बाबुरामजी हट्नैपर्छ : युवा नेता नेत्रविक्रम चन्द विप्लव

बाबुरामजी हट्नैपर्छ : युवा नेता नेत्रविक्रम चन्द विप्लव


एकीकृत नेकपा माओवादीका प्रभावशाली युवा नेता नेत्रविक्रम चन्द विप्लव सो पार्टीको फरक विचार समूहमा पनि महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । सङ्गठन, सेना र नेतृत्वमा उत्तिकै पकड जमाउन सफल नेता विप्लव प्रचण्डबाट विभिन्न आकर्षक जिम्मेवारीको अफर आउँदा समेत पदीय लालचको प्रभावमा नपरी पार्टीको नीति, विचार एवम् सिद्धान्तप्रति निष्ठाका साथ प्रतिवद्ध रहँदै आउनुभएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे नेता विप्लवसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी :
मुलुकको राजनीतिले नयाँ मोड लिएको परिवेशमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने आधार छ कि छैन ?
– राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने हाम्र पनि धारणा हो । त्यसका लागि वातावरण बन्न सक्छ भन्ने हामीलाई लाग्छ । तर, यो वातावरण बन्नुअघि सरकार बन्ने मूल आधारहरु, सरकारका आगामी नीति तथा कार्यक्रम के–कसरी तय गर्ने भन्नेमा छलफल गरी तय गर्नु पर्दछ ।
यसमा कुरा मिले संयुक्त या राष्ट्रिय सरकार बन्न सक्छ भन्ने हामीलाई लाग्छ ।
प्रधानमन्त्रीले जुन ढङ्गमा आगामी मङ्सिर ७ गते चुनावको घोषणा गर्नुभएको छ, यसले सहमतिको सरकार बनाउन रोक्छ कि रोक्दैन ?
– योचाहिँ बाबुरामजी र प्रचण्डजीले अवैधानिक या असंवैधानिक रुपले नै घोषणा गर्नुभयो । यस घोषणालाई कहीँ–कतैबाट पनि सही सावित गर्न सकिने आधार छजस्तो लाग्दैन । उहाँहरु न संविधानसभामा उपस्थित हुनुभयो न संसदमा नै । यसले पनि उक्त घोषणामा अवैधानिकताको गन्ध आउँछ । कानूनी र राजनीतिक दुबै दृष्टिबाट यो कुरा गलत छ । यो सफल हुँदैन ।
त्यसोभए बाबुराम भट्टराईको सरकारले संविधानसभाको चुनाव गराउन सक्दैन ?
– वैधानिक नै नभएकोले कसरी सक्छ ? यस्तो गर्न लागियो भने त हामी भाग नै लिँदैनौँ भनेर हामीले भनिसकेका छौँ ।
सरकारको यस कदमविरुद्ध दलहरु आन्दोलनमा जाने पनि भनिरहेका छन्, तपाईंहरुको भूमिकाचाहिँ के रहन्छ नि ?
– दलहरुसँग हाम्रो छलफल चलिरहेको छ, हामी संविधानसभा, जनजीविकाजस्ता सबै विषयलाई लिएर आन्दोलनमा जाने सोचिरहेका छौँ । यस विषयमा पनि छलफल चलिरहेको छ ।
त्यसोभए काङ्ग्रेस–एमालेले सरकारविरुद्ध आन्दोलन सुरु गरेमा तपाईंहरुको साथ रहन्छ ?
– अहिले बाबुरामजीले चालेको कदमविरुद्ध उनीहरुले आन्दोलन चालेमा हाम्रो समर्थन रहन्छ ।
आफ्नो कदम संवैधानिक नै छ र जसरी पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइन्छ भनी डा. भट्टराईले दाबी गर्नुभएकोमा तपाईं के भन्नुहुन्छ ?
– यस सन्दर्भमा त कामरेड वादलको हस्ताक्षरमा हामीले प्रेस वक्तव्य जारी गरिसकेकै छौँ । उक्त कदम असंवैधानिक भएकोले उनले गराउने निर्वाचनमा हामी भाग नै लिँदैनौँ ।
भनेपछि डा. भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा दिनैपर्छ ?
– हो, बाबुरामजी सरकारबाट हट्नु पर्दछ र सहमतिमा संयुक्त सरकार निर्माण हुनुपर्छ ।
राष्ट्रपतिले बाबुराम भट्टराईको सरकार कामचलाउ भएको स्पष्ट पारिदिनुभयो नि, यसलाई कसरी लिनुहुन्छ ?
– यसबारे प्रतिक्रिया दिन अलिकति अध्ययन पनि गर्नुपर्ला, तर प्रारम्भिक रुपमा भन्नुपर्दा बाबुरामजीको कदम असंवैधानिक रहेको परिवेशमा राष्ट्रपतिको निर्णयलाई अस्वाभाविक भन्न मिल्दैन । तर, यसबारे के–कति ठिक–बेठिक र हामीले कस्तो कदम चाल्नुपर्छ भन्नेमा अध्ययन र छलफल जरुरी छ । तर, यो कदमचाहिँ बाबुरामजीकै कारणले जन्मेको हो । अब अरु–अरुले अन्य गलत कदम चाल्न थाले भने पनि मूल कारकतत्वचाहिँ बाबुरामजी नै बन्ने अवस्था आयो ।
अब राष्ट्रिय सहमतिको सरकारको नेतृत्वचाहिँ कसले गर्नुपर्ला त ?
– यसमा छलफल नै आवश्यक छ । कोही पनि निचोडमा पुगिसकेका छैनन् । नेतृत्व हामीले गर्न पाउनु पर्छ भन्ने पनि छ । हाम्रा बादलजीको उम्मेद्वारी पनि प्रवल रहन सक्छ ।