गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक


गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक भएको छ । उक्त गीतको अडियो ओसियन म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार राईको शब्दलाई संगीतकार ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले प्राण भरेको छ ।

गायिका पेमाले दर्जनौँ गीत गाएकी छन् भने संगीतकार ओमप्रकाश राईले सयौं गीतमा संगीत भरेका छन् ।

सार्वजनिक गीतको एरेञ्ज सन्तोष प्रगाढ राईले, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गरेका छन् । गीतले एकतर्फी प्रेमको पीडा र चोखो प्रेमको आत्मीयता प्रस्तुत गरेको छ ।

यसअघि गीतकार राईका दुई गीत रेकर्ड भएका छन् । २०७५ सालमा शिला खनालले उनको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् ।

त्यस्तै २०७९ सालमा मनमा बी राईले उनको ‘सञ्चो छौ बिसञ्चो’ गीत गाएकी थिइन् । उनको ‘सञ्चो छौ बिसञ्चो’ गीतलाई २०८१ सालमा नवराज पराजुलीले पनि गाएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, खोटाङका गीतकार राई साहित्य लेखन र पत्रकारितामा उत्तिकै सक्रिय छन् । उनले साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनका दुई बालकथासंग्रह ‘पोलेको मकै’ (२०७८) र ‘टोली नेता’ (२०७४) प्रकाशित छन् ।

‘लघुकथा सौन्दर्य’मार्फत लघुकथाको विधागत उन्नयनमा लागेका गीतकार राईका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छन् । उनको संयोजन तथा विमल भौकाजीको सम्पादनमा हालै ‘बलेँसी’ सामुहिक लघुकथासंग्रह पनि प्रकाशित छ ।

रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन् ।