‘कन्सल्टेन्सी’को लहैलहैमा सन्तान र पूँजी दुवै गुमाउँदै अभिभावक !
✍ रुषा थापा

केही वर्षयता अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्सलगायत विकसित मुलुक जानेहरूको लर्को छ । यहाँ प्लस टु सकिएपछि उच्च शिक्षा हासिल गर्न भन्दै लाखौँ खर्चिएर नेपाली युवाहरू यी विकसित देश गइरहेका छन् । यसरी पढाईका निम्ति विशेषगरी अमेरिका, अष्ट्रेलिया जाँदा पहिल्यै आफ्नो अभिभावकको नाममा भएका सम्पत्ति विवरण देखाउनुपर्छ ।
आफ्ना सन्तानलाई त्यहाँ पठाउन अभिभावकहरू पनि आफ्नो यति सम्पत्ति रहेको भन्दै कन्सलटेन्सीमार्फत विवरण बुझाउँछन् । घरजग्गाको नक्सा र लालपूर्जा, सवारीसाधनको ब्लुबुक, बैंक ब्यालेन्सको स्टेटमेन्ट र मासिक आम्दानीको विवरण पेश गरिन्छ । त्यो रकमले सम्बन्धित विद्यार्थीको पढाई र बसाइ अवधिभर पुग्छ कि पुग्दैन ? अध्ययन गरेर मात्र अमेरिका, अष्ट्रेलियाले भिसा दिन्छ ।
अनि २० देखि ४० लाख रकम खर्च गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत देश गइन्छ । अब यहाँ रोचक कुरा के छ भन्दा कन्सल्टेन्सीमार्फत सम्बन्धित देशलाई बुझाइएको सम्पत्ति विवरण सबै झुट्टा हुन्छन् । भिसा लागेपछि फिर्ता गर्ने शर्तमा आफन्तको नाममा भएको घरजग्गा र सवारीसाधन आफ्नो नाममा ल्याइएको हुन्छ ।
यस्तै, बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारीलाई एकदेखि पाँच लाख रुपैयाँ घुस खुवाएर करोडौंको झुट्टो बैंक ब्यालेन्स देखाउन लगाइन्छ । मासिक आम्दानी पनि ढाँटिन्छ । आफू काम गर्ने कार्यालयको हाकिमलाई आफ्नो छोराछोरी अमेरिका, अष्ट्रेलिया पठाउनुपर्ने भएकाले झुट्टो आम्दानी (तलब) विवरण बनाउन लगाइन्छ ।
सम्पत्ति विवरणसँगै भिसाका लागि प्लस टु राम्रो अंक ल्याएको शैक्षिक प्रमाणपत्र पनि त चाहियो । आजकल धेरैजसो विद्यार्थीको पढाई राम्रो हुँदैन । अझ भन्नुपर्दा कतिपयले प्लस टु पाससमेत गर्न सक्दैनन् । आमाबुबा धनी हुन्छन्, छोराछोरी पढ्दैनन् । अनि छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया पठाउन बाउआमाले आफ्नो पैसा र पहुँचको प्रयोग गर्छन् । झुटो सर्टिफिकेट बनाउँछन् । त्यो पनि ए प्लस वा ४ जीपीए आएको भन्दै । पर्याप्त सम्पत्ति र विद्यार्थीको पढाई पनि राम्रो देखेपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्सलगायत मुलुकले सजिलै भिसा दिन्छन् । भिसा लागेपछि कन्सल्टेन्सीलाई २० देखि ४० लाखसम्म तिर्नुपर्छ । सम्पत्ति विवरण नढाँटेकाले त त्यो रकम सजिलै तिर्छन् ।
तर, सम्पत्ति विवरण ढाँटेकाहरू छोराछोरीको भिसा आएपछि आफन्त वा बैंककहाँ पुग्छन्, ऋण माग्न । मासिक १८ देखि ४८ प्रतिशतसम्म ब्याजमा उनीहरूले २० देखि ५० लाख रुपैयाँसम्म ऋण लिन्छन् । अनि त्यो रकम कन्सल्टेन्सीलाई बुझाएर छोराछोरीलाई अमेरिका, अष्ट्रेलियाजस्ता विकसित मुलुक पठाइन्छ । धेरैजसो अभिभावकले सोचेका हुन्छन् कि आफ्नो सन्तान त्यहाँ पुगेपछि कमाइहाल्छन्, ऋण तिरिहाल्छन् ।
छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा पुगेको केही महिनामै करोडौं कमाएर नेपाल पठाउने उनीहरूले आशा गरेका हुन्छन् । तर, सन्तति त्यहाँ पुगेपछि ठ्याक्कै उल्टो हुन्छ । वर्षौं बितिसक्दासमेत उनीहरूले पाँच लाखसमेत पठाउन सक्दैनन्, जाँदा लिएको ऋण तिर्नु त परको कुरा हो । पढ्न भनेर गइएको हुन्छ, अनि रोजगारी पाइँदैन ।
रोजगारी पाएपछि हप्तामा एक/दुई दिन । त्यो रकमले त्यही कलेज फ्रि र खान-बस्न ठिक्क छ । अर्कोतर्फ, कतिपयले काम पाएपनि गर्न सक्दैनन् । नेपालमा हुँदा आमाबुबाले प्लस-टुसम्म झोका बोकिदिएर पढाएका हुन्छन् । उनीहरूले यहाँ सिन्को भाँचेका हुँदैनन् । अनि अमेरिका, अष्ट्रेलियामा भाडा माझ्नु परेपछि उनीहरूलाई ज्वरो आउँछ ।
सानो काम उनीहरू गर्दैनन्, ठूलो काम पाउँदैनन् । अनि यता अभिभावकको दबाब, उता कमाउन नसकेपछि कतिपयले आत्महत्याको बाटो रोज्छन् । जुन पछिल्लो समय बढिरहेको देखिन्छ । यहाँबाट अमेरिका, अष्ट्रेलियामा पैसाको रुख भएजसरी खुशी हुँदै गएकाहरू त्यहाँ पुगेको केही समयमै आत्महत्याको बाटो रोज्ने क्रम बढ्दो छ ।
कतिपय अभिभावकको एउटै सन्तान हुन्छन् । छोरा वा छोरीको भविष्य राम्रो होस् भनेर अभिभावकले ऋण लिएर वा आफूले जीवनभर कमाएको पैसाबाट अमेरिका, अष्ट्रेलिया पठाएका हुन्छन् । तर, सन्तानले उतै प्राण त्यागेपछि अभिभावकहरूको बिचल्ली हुन्छ । सँगै जीवनभर कमाएको पैसा पनि सकिँदा बुढेसकालमा अभिभावकको अवस्था दयनीय बन्न पुग्छ ।
अझ ऋण लिइ-लिइ अमेरिका, अष्ट्रेलिया पठाएको सन्तानले आत्महत्या गरिरहँदा एकातिर त्यो पीडा त अभिभावकलाई हुन्छ नै अर्कोतिर ऋण तिर्न नसकेपछि बैंकको कालोसूचीमा पर्ने, जेलजीवन काट्नुपर्ने, आफन्त टाढिने वा लुकेर हिँड्नुपर्ने अवस्था आउँछ । यसरी अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकको रहर र सपनामा धेरैको भविष्य र परिवार तहसनहस हुन पुगेको छ ।
यसमा मुख्य हातचाहिँ कन्सल्टेन्सीको पाइन्छ । विद्यार्थीहरू प्लस टु पढिरहँदा कन्सल्टेन्सी ले कर्मचारी वा एजेन्ट खटाएर उनीहरूलाई भड्काउँछन् । अमेरिका, अष्ट्रेलियामा यस्तो अवसर छ, त्यहाँ गयो भने भविष्य बन्छ, सजिलै कमाइन्छ, नेपालमा बसेर केही हुँदैन भन्दै विद्यार्थीलाई भड्काउने गरिन्छ । आफ्नो अफिसमा लगिन्छ । र, आफूहरूले पठाएको विद्यार्थीले अमेरिका, अष्ट्रेलिया, क्यानडामा यतिधेरै प्रगति गरेको भन्दै झुटो भिडियोहरू देखाइन्छ ।
विद्यार्थीहरू विश्वासमा पर्छन् । उनीहरू सोच्छन् कि म पनि त्यहाँ गए भने महिनाकै लाखौं कमाउन सक्छु, पढ्दै कमाउन सक्छु, जुन अवसर नेपालमा छैन । उनीहरू अभिभावकलाई मनाउँछन् । सन्तानको जिद्दीको अगाडि अभिभावकको केही लाग्दैन । अन्ततः अभिभावक मान्छन् । छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया पठाउन ।
अभिभावकले मानेपछि कन्सल्टेन्सीको उल्टो-सुल्टो ‘धन्दा’ शुरु हुन्छ । कहिले के त कहिले केको लागि भन्दै रकम असुल्छ । सन्तानलाई अमेरिका, अष्ट्रेलिया पठाउने सबै अभिभावक धनी हुन्छन् भन्ने हुँदैनन् । आफ्नो आर्थिक गक्षले नसक्ने बुझेपछि अभिभावकहरू पन्छिन खोज्छन् । छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया नपठाउने निर्णयमा पुग्छन् । अनि कन्सल्टेन्सीले यसमा भूमिका खेल्छ ।
आफ्नो फाइदाका निम्ति उसले विद्यार्थी र तिनका अभिभावकलाई नक्कली सम्पत्ति विवरण र शैक्षिक प्रमाणपत्र बनाउन लगाउँछन् । त्यसमा सहयोग पनि गर्छन् । कन्सल्टेन्सीको लागि त यो सजिलो काम हो । किनकि उसले यसरी नै विद्यार्थी पठाउँदै आएको हुन्छ । अनि कन्सल्टेन्सीले जे-जे भन्छन्, विद्यार्थी र अभिभावकले त्यही-त्यही फलो गर्छन् ।
नक्कली विवरण र कागजात बनाउँछन् । छोराछोरीलाई अमेरिका, अष्ट्रेलिया पठाउँछन् । त्यसरी पठाएको सन्ततिले उता काम नपाएर, यता ऋण र अभिभावकको दबाब सहन नसकेपछि आत्महत्या गर्छन् । यसरी युवाले आत्महत्या गर्दा अभिभावकलाई मात्र होइन, सिङ्गो राष्ट्रलाई क्षति पुगिरहेको छ । देशले युवा गुमाउँछ र पुँजी पनि ।
त्यसकारण अब अमेरिका, अष्ट्रेलिया, क्यानडाजस्ता विकसित मुलुकको पछि नलागौं । सोचविचार गरेर मात्र आफ्ना सन्ततिलाई अध्ययनका लागि पठाऔं । ऋण गरेर जबर्जस्ती छोराछोरीलाई त्यस्ता देश नपठाऔं । किनकि, आफ्नो देशको पूँजी बाहिरिन नदिन उनीहरूले त्यहाँ कमाएको रकम त्यहीँ खर्च गर्न लगाउँछन् ।
विदेशी लाटा हुँदैनन् । उनीहरूले हरेक कुराको पहिल्यै योजना बनाएका हुन्छन् । उनीहरूले नेपाली युवा त्यहाँ गएर मरेकोबाट केही फरक पर्दैन, पर्छ त केवल पैसासँग । किनकि, आत्महत्या गरेपश्चात् समेत यत्तिकै शव दिइँदैन । पहिला त्यो देशमा मृतक विद्यार्थीले कलेजलगायतमा तिर्न बाँकी रहेको रकम तिर्नुपर्छ अनि मात्र अभिभावकले शव पाउँछन् । यसकारण कन्सल्टेन्सी हरूको झुट्टा प्रलोभनमा नफसौँ । सन्तानलाई विकसित मुलुक पठाउनुअघि सयचोटि सोचौं ।
विदेशमा पैसाको रुख हुँदैन, गर्नसके आफ्नै जन्मथलोमा पर्याप्त आम्दानी र अवसर छ । मेहेनत गर्न सक्नेलाई यहीँ अमेरिका, अष्ट्रेलिया छ । यो कुरा अब सरकारले जनतालाई बुझाउन आवश्यक छ । जनता पनि सचेत हुनुपर्छ । अरुको दिमागमा हिँड्ने होइन, आफ्नो दिमागको प्रयोग गर्ने हो । साथै, नेपालमा केही हुँदैन भनेर सर्वसाधारण उकास्ने कन्सल्टेन्सी हरूलाई कारबाही गर्नुपर्छ ।
प्रतिक्रिया