ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने जिकीर
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।
‘नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक आज (१५ पुस) मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरे ।
अध्यक्ष ओलीले भने, ‘जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’ मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै उनले ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने धारणा राखे भने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएकोबताए ।
एमालेका केन्द्रीय सदस्य एवं काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको धारणा राखिन् ।
प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको जिकिर गरे ।
प्रतिक्रिया