जापानको कोमागाने शहरका मेयर र कास्की पोखरा समाज (जापान)बीच सहकार्यको तयारी

जापानको कोमागाने शहरका मेयर र कास्की पोखरा समाज (जापान)बीच सहकार्यको तयारी


  • जापान प्रतिनिधि

जापानको कोमागाने शहरका मेयर र कास्की पोखरा समाज (जापान)बीच आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा नेपाल-जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकाससम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहे ।

छलफलका प्रमुख एजेन्डाहरूमा पोखरास्थित मितेरी अस्पताललाई सहयोग पुर्‍याउने उद्देश्यले ‘फुरुसातो नोजेइ’ प्रणालीमार्फत क्लाउड फन्डिङ सञ्चालन गर्ने, कोमागाने शहरमा नेपाली समुदायको पहिचान झल्किने ‘नेपाली चौतारी’ निर्माण गर्ने, तथा केयरगिभर एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने विषयहरू रहेका थिए।

उक्त कार्यक्रममा कोमागाने शहरका मेयर इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिस्सु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सहकार्यले नेपाल-जापानबीचको मित्रता अझ मजबुत बनाउने र दुवै पक्षलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा छलफललाई ठोस कार्ययोजनामा रूपान्तरण गर्दै अघि बढाइने जनाइएको छ ।