आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मङ्सिर २०८२ आइतबार, ७ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मङ्सिर २०८२ आइतबार, ७ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष २१ गते तद्अनुसार सन् २०२५ डिसेम्बर ७ तारिख रविवार पौष कृष्ण पक्षको तृतीया तिथि आर्द्रा नक्षत्र १०ः४० पर पुनर्वसु नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा ध्वंक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ ।

आजको राशिफल

मेष – सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ भने सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । आफ्नै प्रयत्नले जटिल कार्यमा सफलता प्राप्त गर्न सकिने योग छ । केही चुनौती बढेपनि कर्मबल प्रप्त हुनेछ ।

वृष – काममा केही चुनौती देखिएपनि विभिन्न अवसरले पछ्याउने समय छ । सोचेको काम समयमा सम्पादन गर्नका लागि विशेष जोडबल लगाउनुपर्ला । सामान्य लापर्वाहीले पनि महत्वपूर्ण अवसर फुत्कने सम्भावना रहेकोले अत्यन्त सजग रही कार्य–व्यवहार गर्नुहोला । धेरैले सहयोगको तत्परता देखाउनाले नसोचेको फाइदा उठाउन सकिने योग छ । आरोग्यबल बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।

मिथुन – स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । गरिएको काममा भने सफलता नै मिल्नेछ । पढाइलेखाइमा खासै ध्यान दिन नसकिए पनि रोकिएको काम मिहिनेतले बन्नेछ । रमाइलो यात्रा हुनुका साथै यात्रागत कार्य सार्थक रहला । आरोग्यबल बढ्नेछ । सुख–सुविधाको बस्तु खरिदमा मन जाला । योजना र बजेट बनाइ आर्थिक व्यवहार गर्नु बेस होला । अप्रिय समाचारले खिन्नता बढ्नसक्ने योग रहेको छ ।

कर्कट – कुनै पनि प्रकारको शारीरिक एवम् आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधनबाट विशेष लाभ प्राप्त हुने योग छ । मित्रजनको साथ मनोरञ्जनपूर्ण यात्रा हुनसक्छ । व्यापार–व्यवसाय लाभप्रद नै रहनेछ । आयबल बढ्नेछ । समग्रमा दिन उत्साहवर्द्धक रहला ।

सिंह – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ । बोली र व्यवहारमा सरलता अपनाउनु हितकर होला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजनका साथै बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । खर्च भने केही बढ्न सक्छ ।

कन्या – आजको दिन अरूका काममा समय बित्न सक्छ । महत्वपूर्ण काम समयमा पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । आरोग्यबल वृद्धिका साथै साहसिक काममा आकर्षण रहला ।

तुला – प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय छ । धैर्यसाथ प्रयत्न गर्दा रोकिएका कामसमेत सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । कृषि क्षेत्रबाट पनि सामान्य लाभ नै मिल्ने देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्ला ।

वृश्चिक – आजको ज्यादा समय बाध्यतापूर्ण काममा बित्न सक्छ । नियमित कार्यमा अवरोध आइपर्नुका साथै स्वास्थ्य केही कमजोर रहन सक्छ । महत्वपूर्ण कार्यमा पनि खासै जाँगर नलाग्ने देखिन्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ, सजग रहनुहोला । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

धनु – काममा केही प्रतिस्पर्धा गर्नुपर्ने र द्विविधामा परिने वा निर्णायक क्षमतामा कमी आउने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा समेत परिएला । चुनौतीको सामना गर्नुपर्नेछ । सहयोगी वा हितैषी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । यसका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मित्रजनको सहयोगले रोकिएको काम पुनः अघि बढ्न सक्छ ।

मकर – आम्दानीदायक कार्यमा आकर्षण रहने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना प्रवल छ । मन लगाएर गरेका व्यवसायिक कर्मबाट राम्रै फाइदा उठाउन सकिने देखिन्छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । आजको दिन खर्च भने केही बढ्न सक्छ ।

कुम्भ – नियमित व्यवसायबाट आम्दानी बढ्ने दिन छ । ब्यस्तता बढेपनि श्री वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ नै हासिल हुने देखिन्छ । मित्रजनले सोचेअनुसार साथ दिनाले उत्साह वृद्धि होला । आफन्तको सहयोगले काम बन्नेछन् । दाम्पत्यजीवन सुखद रहने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । नियमित कार्यमा रुचि लाग्नेछैन, तथापि प्रयास गर्दा रोकिएका काम बन्नेछन् । खर्च केही मात्रामा बढ्ने देखिन्छ । व्यवसायमा लगानी वृद्धिको आवश्यकता पर्ला । समस्यामा विपरीतलिंगी मित्रको सहयोग प्राप्त हुनेछ । अरूको भर पर्दा धोकामा परिने सम्भावना छ, सजग रहनुहोला । आर्जित धन तत्काल खर्च हुनसक्ने योग रहेको छ । आरोग्यता रहनेछ । सन्तानपक्षबाट सुख बढ्नेछ ।