कुनै पनि परिपक्व मानिसले हत्तपत्त बिनाकारण आँखाबाट आँसु झार्दैन । यदि झारिहाल्यो भने त्यसमा सामान्यतया सहानुभूति उत्पन्न हुन्छ । कहिलेकाहीँ आफूले कहिल्यै नदेखेको÷नचिनेको मानिस रुँदै गरेको देखियो भने पनि नरमाइलो लाग्छ । हरे बिचरा के भएको थियो होला… जस्तो लाग्छ । सामान्यतया मानिस भावनात्मक तनाव भएपछि त्यसलाई सहन नसकेर रुने गर्छन्, रोएपछि मन केहीछिन हलुकाझैं पनि हुन्छ । आँसु भन्ने चिज यस्तो हो जो दु:ख र खुसी दुवैमा झर्न सक्छ । निकै खुसी भएको बेला पनि आँसु झर्ने गर्छ तर त्यसप्रकारको आँसु झर्दाको परिवेश नै फरक हुने हुँदा खासै चर्चा, दु:ख या खुसीको विषय बन्दैन । यो मुलुकको उपप्रधानमन्त्रीसमेत भइसकेका कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठले गत हप्ता खसालेको आँसु जुन चर्चा पायो त्यसप्रकारको चर्चा आँखाबाट आँसु झार्नेहरूले बिरलै पाउने गर्छन् । संविधानसभाको विघटन हुन सक्ने सम्भावनालाई लिएर उनी मिडियाकर्मीसामु जुन प्रकारले भक्कानिए त्यो विश्वमा रहेका अधिकांश नेपालीका लागि हास्यव्यङ्ग्यको विषय बन्न पुग्यो । कसैको आँखाबाट बगेको ‘ओरिजिनल’ आँसुले यति धेरै तीता प्रतिक्रिया र गाली पाएको शायद अहिलेसम्मकै पहिलो घटना होला । उनको रुवाइको प्रतिक्रिया सबै प्रकारका मिडियामा समान रूपमा आयो । सामाजिक सञ्जाल फेसबुकमा अलि बढी नै आएको हो कि जस्तो पनि लाग्यो, यतिसम्म कि घरमा पालेको …रोयो भने अनीष्ट हुन्छ भन्छन्, देशमा कुनै ठूलै अनिष्ट हुन लाग्यो कि के हो ? भनेरसमेत लेखे मानिसले । सामग्री पस्किएको एक मिनेट नपुग्दै विश्वव्यापी हुने समयमा के लेख्न हुन्थ्यो के हुँदैनथ्यो भन्ने कुरा नै गौण बन्न लागिसक्यो । फेसबुकमा अहिले नेताहरूका जे–जस्ता फोटो र सामग्रीहरू आइरहेका छन् ती हेर्दा एकछिन रमाइलो लागे पनि यो निकै सोचनीय कुरा हो । त्यस्ता सामग्रीको नियन्त्रणमा कुन कानुन लाग्ने भन्ने कुरा हामीकहाँ छ तर त्यसप्रकारका सामग्री अन्य मुलुकबाट राखिँदा त्यसमा कहाँको कानुन प्रयोग गर्ने र कसरी भन्ने कुराबारे खासै जानकारी छैन । संविधानसभाको यो सम्पूर्ण चक्रमा पछिल्लो समयमा सबैभन्दा आलोचित नेता प्रचण्डनै बने । नेता प्रचण्डबारे जे–जस्ता सामग्रीहरू आए ती कतिपय असाध्यै ‘क्रिएटिभ’ र कतिचाहिँ ‘अति’ नै देखियो । मुलुकप्रति भावनात्मक भएर प्रस्तुत गरिएका केही सामग्रीले निकै चर्चा पाए । जस्तो राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको फोटो एकातिर र माओवादी नेता प्रचण्डको फोटो अर्कोतिर राखेर क्याप्सन लेखियो– यी जसले टुक्राटुक्रा राज्यलाई एक बनाएर राष्ट्र निर्माण गरे… यी जसले सम्पूर्ण रूपमा एक राष्ट्रलाई टुक्राटुक्रा पार्ने कोसिस गर्दै छन् । यस्तै अर्को चर्चित र मन छुने सामग्रीका रूपमा राजा महेन्द्र र नेता प्रचण्डको फोटो र उहाँहरूमध्ये राजा महेन्द्रको तस्बिरमुनि क्याप्सनमा ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ एवम् प्रचण्डको फोटोमुनिको क्याप्सनमा ‘मेरो देश मरेपनि म बाँचिरहुँ’ यी सामग्रीलाई फेसबुकमार्फत लाखौँलाख नेपालीले मन पराएको देखिन्छ । यसको अर्थ के हो भने राष्ट्रका बारेमा नेपाली कसैसँग कुनै पनि प्रकारको सम्झौता गर्न चाहँदैनन् । जातीय राज्यको माग गर्ने जनजातिसम्बद्ध प्रतिनिधिहरूसँगको भेटमा ल… तपाईंहरू जातीय राज्यका लागि सङ्घर्षमा उत्रिएर मलाई साथ दिनुस्… भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डको अलोकप्रियता ह्वात्तै बढेको हो ।
प्रसङ्ग नारायणकाजीको रुवाइको थियो । जतिसुकै क्रूर भए पनि या देखिए पनि हरेक मानिसमा कुनै न कुनै प्रकारको संवेदना हुन्छ, आफ्नै प्रकारका दु:खसुख हुन्छन् । सार्वजनिक जीवनमा रहेका मानिसमा भावनात्मक दु:ख र पीडाका कथाहरू हुँदैनन् भनेर कसैले ठान्छ र भन्छ भने त्यो गलत कुरा हो । जो जहाँ पुगे पनि जे गरे पनि जतिसुकै चर्चित बने पनि अन्तत: ऊ मान्छे नै हो, एउटा मानिसमा हुने सबै प्रकारका संवेदनाहरू उसमा हुन्छन् । फरक यति हो कि सार्वजनिक जीवनमा भएकाहरूले कतिपय कुराहरूमा आफूलाई गम्भीर रूपमा अनुभूति हुँदाहुँदै पनि केही नभएकोजस्तो देखाउनुपर्ने हुन्छ । तर, नेता नारायणकाजीको आँसुमा खै किन हो मानिसले भावनात्मक पीडा देखेनन् । दुई वर्ष अवधिको संविधानसभालाई लम्ब्याएर चार वर्ष पुर्याउँदा पनि केही गर्न नसकेपछि त्यो विघटनको सङ्घारमा पुग्न लाग्दा आँसु झार्नु भनेको वास्तवमै लज्जास्पद कुरा थियो । संविधानसभालाई स्थायी जागिर ठान्नेहरूमा मात्रै त्यसप्रकारको भावना आउन सक्थ्यो, त्यसैले पनि मानिसले त्यो आँसुलाई मन पराएनन् । यो घटनाले आँसु बगाउँदा पनि कुनै मान्छे हाँसोको पात्र बन्न सक्छ भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनले आँसु झार्नुअघि यो विषयमा त्यसरी सोचिएको थिएन ।
कुनै पुरुष रोयो भने महिलाको संज्ञा दिने हाम्रोजस्तो समाजमा पुरुषको रुवाइलाई विशेष रूपमा हेरिन्छ । हाम्रो सामाजिकीकरणको प्रक्रिया नै यस्तो छ कि सानैदेखि छोरो रोयो भने के केटीजस्तो रोएको ? छोरा भएर पनि रुने ? भन्ने गरिन्छ । फलत: छोराहरू प्राय: संवेदनाहरू भित्रभित्रै दबाएर हुर्किन बाध्य हुन्छन् । एक्लै बस्दा के गर्छन् भन्न सकिन्न तर दुई चारजना मानिसको अगाडि पर्दा प्राय: उनीहरू जतिसुकै पीडा भए पनि हतपत रुँदैनन् । आफूलाई बहादुर देखाउने कोसिस गर्दागर्दै कतिपय पुरुषको जीवन बितेर जान्छ । रुँदा लाछीको आरोप लाग्ने डरले भित्रभित्रै आफूलाई गुम्साएर राख्ने पुरुष धेरै हुन सक्छन् । यसको अर्थ महिला कुनै पनि बेला पनि रुन्छन् भन्ने पनि होइन, कतिपय महिला पुरुषभन्दा ‘स्ट्रङ’ रूपमा प्रस्तुत हुन सक्छन्, भइरहेका छन् । भावनात्मक संवेदना भन्ने कुरा व्यक्तिको प्रकृतिमा र प्रवृत्ति दुवैमा भर पर्ने कुरा हो । पुरुषमा पनि गहिरो संवेदना हुन्छ र उनीहरू पनि जिन्दगीका उतारचढावहरूमा खुलेर रुन र हाँस्न चाहन्छन् भन्ने कुरा अनौपचारिक सत्रहरूले प्रमाणित गर्ने गरेका छन् । जब साथीहरूसँगको ‘चिसो चिया सेसन’मा साँझ जमघट हुन्छ त्यस्तो बेलामा कतिपय पुरुष रुने गर्छन् । पुरुषलाई आफ्ना भावना व्यक्त गर्न, जिन्दगीका उतारचढावहरूमा रुन पनि रक्सीको सहारा लिनुपर्ने अवस्था समाजले नै सिर्जना गरिदिएको हो । कुनै घटना–सन्दर्भमा कुनै पुरुष भक्कानिएर रोयो भने उसले महिलाले भन्दा कैयौँ गुणा बढी सहानुभूति प्राप्त गर्छ । तर, पूर्वपरराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुनै कुराको सहारा नलिईकन रुँदा पनि कुनै प्रकारको सहानुभूति पाएनन् । यसको अर्थ के हो भने हाँसो जिन्दगीमा सधैँ राम्रो कुरा भए पनि कुनै गम्भीर घटना भइरहेको अवस्थामा, मान्छे मरुमारु भएको ठाउँमा या आर्यघाटमा पुगेको बेला मुस्कुराउनु या हाँस्नुलाई जसरी नराम्रो मानिन्छ त्यसैगरी जे पायो त्यही सन्दर्भमा जहाँ पायो त्यहीँ रुनुलाई पनि राम्रो मानिँदैन रहेछ । नारायणकाजीको सन्दर्भमा पनि आँसु साँच्चिकै झरे पनि आँसु झार्ने स्थान र सन्दर्भ गलत पर्यो ।
प्रतिक्रिया