, तर धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै ऐतिहासिक सांस्कृतिक पहिचान संरक्षण गर्ने नीतिगत कदम आवश्यक छ । संविधानमा स्पष्ट प्रावधान, कार्यान्वयनमा कडाइ र समाजमा धार्मिक सद्भावको वातावरण निर्माण गर्न राज्यले तत्काल पहल गर्नुपर्छ।
इतिहासले देखाउँछ कि जब जब राष्ट्र संकटमा परेको छ, राजसंस्थाले भावनात्मक एकताको भूमिका निर्वाह गरेको छ । त्यस्तै, लोकतान्त्रिक दलहरूले राजनीतिक प्रक्रिया अगाडि बढाउने कार्य गरेका छन् । तर यी दुई संरचनाबीच सहअस्तित्व हुन सकेको अवस्था कम देखिएको छ । यदि यी संरचनाहरू एकअर्कालाई प्रतिस्पर्धी नभई पूरक-शक्तिका रूपमा स्वीकार गर्न सके, मुलुकले दीर्घकालीन समाधान खोज्ने आधार प्राप्त गर्न सक्छ ।
जेनजेड, अर्थात् नयाँ पुस्ता, नेपालको भविष्य ऊर्जा हो । आजको युवा पुस्ता राजनीतिक रूपमा सचेत, प्रविधि-साक्षर र विश्व दृष्टिकोणले सक्षम छ । उनीहरूलाई केवल दर्शकको रूपमा होइन, निर्णय प्रक्रियाका सक्रिय सहभागीका रूपमा मान्यता दिनुपर्ने समय आएको छ । वर्तमान राजनैतिक संरचनामा कोटाको राजनीति रहेकोले क्षमतावान युवाहरूको सहभागिता सीमित बन्दै गएको छ, जसले निराशा सिर्जना गरिरहेको छ । योग्यताको आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास नगरेसम्म नेपालले ‘नयाँ पुस्ताबाट नयाँ समाधान’ पाउने सम्भावना कम छ । युवाहरूलाई राष्ट्रिय नीति निर्माणमा समावेश गर्ने, संसददेखि स्थानीय तहसम्म नेतृत्व भूमिकामा अघि ल्याउने र राष्ट्रिय सोचका साथ प्रविधिज्ञानलाई नीति निर्माणमा जोडकने उपाय अपनाउन जरुरी छ ।
इतिहासले देखाउँछ कि जब जब राष्ट्र संकटमा परेको छ, राजसंस्थाले भावनात्मक एकताको भूमिका निर्वाह गरेको छ । त्यस्तै, लोकतान्त्रिक दलहरूले राजनीतिक प्रक्रिया अगाडि बढाउने कार्य गरेका छन् । तर यी दुई संरचनाबीच सहअस्तित्व हुन सकेको अवस्था कम देखिएको छ । वर्तमानमा राजनीतिक दलहरूको लोकप्रियता घट्दै गएको, विश्वासको संकट बढेको र दीर्घकालीन नेतृत्व उत्पादन हुन नसकेको अवस्थामा राजसंस्था र लोकतान्त्रिक व्यवस्थाबीच सहकार्यको मोडेल निर्माण गर्नु समयको माग हो । राजसंस्था सांस्कृतिक सम्पर्क र एकता केन्द्रका रूपमा उपयोगी हुन सक्छ भने राजनीतिक दलहरू विकास र निर्णय क्षमताका संयोजक बन्न सक्छन् । यदि यी संरचनाहरू एकअर्कालाई प्रतिस्पर्धी नभई पूरक-शक्तिका रूपमा स्वीकार गर्न सके, मुलुकले दीर्घकालीन समाधान खोज्ने आधार प्राप्त गर्न सक्छ ।
भनेपछि राष्ट्रको मूल समस्या केवल आर्थिक, सामाजिक वा राजनीतिक मात्र होइन, मनोवैज्ञानिक पनि हो । नागरिकहरूमा निराशा बढ्दै गएको छ, विदेश पलायन गरिरहेका युवाहरूको संख्या बढिरहेको छ, विश्वासको संकट गहिरिँदै छ र नेतृत्व परिवर्तनले सकारात्मक भविष्य दिने विश्वास हराउँदैछ । यदि अब पनि राजनीतिक नेतृत्वले आत्मावलोकन गर्न सकेन र राष्ट्रभन्दा माथि पार्टी, समूह वा सिद्धान्तलाई राख्ने प्रवृत्ति हटेन भने देश अभूतपूर्व संकटमा छिर्न सक्छ । यस्तो अवस्थाबाट जोगिन समयमै कदम चाल्न जरुरी छ ।
वर्तमान चुनौती समाधान गरेर अवसरमा रूपान्तरण गर्न निम्न दृष्टिकोणहरू आवश्यक छन्; पहिलो- राष्ट्रप्रथम दृष्टिकोणले राजनीतिक निर्णयहरु संचालित हुनुपर्छ; दोस्रो- दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गरी राज्य संरचनालाई त्यसमा केन्द्रित गर्नुपर्छ; तेस्रो- युवा पुस्ताको ऊर्जा र प्रविधि-सीपलाई राष्ट्र निर्माणमा जोड्नु जरुरी छ; चौथो- धार्मिक र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै धार्मिक स्वतन्त्रता कायम राख्नुपर्छ; पाँचौँ- आर्थिक विकासको मूल आधार ‘रोजगार सृजना, उत्पादन र राष्ट्रिय स्वाभिमानमा आधारित नीतिहरू’ हुनुपर्छ; छैठौँ- राजनीतिक नेतृत्वले वैयक्तिक स्वार्थभन्दा माथि उठेर राष्ट्रको भविष्य सुरक्षित गर्ने दृढ निर्णय गर्नुपर्छ ।
यदि अब पनि नेतृत्व तहमा परिवर्तन नआए, राष्ट्रका लागि संयुक्त पहलकदमी अगाडि बढेन र आत्मावलोकनभन्दा सत्ता-राजनीतिको जालोमा अल्झिरहेका नेताहरूले राष्ट्रिय भावनालाई प्राथमिकता दिएनन् भने नेपाल बाह्य प्रभावको दबाबमा कमजोर बन्न सक्छ । विदेशी अनुदान र निर्देशनअनुसार चल्ने राजनीति दिगो हुँदैन । राष्ट्रिय स्वाधीनता केवल कानुनी कागजमा होइन, व्यवहारिक नीतिगत निर्णयमा सुनिश्चित हुनुपर्छ । यसका लागि शिक्षा, सुरक्षा, आर्थिक, सांस्कृतिक र कूटनीतिक नीतिहरूमा राष्ट्रिय नेतृत्वको स्पष्ट दृष्टिकोण आवश्यक छ ।
आजको आवश्यकता सत्ता संघर्ष वा पद प्राप्ति होइन, समाधानमुखी सहकार्य हो । जब राजनीतिक दलहरू, राजसंस्था, युवा पुस्ता र नागरिक समाज एकजुट भएर ‘राष्ट्रपहिले’ सोचका साथ अघि बढ्छन्, त्यहीँबाट दीर्घकालीन स्थायित्वको मार्ग खुल्छ । यसका लागि सबैले आफ्नो-आफ्नो भूमिकाभन्दा ठूलो लक्ष्य राष्ट्रको भविष्य हो भन्ने आत्मसात् गर्नुपर्छ।
नेपाल भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा अवस्थित छ, दुई शक्तिशाली राष्ट्रहरूको बीचमा रहेर राष्ट्रिय स्वाधीनता कायम राख्न परिपक्व नेतृत्व आवश्यक छ । त्यसैले अबको प्राथमिकता आन्तरिक विवाद होइन, बाह्य जोखिम व्यवस्थापनका लागि आन्तरिक एकता हो । जब आन्तरिक रूपमा एकताको अभ्यास हुन्छ, बाह्य प्रभाव स्वतः नियन्त्रणमा आउँछ ।
राष्ट्रको भविष्य साझा सोच र दीर्घकालीन निर्णयमा निर्भर छ । अहिले देखिएका राजनीतिक तनाव, धार्मिक विवाद, सांस्कृतिक अस्पष्टता र आर्थिक चुनौतीहरू केवल सत्ता परिवर्तनबाट समाधान हुँदैनन् । यसको समाधान अन्ततः ‘संवाद, सहमति र राष्ट्र निर्माणमा केन्द्रित सहकार्य’ द्वारा सम्भव हुन्छ । नेताहरूले अब आत्मावलोकन गर्दै राष्ट्रको भविष्य सुरक्षित गर्ने साहसिक निर्णय लिनुपर्छ ।
नेतृत्व पुस्ताबाट आरम्भ हुने परिवर्तन युवामा देखिनुपर्छ, युवाबाट सुरु हुने सकारात्मक ऊर्जा नेतृत्वमा प्रतिबिम्बित हुनुपर्छ। यसका लागि सबै राजनीतिक शक्ति केन्द्रहरू, राजसंस्था, युवा पुस्ता र नागरिक समाज एकै धारमा उभिनुपर्छ।
अन्ततः, वर्तमान अवस्थामा सबै नेपालीले एउटै कुरा स्मरण गर्न आवश्यक छ- देश रह्यो भने हामी सबै रहन्छौं; देश कमजोर भयो भने कोही बाँकी रहने छैन । साना मतभेद, पदको लडाइँ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र भविष्यलाई प्राथमिकता दिन सकेमात्र नेपाल दीर्घकालीन रूपमा सुरक्षित, समृद्ध र स्थिर बन्न सक्छ । अबको बाटो स्पष्ट छ राष्ट्रपहिले, समाधानमुखी सहकार्य, सांस्कृतिक पहिचानको संरक्षण, युवाको नेतृत्वमा विश्वास र साझा राष्ट्रिय रणनीति। आजको निर्णयले भोलिको पुस्ताको भविष्य लेख्नेछ । यसर्थ, आज हामी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ‘राष्ट्र पहिलो’ भन्ने अटल विश्वासका साथ कदम चाल्न सके इतिहासले भोलि हामीलाई केवल दर्शक होइन, नेपाललाई संकटबाट सम्भावनातर्फ मोड्न सफल पुस्ताका रूपमा स्मरण गर्नेछ।
(लेखक नागरिक शक्ति नेपालका केन्द्रीय सदस्य हुन् ।)
प्रतिक्रिया