काङ्ग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीहरू परीक्षित (टेष्टेड) दलहरू हुन्, जसबाट अब मुलुकले केही पाउने आशा र सम्भावना नै छैन । बरु देशले दुर्भाग्य र अभुतपूर्व क्षति ब्यहोर्नेछ – शासन/सत्ता पुनः यिनीहरूकै हातमा गयो भने ।
✍ राजेश ढुंगाना
मुलुकले पुराना राजनितिक शक्ति र ३५ वर्षदेखिका दलका सबै भ्रष्ट अनुहार र व्यक्तिहरूबाट मुक्ति खोजिरहेको छ ।
अघिल्लोपटक राष्ट्रिय स्वत्रन्त्र पार्टी गठन भएको एक वर्ष जतिमै संसदमा चौथो ठुलो राष्ट्रिय दल बन्यो – प्रतिकुल अवस्थामा पनि । यसको अर्थ हो- मुलुकले त्यतिबेलादेखि परिवर्तन खोजिरहेको थियो र, छ । चरम प्रतिसोधबाट ग्रसित हुँदै रवि लामिछानेलाई अराजनीतिक ढङ्गले अघिल्लो सरकारले जेल हालेपछि परिवर्तनको चाहना केही कम भएजस्तो देखिएको थियो । तर, कुरा त्यसो होइन रहेछ भन्ने कुरा नेपालको इतिहासमा एउटा अभूतपुर्व ‘जेन्जी क्रान्ति’ले पुष्टि मात्र नगरी प्रमाणित नै गरेको छ ।
अर्थात्, मुलुकले पुरातन र परम्परागत भ्रष्ट दलका र त्यसका भ्रष्ट नायिकेहरूबाट मुक्ति खोजेको कुरा, एउटा रविलाई बन्दी बनाइँदैमा रोक्न नसकिने रहेछ, जेन्जी क्रान्तिले सिद्ध गरेको छ । एउटा रविलाई त बन्दि बनाइयो । तर, लाखौँको जमातबाट लगभग पौने सय बालबालिका छातीमा गोली थापेर शहादत दिन तयार भए ।
परिवर्तनको चाहना र बेगलाई पुराना भ्रष्ट दलहरूले रोक्ने भरमग्दुर प्रयास गरेका हुन् – रविलाई थुनेर । तर बेलुनमा चाहिनेभन्दा बढी हावा हाल्दा त्यो फुटेझैँ, त्यसैको परिणामस्वरुप जेन्जि क्रान्ति विष्फोट भयो !
यदि रविमाथि चरम अराजनितिक प्रतिशोध नसाधिएको भए र परिवर्तनको बेगलाई रोक्ने दुःस्साहस ओली सरकारले नगरेको भए – परिवर्तनको वेग स्वभाविक रूपमा जाने थियो । जेन्जी क्रान्तिको आवश्यकताबिना नै परिवर्तन खोज्ने थियो मुलुकले । खोजिसकेको छ मुलुकले परिवर्तन, अब त्यसलाई पुराना र परम्परागत दल र त्यसका व्यक्तिहरूले त्यसलाई कुनैपनि हालतमा रोक्न सक्ने स्थिति छैन । रविले रोपेको जेन्जी भावनाको बिउ भाद्र २३ र २४ को सफल जेन्जी क्रान्तिले पुर्णतः लहलह झाङ्गिएको छ यतिबेला ।
अब, परिवर्तनकारी शक्ति र त्यसका सबैखाले शक्तिलाई पुरातनहरूले फिस्टो नठान्दा हुन्छ । यिनै ‘फिष्टा’हरूले आँधी–हुरी ल्याइसकेका छन् । र, अब हुन्डरी ल्याउनेवाला छन् । ३५ वर्षदेखि राष्ट्रदोहनमा चुर्लुम्म डुबेका व्यक्ति र शक्तिहरू यतिबेला पनि परिवर्तनलाई जिस्काउँदै छन् । तर यो उनिहरूको निभ्ने बेलाको बत्तिको चहक मात्र हुने छ । त्योबाहेक केही हुने छैन ।
२००७ साल र २०४६ सालमा पनि पुरातन शक्तिले क्रान्तिलाई जिस्काएकै हुन् । समय पछाडि फर्कंदैन, अग्रगामी हुन्छ । राजा ज्ञानेन्द्रले समयलाई पछाडि फर्काउन नचाहेको भए – उनको अहिलेको हालत हुने थिएन । त्यस्तै अहिले काङ्ग्रेस, एमाले र माओवादीहरू समयलाई रोक्न वा पछाडि फर्काउन खोजिरहेका छन् । यो दुश्कर्मले यिनीहरूलाई पनि राजा ज्ञनेन्द्रकै हालत र नियतिमा पुऱ्याउने छ ।
परम्परागत व्यक्ति र शक्तिहरू अझै आफ्नो विगतको लगानीलाई बेचेर खाने दाउमा छन्, तर अब उनिहरूका लागि यो समय सकिएको छ । उनिहरूले गरेको लगानिको साउँ मात्र होइन – ब्याजको ब्याजसमेत असुल गरिसकेका छन् । यिनिहरूले गरेका चरम भ्रष्टाचार, अनियमितता र कुशासनले नेपाली जनतामा ठुलै मात्रा, रुप र आयतनको आक्रोश एवम् घृणा चरमरूपमा छ । अब आउँदो निर्वाचनमा नेपाली जनलाले यिनिहरूसँग यसैबराबरको चरम रूपको ‘बदला’ लिने छन् – भविष्यमा टाउकोसमेत उठाउन नसक्ने गरी ।
मुलुक परिवर्तनको प्रशव वेदनामा छ । अब बच्चा जन्मन मात्र बाँकी छ परिवर्तनको – आउँदो चुनावको माध्यमबाट । र, पुरातन व्यक्ति र शक्तिहरूले अहिलेदेखि नै बुझ्दा हुन्छ- त्यो बालक सामान्य बालक हुने छैन, जन्मने बित्तिकै वेगले दौडने छ ।
काङ्ग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीहरू परीक्षित (टेष्टेड) दलहरू हुन्, जसबाट अब मुलुकले केही पाउने आशा र सम्भावना नै छैन । बरु देशले दुर्भाग्य र अभुतपूर्व क्षति ब्यहोर्नेछ – शासन/सत्ता पुनः यिनीहरूकै हातमा गयो भने ।
भ्रष्टाचार, अनियमितता र राष्ट्रदोहन मार्फत नर्कको गहिरो गर्तमा डुबिसकेका यिनीहरूको रुपान्तरण हुने आशा गर्नु – ढुङ्गो पानीमा परिणत हुने आशा गर्नु सरह हो ।
आम निर्वाचनको मुखैमा आएर भएको रवि-बालेनको मिलन नेपाली राजनीतिमा एउटा युगान्तकारी परिघटना हुन सक्छ । यी दुवै व्यक्ति, व्यक्तिहरू मात्र भएर आएका छैनन्, नयाँ शक्ति बनेर उदायका छन्, जसले यसलाई अवमूल्यन गरिरहेछन् – यदि आमचुनाव भयो नै भने, त्यसको परिणामले यी पुराना शक्तिहरू बीच सडकमा उत्तानु परेर पल्टने छन् ।
नेपाली जनताको हर तह र तप्काबाट रवि-बालेनको मिलनप्रति आएको सकारात्मक प्रतिक्रिया हेर्दा सहजै नुमान गर्न सकिन्छ, यो शक्तिले यसपालि आँधी, हुरी र हुन्डरी बनेर पुरातन व्यक्ति र शक्तिहरूलाई गर्लम्मै ढालेर सोत्तर बढार्नेछ ।
निष्कर्ष के हो भने – मुलुकले एमाले, काङ्ग्रेस र माओवादीको ‘पिचास पसेको आत्मा’बाट तत्काल मुक्ति खोजेको छ । यी भ्रष्ट आत्माहरू सामाप्त नभइकन – अब मुलुक एक कदम पनि अगाडि जान सक्दैन, बरु पछाडि जान्छ । त्यसैले देशमा एउटा नयाँ शक्तिको खाँचो थियो । जुन खाँचोको परिपुर्ति रवि-बालेन एकता र त्यसलाई जेन्जी समर्थनले परिपुर्ति गरेको छ ।
प्रतिक्रिया