फागुन २१ मा निर्वाचन गर्ने म्याण्डेटसहित बनेको सरकारले सबै दल, जेनजी पुस्तालाई विश्वासमा लिन सकेको छैन । राजनीतिक दलहरू आफ्नै संगठनको नेतृत्व परिवर्तन र पुस्तान्तरणको विवादमा अल्झिएका छन् । पुरानो पुस्ता नेतृत्व छोड्नै नचाहने र नयाँ पुस्ता नेतृत्व पुस्तान्तरण गर्नैपर्ने हठमा अल्झिदा राजनीतिक दलको अबको नेतृत्व कस्तो आउँछ ? अन्योल छ ।
✍ इन्दु पूर्वेली
पृष्ठभूमि :
तत्कालीन सरकारले सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लगाएको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्नेगरी जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनले नसोचेको परिवर्तन ल्यायो । भदौ २३ गतेका लागि तय भएको शान्तिपूर्ण प्रदर्शन दिनको १२-१ नबज्दै जेनजी पुस्ताको नियन्त्रणबाहिर गयो । ‘अरुद्वारा परिचालित नभइ स्वचालित हुने पुस्ता’ भनिएपनि जेनजीले आह्वान गरेको आन्दोलनमा गैर जेनजी पुस्ताको प्रवेशले सोच्दैनसोचेका दुःखदायी घटना भए । २३ गते सरकारको बल प्रयोगबाट निर्दोष बालबालिकाको ज्यान गएको प्रसङ्ग होस् वा त्यसैको विरोधस्वरुप २४ गते बिहानैदेखि देशभरका सरकारी र निजी संरचनामा भएका आगजनी, तोडफोड र लुटपाटजस्ता अप्रत्यासित र अकल्पनीय घटना देखिए । जसले देशलाई बीसौँ वर्ष पछाडि धकेलेको छ ।
२४ घण्टामा सरकार ढाल्ने विश्व इतिहासमै नयाँ रेकर्ड बन्यो आन्दोलन । स्पष्ट नीति, सवल नेतृत्व र स्पष्ट कार्यदिशा नभएको आन्दोलनमा सहभागीहरूले आफ्नै इष्टमित्र, छरछिमेकी र समग्र देशमै आगो लगाएर उत्सव मनाएको कहालीलाग्दो दृश्य देखिए – सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती । छिमेकीको ग्वाली/परालमा आगो लाग्दा बाल्टी बोकेर कुँद्ने छिमेकी यसपटक देखिएनन् । आन्दोलनमा देखिएको दृश्यले समाज कता जाँदैछ ? – प्रश्न उठ्यो । आन्दोलनले राजनीतिमा पुस्तान्तरण, स्पष्ट परिणाम देखिने काम खोज्यो । आन्दोलनमा जे-जस्ता घटना देखिए र तत्कालमा जे परिवर्तन भयो, त्यसलाई इतिहासले मूल्याङ्कन गर्ला । तर अब के हुन्छ ? अन्योलको स्थिति छ । भनिन्छ- ‘बाटिएको कुचोले फोहोर बडार्छ तर जब कुचो फुक्छ, ऊ आफैं फोहोर बन्छ’ । आन्दोलनपछि जेनजी पुस्ताले स्पष्ट राजनीतिक निकास दिन सकेन, फरक नीति, फरक-फरक सिद्धान्त र विचार बोकेका जेनजीहरू एकैठाउँ बाटिएनन् बरु दिनप्रतिदिन फुक्ने क्रम जारी छ ।
फागुन २१ मा निर्वाचन गर्ने म्याण्डेटसहित बनेको सरकारले सबै दल, जेनजी पुस्तालाई विश्वासमा लिन सकेको छैन । राजनीतिक दलहरू आफ्नै संगठनको नेतृत्व परिवर्तन र पुस्तान्तरणको विवादमा अल्झिएका छन् । पुरानो पुस्ता नेतृत्व छोड्नै नचाहने र नयाँ पुस्ता नेतृत्व पुस्तान्तरण गर्नैपर्ने हठमा अल्झिदा राजनीतिक दलको अबको नेतृत्व कस्तो आउँछ ? अन्योल छ । पार्टी संगठनको भन्दा देशको भविष्यको चिन्ता लिएर स्पष्ट निकास खोज्ने बेलामा राजनीतिक दलहरू आ-आफ्नै पारिवारिक किचलोमा अल्मलिँदा अब देश र जनताको भविष्य के हुन्छ ? अन्योल छ । आन्दोलनमा जे देखियो त्यही प्रसङ्गतिर फर्किऔं –
गणेश पोखरेलको घरमा जे देखियो :
२०८२ साल भदौ ३० गते बिहान ९ः३० बजेतिर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको घरमा पुग्दा धुवाको धङधङी कायम थियो । आसपासका छरछिमेकी एवं केही सहयोगी लिएर पोखरेलको परिवार घरको सरसफाइमा लागेको थियो । जेन-जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते प्रदर्शनकारीले लगाएको आगोका कारण पोखरेलको घर पूर्णरूपमा ध्वस्त भएको थियो । सिमेन्ट चर्किएको थियो । इटाहरू लड्न मात्रै बाँकी देखिन्थ्यो । घरका झ्याल-ढोकाहरू फुटाइएका र जलाइएका थिए । प्रत्येक कोठामा झोसिएको आगोले दैनिक उपभोग्य सामग्रीदेखि फेर्ने लुगासम्म सबै जलेका थिए । तिनै जलेका लुगाहरू एक-एक गरी पल्टाइरहँदा कुनै सग्लो थिएन ।
‘घर नै गन्हाउन थालेपछि सरसफाइ गर्न थाल्यौं’- पोखरेलले यसो भन्दैगर्दा कोठाभित्रको पलङ पल्टाउँदै थिए सहयोगीहरू । पोखरेलकी श्रीमती जमुनाले दैलाको छेवैमा बसेर सबै लुगा टकटक्याइन् । सबै लुगाको कुनै न कुनै छेऊ आगोले नभेटेको थिएन । छान्दा-छान्दा तीनवटा टोपी र एउटा लेडिज कुर्तीचाहिँ जलेको रहेनछ । ‘यतिचाहिँ जलेको रहेनछ’ – भारु २० रुपैयाँका ४ वटा नोट देखाउँदै जमुनाले भनिन्- ‘बैष्णोदेवी जाँदाको प्रसाद थियो, योचाहिँ जलेनछ ।’ नोट सबै भिजेका थिए । सग्लो भेटिएका तीन टोपी र कुर्ती पनि हिलाम्य थिए । उनले पैसा, टोपी र कुर्ता बाहिरको रेलिङमा सुकाइन् ।
लगभग २०-२५ जनाको संख्यामा सरसफाइ गर्ने सहयोगीहरू खटिएका थिए । कोही घरभित्रका जलेका सामग्री बाहिर निकालिरहेका थिए भने कोही बाहिर निकालिएका सामान ट्याक्टरमा हाल्दै थिए । हामी पुग्दा दुई ट्याक्टर फोहोर फालिसकिएको रहेछ, तेस्रो ट्याक्टर फोहोर उठ्दैथियो । त्यहीक्रममा एउटा मिनीब्याग छेउछेउमा मात्रै आगोले भेटेको थियो तर भ्वाङ परेको चाहिँ थिएन । गणेश पोखरेले ‘यो पनि राख, केही केही राख्न त काम दिन्छ’ भन्दै श्रीमतीतिर हुत्याए । उनले समाएर राखेको दृश्य साँच्चै मर्मस्पर्शी थियो ।
७०वर्षे आमाको आँशु :
लगाएको लुगाभन्दा केही नबचेका पोखरेल परिवार २४ गते बेलुकादेखि नै स्थानीय तुङ्ग दाहालका घरमा आश्रय लिएर बसेको थियो । यी सबै दृश्य हेरिरहँदा गणेशकी आमा सुभद्राका आँखाभरी आशु थिए । उमेरले ७० को नेटो काट्दै गरेकी कपाल सेतै फुलेकी आमा भन्दै थिइन्- ‘राजनीति नगर भन्दा मानेन, गणेशले यो घरमा एउटा इटा पनि जोडेको छैन, बुवाले जागिर खाएको पैसा बचाएर एकतलो बनाएका थियौँ । कान्छो छोरो विदेश गएर पैसा पठाएपछि अर्को तलो थपेको । आज यो अवस्था भोग्नुपऱ्यो । अब कहाँ बस्ने ?’
सुभद्राका श्रीमान जीवनाथ पोखरेल खरदार लेवलको सरकारी जागिर खान्थे । उनीहरूको परिवार पृथ्वीनगरमा बस्थ्यो । ‘पृथ्वीनगरमा भएको जग्गाजमिनमा दुःख गर्दै गाइभैसी पालेर दुध बेच्दै घरखर्च चलाएर जागिरको पैसा बचाएर बनाएको घर’, सुभद्राले जलेको भग्नावशेष घरतिर हेर्दै भनिन्- ‘कति दुःखले यति उभ्याएको थियो ।’ दुःखका बेलामा भेटघाटमा आएकी राजनीतिकर्मी लता चापागाईं सम्झाउँदै थिइन्- ‘दुःख नमान्नु आमा, नसोचेको भयो के गर्ने ?’ सुभद्राले पटक-पटक सलको सप्कोले चस्मा तान्दै आँशु पुछिरहिन् ।
मेची क्याम्पसमा अध्ययन गर्दैगर्दा स्ववियु सभापति भएपछि गणेश पोखरेल नेपाली कांग्रेसको राजनीतिमा सक्रियतापूर्वक देखिएका हुन् । दुईपटक झापा क्षेत्र नं. ३ को क्षेत्रिय सभापतिको कार्यकाल सम्हालिरहेका उनी यसअघिको निर्वाचनमा मेयर पदमा पराजित भए । पहिलोपटक लाभको पद अर्थात भद्रपुर नगरपालिकाको मेयरमा निर्वाचित उनको आधा कार्यकाल मात्रै चल्दैछ । तर नगरमा थुप्रै विकास भएको स्थानीयबासी बताउँछन् ।
यस्तो आन्दोलन देखेकै थिएन
त्यसो त प्रदर्शनकारीको निशानामा परेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको घरको हालत पनि उस्तै थियो । प्रत्येक कोठा-कोठामा पसेर पलङका प्लाइ, लुगा, महत्वपूर्ण कागजातहरू बाहिर निकालेर जलाइएका थिए । ‘राम्रा राम्रा सामग्री, गरगहनाहरू सबै चोरेर लगे’, थेवेकी बहिनी सीता थेवेले भनिन्- ‘पहिला घरभित्र पसेर सिसिटिभि फोरे, एकजना छतमा चढेर पानीको ट्याङ्की खोलीदिए । अनि आगो लगाउन ठिक्क पर्दा स्थानीयबासी भेला भएर घरमा आगो लगाउन दिएनन् । सबै सामान बाहिर निकालेर जलाए । ऐतिहासिक, सांस्कृतिक महत्वका पुराना सामग्रीहरू सबै चोरेर लगे ।’
प्रदर्शनकारीले प्रत्येक घरका कोठाकोठमा पसेर ट्वाइलेटको कमोडदेखि सबै दराजहरू फुटाएका थिए । असरल्ल सिसाका टुक्राहरू छरिएका थिए । ‘पूजाकोठादेखि भान्साकोठासम्म केही राखेनन्’, सीताले भनिन्- ‘यत्रो भइयो, धेरै आन्दोलनमा पनि हिँडियो, तर यस्तो आन्दोलन देखिएको थिएन । चोरी र लुटपाट बढी देखियो ।’
विरक्तिएर हिँडे चम्लागाईं :
कनकाई नगरपालिका वडा नं. ३ का वडाध्यक्षको घर पनि प्रदर्शनकारीको निशानामा पऱ्यो । ‘८ वर्षसम्म विदेश बसेर कमाएको पैसाले उनले त्यही एउटा घर जोडेका थिए’, स्थानीय लीलाप्रसाद चिमरियाले भने- ‘अहिले घरभित्र पस्न सक्ने अवस्था छैन, घरका कुनै पनि सामान बचेका छैनन् ।’ उनी विरक्तिएर घर फर्किएनन् । बरु वडाअध्यक्षको जिम्मेवारी अर्कैलाई दिएर विदेशिए । उनका छोरा-बुहारी विदेशमा रहेकाले उनी भारतीय बाटो प्रयोग गर्दै २४ गते बेलुकै विदेशिएको बताइन्छ ।
झापाका लगभग ५० वटा ब्यक्तिका घर आन्दोलनकारीको निशानामा परेका थिए । त्यसमध्ये कोशी प्रदेश सांसद गोपाल तामाङ, गणेश पोखरेल, युवराज चम्लागाईंसहित धेरैको घर पूर्णरूपमा नष्ट भएको थियो भने केहीमा आंशिक क्षति पुगेको थियो ।
त्यो कालो दिन :
२०८२ भदौ २३ र २४ गते नेपालका लागि कालो दिन बन्यो । जेन-जी आन्दोलनका नाममा २३ गते प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले संसद् भवनभित्रै पसेर तोडफोड गर्न थालेपछि सरकारले सार्वजनिक सम्पत्ति बचाउन शक्ति प्रयोग गऱ्यो । सरकारको शक्ति प्रयोगकै कारण सोही दिन १९ जना विद्यार्थीको मृत्यु भएपछि आक्रोशित बनेका जेन-जीले २४ गते श्रद्धाञ्जलीसभा गर्ने भनी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
भदौ २४ गते बिहानैदेखि देशका विभिन्न स्थानमा जेन-जी आन्दोलनका नाममा सडकमा निस्किएका प्रदर्शनकारीले देशकै महत्वपूर्ण, ऐतिहासिक धरोहरहरूमा एकपछि अर्को गर्दै आगजनी गरे । काठमाडौंसहित देशभरका सरकारी एवं राजनीतिक दलका कार्यालयहरू प्रदर्शनकारीको निशानामा परे । आगजनी, तोडफोड र लुटपाट शैली अपनाइएको प्रदर्शनका अधिकांश स्थलमा आगजनी, तोडफोड र लुटपाटमा कालो टिसर्टधारी युवाहरू अधिक देखिन्थे । काठमाडौंका प्रदर्शनमा ‘TOB’ लेखिएको कालो टिसर्ट प्रयोग भएको र यो ‘फ्रि तिब्बत’ आन्दोलन चलाइरहेकाहरू हुनसक्ने शंकामा पक्राऊ परेका ब्यक्ति अनुसन्धानमै छन् । त्यसो त मुख्यगरी नेपाली कांग्रेस र नेकपा एमालेका मुख्य पदीय दायित्वमा रहेका, स्थानीय तहको नेतृत्व गरेका नेताहरूको घरमा छानी-छानी तोडफोड र आगजनी गरियो ।
कतिपय स्थानमा प्रदर्शनकारीका हातमा फरुवा, झम्पल, गैंती, बेल्चा, हँसिया, खुकुरी लगायतका धारिला हतियार देखिन्थे भने मादल, डम्फु र नौमती समेत देखिन्थ्यो । काँधमा राष्ट्रिय झण्डा ओडेर सरकारी सम्पत्तिमाथि आगजनी गर्दै उत्सव मनाउने शैलीको आन्दोलनमा सहभागी के साँच्चै नेपाली थिए ? उनीहरूलाई नेपालप्रति गर्व अनुभूति हुन्छ ? आफू हारेर देशलाई जिताउने साहस सच्चा नेपालीमा हुन्छ, तर देशलाई खरानी बनाएर उन्मादमा नाच्ने के साँच्चै जेन-जी पुस्ता हुन् ? यो आन्दोलनका पछि कसको शक्ति र हात छ ? अहिले आम नेपालीको प्रश्न यही हो ।
आन्दोलनपछिका प्रश्न :
जेन-जी आन्दोलनपछि राजनीतिक ध्रुवीकरण बढेको छ । परिवर्तन पक्षधर जेन-जी युवाहरूका साझा मुद्दा छैनन् । सुशासन, सामाजिक सञ्जाल प्रयोगलाई मुख्य एजेण्डा बनाएर शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर प्रदर्शनमा उत्रिएका जेन-जीहरूबीच एकता, धैर्यता र साझा एजेण्डा अझै देखिएनन् । राज्य सञ्चालन ख्यालठट्टा होइन, संविधान मान्ने कि नमान्ने ? प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री निर्वाचित गर्न संविधान संशोधन कसरी हुन्छ ? यी प्रश्नहरूमा जेनजीका थरी-थरी मत छन् । ‘जसरी पनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री’ र प्रदेश खारेजीको माग प्रतिनिधिसभा भएको भए जनप्रतिनिधिमार्फत नै संविधान संशोधन गरेर पूरा गर्न सकिन्थ्यो होला । तर, अब त्यो अवस्था रहेन भने वर्तमान सरकारले संविधान संशोधन गर्ने संवैधानिक ब्यवस्था र अधिकार पनि छैन । जेनजी अगुवा मानिएका मिराज ढुङ्गानाले गत भदौ २३ गते अन्तरवार्ताका क्रममा भनेका थिए- ‘हामी कसैद्वारा परिचालित छैनौं, स्वचालित छौं ।’ नेतृत्वविहीन देखिएको जेन-जी पुस्तामा न साझा एजेण्डा छ न त नेतृत्व । नेतृत्व र एजेण्डाविनाको राजनीति आक्रोश र आवेगमा बगेको देखिन्छ यसले निकासको सट्टा देशमा विनासको बाटो खनिरहेकोतर्फ जेन-जी पुस्ता सचेत हुनैपर्छ । अझ आन्दोलनका क्रममा पानी बाड्दै हिडेका, जेनजी उमेर पार गरिसकेका सुदन गुरुङले हरेक वार्ता संवादमा जेन-जी पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् । यसप्रति जेनजी पुस्ताको असन्तुष्टिले राजनीतिक अस्थिरता निम्तिने उत्तिकै जोखिम छ । त्यतिमात्रै नभएर पछिल्लो समय प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई हटाइदिने भन्दै दिनेगरेको चेतावनी, भाषाशैलीको प्रयोग र प्रस्तुती लज्जास्पद छन् ।
राजनीतिक अस्थिरता :
जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा देखिएको क्रिया-प्रतिक्रियाले नेपालमा राजनीतिक अस्थिरताको बिजारोपण भएको महसुस गर्न कठिन छैन । आफ्नै पालिकाभित्र पर्ने सिंहदरबार जल्नबाट जोगाउन नसकेका काठमाडौंका मेयर बालेन्द्र साहले आन्दोलनको योजनाकारको आरोप मात्रै खेपिरहेका छैनन्, उनी र आन्दोलनपछि सर्वाधिक चर्चामा आएका सुदन गुरुङविरुद्ध नेकपा एमालेनिकट युवा संगठन र नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनको राज्यद्रोहको आरोपसहितको किटानी जाहेरी दिएका छन् । त्यसो त भदौ २३ गतेको आन्दोलन दबाउन शक्ति प्रयोग गरेको आरोपमा ‘हत्यारा’को अभियोगसहित तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि उजुरी छ । दुवै उजुरी छानविन आयोगमा पठाएर प्रहरीले क्षणिक समयका लागि ‘सेफ लेण्डिङ’ गरेपनि यसले समाज दुई कित्तामा विभाजित भएको देखाएको छ । त्यसो त जेन-जी पुस्ताका बीच अनेकता देखिनु राजनीतिक अस्थिरताको अर्को खतरा हो ।
तोकिएको फागुन २१ गते नै निर्वाचन भयो भने निर्वाचनपछि आउने जनमतको आधारमा एकले अर्कामाथि कारबाहीको डण्डा सोझ्याए राजनीतिक अस्थिरता झन् बढ्ने स्पष्ट संकेत देखिन्छ ।
अनिश्चित निर्वाचन :
फागुन २१ गते निर्वाचन गराउने म्याण्डेटसहित सत्तामा पुगेकी सुशीला कार्कीको समय दिनदिनै घटिरहेको छ । निर्वाचन गराउनका लागि प्रधानमन्त्रीले खेल्नुपर्ने भूमिका कमजोर देखिन्छ भने सर्वपक्षीय वार्ताकै लागि पनि उनले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग लिएको देखियो ।
सुशासनका लागि लामो समयदेखि सत्तामा रहेका दलका नेताहरूमाथि यही सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने जेन-जी पुस्ताको मागले नै निर्वाचनको मिसन असफल हुनसक्ने जोखिम छ । किनकि, वर्षौदेखि राजनीतिमा लागेर राणा शासन, पञ्चायती ब्यवस्था, १०वर्षे जनयुद्ध, राजा ज्ञानेन्द्रको ‘कू’का विरुद्ध लडेको पुस्ता पार्टी राजनीतिमा सक्रिय छ । त्यो पुस्ताले तत्काल आ-आफ्ना नेतृत्वमाथि कारबाही हुँदैगर्दा निर्वाचनमा जाला ? भन्ने प्रश्न एकातिर छ । जन्मदै स्वतन्त्रता उपभोग गरेको पुस्ता जेन-जी मुभमेन्टमा सक्रिय छ । उसले तत्काल लामो समय सत्ता सम्हालेका नेताहरूको सम्पत्तिमाथिको छानविन र कारबाहीलाई मुख्य एजेण्डा बनाइरहेको छ । कारबाही प्रक्रिया अघि बढाउँदा राजनीतिक दल र नबढाउँदा जेनजी पुस्ता निर्वाचनमा सहभागी नभए निर्वाचन अनिश्चित देखिन्छ, असफल हुन्छ ।
फेरि एकैदिनमा देश खरानी बनाउने जेन-जी पुस्ताको आन्दोलनमा देखिएको चरम असुरक्षाले सरकारले जनतालाई शान्तिपूर्ण र निश्पक्ष निर्वाचनको प्रत्याभुति दिन सक्छ ? आम जनताको प्रश्न छ ।
प्रतिक्रिया