सिरहाको लहान नगरपालिका-१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा आधा दर्जन घरमा क्षति पुगेको छ । चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउनाका साथै भण्डारण गरिएको अन्नपात र तरकारी बाली नष्ट गरेको छ ।
वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भूपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरिबहादुर थापा मगरको घरमा क्षति पुऱ्याएका छन् । हात्तीले घरका साथै अन्नपात र करेसाबारीमा लगाएको तरकारीसमेत नष्ट गरेको बताइएको छ ।
हात्ती प्रवेश गरेपछि गाउँलेहरू त्रसित बनेको जानकारी दिँदै स्थानीय हरीबहादुर मगरले भनेका छन्, ‘चारवटा हात्ती साँझतिर गाउँ पसेपछि हामी सबै घर छाडेर जङ्गलतिर भाग्यौँ । शुक्रबार राति जङ्गलमै बिताइयो, आज पनि घरमा बस्न सक्ने अवस्था छैन, एघार दिनको सुत्केरीले समेत जाडोमा बच्चा च्यापेर रातभर जङ्गलमै बस्नुपरेको थियो । जुनसुकै बेला हात्ती गाउँ पस्ने जोखिम रहेकाले सबै आत्तिएका छौँ ।’
वडाध्यक्ष मगरका अनुसार बस्तीमा क्षति पुऱ्याएपछि हात्तीहरू दिनभर नजिकैको झाडी क्षेत्रमा बसिरहेका छन् । हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ । गाउँलेहरू पनि पालैपालो जाग्राम बसेर हात्तीको गतिविधि हेरेका छन् ।
डिभिजन वन कार्यालय लहानका अनुसार प्रायः हरेक वर्ष हिउँदयाममा जङ्गली हात्तीको समूहले जिल्लाका लहान, धनगढीमाई, गोलबजार तथा मिर्चैयाको उत्तरी क्षेत्रमा पर्ने गाउँ बस्तीमा पसेर आतङ्क मच्चाउने गरेको छ । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भनेका छन्, ‘चुरे क्षेत्र जङ्गली हात्तीको प्राकृतिक करिडोर हो । वनक्षेत्र अतिक्रमण र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा हात्ती बेला–बेला बस्तीमा पस्ने गरेका छन् ।’
लहान नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई क्षतिको विवरणअनुसार तत्काल राहत उपलब्ध गराइने जानकारी दिएका छन् ।
photo: rss
प्रतिक्रिया