नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त


नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई कार्की सरकारमा परराष्ट्रमन्त्री नियुक्त गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा आज (११ पुस) परराष्ट्रमन्त्री नियुक्त गरिएका नवनियुक्त मन्त्री शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा आजै उनले शपथ लिएका हुन् भने पछिल्लोपटक मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अङ्गका प्रमुखको सहभागिता थियो ।

नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका शर्मा प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन् ।

photo: rss