बुधबारदेखि ‘कठघरा’: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने

बुधबारदेखि ‘कठघरा’: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने


नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ले आफ्नो पहिलो औपचारिक पत्रकार सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, प्रसारण साझेदार, प्रायोजक संस्था तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभइ प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो । सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन् । विशेषगरी आगामी निर्वाचन र पछिल्लो समय युवापुस्ता, विशेषतः ‘जेन जी’बाट उठिरहेका आवाज र आन्दोलनहरूले देशमा पारदर्शी र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कठघराले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा ‘कठघरा’का निर्माता थमन कुमार भण्डारीले सञ्चारकर्मी एवम् अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, अवधारणा र अपेक्षाबारे प्रकाश पारे । कार्यक्रममा डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने नयाँ अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिवद्धता प्रस्तुत गरे ।

यस अवसरमा ‘कठघरा’को आधिकारिक प्रसारणसम्बन्धी घोषणा पनि गरिएको छ । यो कार्यक्रम हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटी मार्फत प्रसारण हुने भएको छ । कठघरा पुष २ बुधबारदेखि सुरु भइ कुल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधबार राति ठिक ८ः०० बजे दर्शकहरूले कार्यक्रम हेर्न सक्नेछन् ।

पत्रकार सम्मेलनका क्रममा ‘कठघरा’का निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदान–प्रदान गरिएको छ । हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको सहकार्यलाई निर्माता भण्डारीले कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे।

कार्यक्रमलाई अर्थपूर्ण सामग्री र जिम्मेवार पत्रकारितामा विश्वास गर्ने विभिन्न प्रतिष्ठित संस्थाहरूले साथ दिएका छन् । कजारिया टायल्स शीर्ष प्रायोजकका रूपमा रहेको छ भने इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैङ्क, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप र को-स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन्।

कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले कठघराको अवधारणा, संरचना र प्रत्येक प्रश्नको दिशाबारे आफ्नो धारणा राखे । न्यायाधीशको भूमिकामा रहेकी मिथिला शर्माले कार्यक्रमभित्र निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे बोलिन्‌ । त्यस्तै, कार्यक्रमका सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।