‘बामपन्थी वृत्तमा एक वजनदार नेता’
✍ मोहन लामा रुम्बा

सन् १९४४ को कुरा हो । दोस्रो विश्वयुद्ध चरम अवस्थामा थियो । जापानी सेनाले फिलिपिन्सको लुबाङ टापुमा हिरो ओनोदा नामक सैनिकलाई खटायो । उनलाई स्पष्ट आदेश दिइयो- ‘जेसुकै भए पनि आत्मसमर्पण नगर्नु, आदेश नआउन्जेल लडिरहनु ।’
सन् १९४५ मा हिरोसिमा र नागासाकीमा आणविक बम प्रहार भएपछि जापानले अमेरिकासामु आत्मसमर्पण गर्यो । युद्ध समाप्त भएको सूचना सबै टुकडीसम्म पुर्याइयो । लुबाङ टापुमा पनि हवाईजहाजमार्फत पर्चा छरियो, रेडियो सन्देश प्रसारण भए, पत्रहरू पठाइए । तर हिरो ओनोदाले ती सबैलाई ‘शत्रुको चाल’ भन्दै अस्वीकार गरिरहे ।
युद्ध सकिएको झन्डै २९ वर्षपछि, सन् १९७४ मा जापानी युवक नोरियो सुजुकी लुबाङ टापुमा पुग्दा त्यहाँ अझै दोस्रो विश्वयुद्धको सैनिक भेटिए । उनले युद्ध समाप्त भइसकेको सम्पूर्ण घटनाक्रम सुनाए र जापान फर्कन आग्रह गरे । तर ओनोदाको जवाफ उही थियो- ‘मेरो कमाण्डिङ अफिसर स्वयं आएर आदेश नदिएसम्म म आत्मसमर्पण गर्दिनँ ।’
अन्ततः जापानबाट उनका रिटायर्ड कमाण्डिङ अफिसर मेजर तानिगुचीलाई ल्याइयो । औपचारिक आदेश फिर्ता भएपछि मात्रै हिरो ओनोदाले हतियार राखे र घर फर्किए ।
यो कथा केवल सैनिकको अडानको कथा मात्र होइन, यो समय परिवर्तन भइसकेपछि पनि आदेश परिवर्तन नभएको मानसिकताको प्रतीक हो । हाम्रो समाजमा पनि यस्ता ‘हिरो ओनोदा’हरूको कमी छैन- तर फरक यति हो कि हिरो ओनोदा भौतिक सैनिक थिए भने नेपालमा यस्ता थुप्रै बौद्धिक सैनिकहरु छन् ।
प्रसंगमा प्रवेश :
कार्ल मार्क्स, लेनिन, माओत्सेतुङजस्ता तत्कालीन समयका विचारकहरू मृत्यु भएको एक शताब्दी वा कम्तीमा अर्धशताब्दी नाघिसकेको छ । तर यहाँका केही बौद्धिक सेनाहरू अझै पनि ती पितृहरूले उठाएको मार्क्सवादी हतियार बोकेर उही पुरानो रणभूमिमा दौडिरहेका छन्- मानौँ इतिहास रोकिरहेको छ, समय टक्क अड्केर अगाडि बढेको छैन ।
हाम्रा यहाँको केही नमूना ओनादाहरु- घनश्याम भुसाल, मोहन विक्रम सिंह, नारायणमान बिजुक्छे र मोहन वैद्यजस्ता केही वामपन्थी नेताहरू छन्, जसको वैचारिक विश्लेषण आजको विश्व पुँजीवादी संरचनाभन्दा बढी कार्ल मार्क्सको युगको युरोपेली औद्योगिक क्रान्तिको ऐतिहासिक सन्दर्भमा अडकेर अझैसम्म बसिरहेको छ ।
उन्नाइसौँ शताब्दीको कारखाना प्रणाली, औद्योगिक मजदुर वर्ग र राष्ट्रिय पुँजीवादको फ्रेमलाई सार्वकालिक ठानेर इक्काइसौँ शताब्दीको डिजिटल, वित्तीय र प्लेटफर्म पुँजीवादलाई एउटै फ्रेममा बुझ्ने प्रयास गर्नु ठीक त्यस्तै हो, जस्तै हिरो ओनोदा आफ्नो अफिसर मेजर तानिगुचीको पुरानो आदेश मानिरहेको जस्तै हो ।
युरोपेली औद्योगिक क्रान्तिबाट उत्पन्न मार्क्सवादलाई आज पनि शाश्वत नियम वा अपरिवर्तनीय सूत्रको रूपमा स्वीकार गर्नु- यो जडसूत्रवादी दृष्टिकोण हो । मार्क्सवाद कुनै धार्मिक ग्रन्थ वा जप्नुपर्ने मन्त्र होइन, यो ऐतिहासिक भौतिकवादमा आधारित पद्धति हो, जसले उत्पादन सम्बन्ध र अतिरिक्त पुँजीको विश्लेषण गर्दै सामाजिक, आर्थिक र राजनीतिक संरचनाहरूको परिवर्तनशीलता र ऐतिहासिक सन्दर्भमा पुनःविश्लेषणको आवश्यकता ठान्दछ ।
आज केही विवेकशील वामपन्थी नेताहरूले समयसापेक्ष मार्क्सवादी दृष्टिकोण अपनाउन थालेका छन् । तीमध्ये अग्रज व्यक्तित्वका रूपमा म सुरेन्द्र पाण्डेलाई देख्छु । उहाँ मार्क्सवादलाई जडसूत्रको रूपमा होइन, जीवित दर्शनका रूपमा बुझ्नुहुन्छ ।
उहाँको दृष्टिमा, यदि पुँजीवादी बजार, लगानी र उद्यमशीलताबाट राष्ट्रिय समृद्धि हासिल गर्न सकिन्छ भने, त्यस समृद्धिलाई सामाजिक सुरक्षाजाल, सार्वजनिक शिक्षा, स्वास्थ्य र श्रमिक अधिकारमार्फत पुनःसमाजमा फर्काउनु नै आजको मार्क्सवादी व्यवहार हो भन्ने ठान्छन् ।
समकालीन मार्क्सवादको सार पुँजीवादलाई गाली गर्नु होइन, न त समाजवादको नाममा गरिबीको महिमामण्डन गर्नु हो । यसको मूल उद्देश्य मानव मुक्ति हो- आर्थिक, सामाजिक र बौद्धिक सबै अर्थमा । यदि पुँजीवादी अर्थतन्त्रलाई साधन बनाएर त्यो मुक्ति सम्भव छ भने, त्यसलाई अस्वीकार गर्नु स्वयं मार्क्सवादको मेरुदण्डलाई अस्वीकार गर्नु हुनेछ भनेर खुल्ला वैचारिक बहसमा उत्रेर बामपंथी जडसुत्रवादी हिरो ओनोदाहरु जस्ता प्रवृत्तिलाई बौद्धिक चुनौती दिएर हिंड्ने सुरेन्द्र पाण्डे बामपन्थी वृत्तमा एक वजनदार नेता हुन् ।
(मोहन लामा रुम्बाको फेसबुकबाट साभार)
प्रतिक्रिया