मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर

मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर


पोर्चुगलको लिस्बनमा रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबार (६ डिसेम्बर)देखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो । घुम्ती सेवा सुरु भएसँगै शिविरस्थलमा सेवाग्राही आउने क्रम चलिरहेको र झण्डै २० नेपालीले सेवा लिइसकेको टोलीले जनाएको छ ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई घुम्ती शिविरमार्फत मदेइरामै सेवा दिन सुरु गरिएको राजदूत पौडेलले जानकारी दिएका छन् । दुई दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट मदेइरा क्षेत्रमा बसोबास गर्ने एक सय बढी नेपालीले सेवा लिने अपेक्षा गरिएको उनले भनाइ छ । आज आइतबारसम्म सञ्चालन हुने शिविरमा उपस्थित भई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन मदेइरावासी नेपाली समुदायलाई विशेष आग्रह गरिएको छ ।

शिविर अवधिभर दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद ६ महिनाभन्दा कम रहेकाको विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्नेछ । यस्तै प्रहरी रिपोर्ट, पारिवारिक कागजातलगायत अन्य कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा प्रमाणीकरणलगायतका सेवा प्रदान गरिने दूतावासले जनाएको छ । दूतावासले मदेइरा टापुमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गरेको हो ।

घुम्ती शिविरले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका मदेइराबासी नेपालीलाई राहत मिलेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले बताए । मदेइरामै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन पाउँदा मदेइरा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि अत्यन्तै सहज भएको सुवेदीको भनाइ छ । यसअघि गत महिना पनि दूतावासले पोर्चुगलको फारो शहरमा घुम्ती शिविर सञ्चालन गरेर दुई सय नेपालीलाई सेवा दिएको थियो ।

file photo