‘बिचौलिया’हरू बलवान् हुँदा मुलुकको यो हविगत !

‘बिचौलिया’हरू बलवान् हुँदा मुलुकको यो हविगत !


केही दिनअघि नेपाल राष्ट्र बैंकले २५ अर्ब ऋणपत्रका लागि प्रस्ताव माग्यो । जसमा विभिन्न तीन दर्जन बैंक तथा वित्तिय संस्थाले १२ खर्ब २० अर्बका लागि प्रस्ताव पेश गरे । यसले बैंकमा पैसा थुप्रिएको तर कर्जा माग्न जाने कोही नभएको देखाएको छ । बैंकमा प्रायजसो पाँच सय र हजारको नोट छ । बैंकमा पैसा थुप्रिँदा अहिले बजारमा यी नोटको अभाव देखिन थालेको छ । किनकि बैंकमा भएको पैसा लगानी हुन सकेको छैन भने पैसा हुनेले घरमै लुकाएका छन् । सहकारीजसरी बैंक डुबेमा भोलि नराम्ररी फस्ने डरमा मानिसहरूले घरमै ‘सुरुङ’ बनाएर वा अनेकथरी तरिका अपनाएर पैसा लुकाएको बुझिन्छ । जुन गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पनि देखिएको थियो । यसले बजारमा पैसाको अभाव देखिन थालेको हो ।

आन्दोलनका क्रममा राजनीतिक दलका नेता, व्यापारीहरूको निवासमा करोडौँ, अर्बौं रकम भेटिएको थियो । र, आगजनी हुँदा पैसा पनि जल्यो । त्यसरी नेतादेखि आम नागरिकसम्मले घरमा पैसा लुकाउँदा सरकार भने निरीह छ । न पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउँछ न त लुकाइएको पैसा बाहिरै ल्याउन सक्छ ।

‘पुराना दलहरूले केही गरेनन्, अब हामी देश बनाउँछौं’ भन्दै ०७९ वैशाख ३० गतेको चुनावमार्फत मुलुककै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको मेयरका बालेन्द्र साह निर्वाचित भए । बालेनले जितेको देखेपछि ०७९ असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना गरे । मंसिरमा भएको चुनावमा सहभागी भए र प्रत्यक्षतर्फ सातसहित २१ सिट जिते ।

तर, उनीहरूले देश बनाएनन्, बरु जलाएर ध्वस्त बनाइदिए । ०८० भदौ १६ गते शनिबार आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले दुई मिनेट रोक्दा बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आतङ्कारी शैलीमा सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । रवि सहकारी ठग हुन् । उनीउपर सहकारी ठगी अभियोगमा पाँच जिल्लामा विभिन्न मुद्दा चलिरहेको छ । सम्पत्ति शुद्धिकरणलगायत अपराधमा पनि उनमाथि अनुसन्धान जारी छ । रविको पुष्ठभूमि केलाउने हो भने उनी विवादैविवादमा मुछिएका छन् । मुलुकमा जनयुद्ध चलिरहँदा मरिने डरमा ०५६ सालमा उनी नेपाल छोडेर अमेरिका गए । त्यहाँ ग्रिनकार्ड, पिआर लिए । अनि त्यहाँ आफूमाथि दर्जनौं मुद्दा परेपछि भिजिट भिसामा ०७१ सालमा नेपाल आए ।

नेपाल फर्किएपछि पत्रकारिता पेशामा लागे । आफ्नो सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाए । तर, राजनीतिक पहुँचमा जोगिए । टेलिभिजनमार्फत नेताहरूलाई गर्नु गाली गरेर जनताको नजरमा परे । अनि पार्टी खोले । प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री, उपप्रधानमन्त्री बने । अनि बल्ल उनका कर्तुत बाहिरियो । रवि नेपाली नागरिक नै नरहेको ठहर भयो । सर्वोच्चले उनलाई अनागरिक ठहर गरेपछि ३२ दिनमै गृहमन्त्री र उपप्रधानमन्त्री पद गुमाए । उनको सांसद र पार्टी सभापति पद पनि गुम्यो ।

सर्वोच्चको फैसलापछि बल्ल उनले पुनः नेपाली नागरिकता लिए । उनका कारण चितवनमा फेरि उपचुनाव गराउनुप ऱ्यो । तैपनि उनका झुट्टा कुरामा विश्वास गरेर चितवनबासीले उनैलाई जिताए ! फेरि चुनाव जितेर आएपछि उनका अन्य काण्ड बाहिरियो – सहकारी ठगीको । उनले दर्जनौँ सहकारीको करोडौं रकम दुरुपयोग गरेको खुल्यो । त्यसपछि उनी जेल पुगे । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा बालेन र रवि दुवैले समर्थन जनाएका थिए । उनीहरूकै कारण आज देश तहसनहस भएको छ । खर्बौंको सरकारी र निजी संरचनामा क्षति पुगेको छ ।

आन्दोलनको मौका छोपेर रवि जेलबाट भाग्दा दश जना कैदीबन्दीले ज्यान गुमाउनुप ऱ्यो भने भागेका कैदीबन्दी समाजमा रहँदा आपराधिक घटना बढिरहेका छन् । अब प्रश्न उठ्छ- बालेन र रविले देश बनाए कि सिध्याए ? अर्थतन्त्र चलायमान बनाए कि ध्वस्त पारे ? यिनीहरूले कारण आज नेपालमा लगानी गर्न स्वदेशीदेखि विदेशीसम्म डराएका छन् । आन्दोलनका नाममा निजी व्यवसायमा तोडफोड, आगजनी र लुटपाट गर्ने अनि कारबाही नगरी छोडिदिने प्रवृत्तिले व्यवसायीहरू निराश बनेका छन् । ‘अब नेपालमा केही गर्दैनौँ’ भनेर उनीहरूले भन्न थालिसके । अर्थतन्त्र झन् झन् नाजुक अवस्थामा पुगेको छ । सरकारले राजस्वको प्रमुख स्रोत बनाएको घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ ।

यस्तो अवस्थामा बालेन र रविले आफ्नो स्वार्थका निम्ति अर्थतन्त्रलाई झनै ध्वस्त पारे । मालपोत र यातायात कार्यालय सुनसान छन् । जबकि ५–६ वर्षअघि सबैभन्दा बढी भीडभाड र चाप यिनै कार्यालयमा हुन्थ्यो । त्यतिबेला पाँच करोड भनिने घर अहिले त्यसको आधा मूल्यमा समेत बिक्री हुँदैन । गाडी र सेयरमा पनि यस्तै छ ।

करोडौंको गाडी लाखमा झरेको छ त सेयरको मूल्य पनि निरन्तर घटिरहेको छ । सुनको मूल्य बढेपनि किन्ने कोही छैनन्, सबै बेच्ने मात्र छन् । अहिले ९५ प्रतिशत जनताको धितो (घरजग्गा, गाडी र सेयर) बैंक, वित्तिय संस्थाको नाममा रहेको पाइन्छ । सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख र मीटरब्याजमा पनि लाखौं सर्वसाधारणले कर्जा लिएका छन् । उनीहरूले महिनाकै पाँच हजारदेखि ३० हजारसम्म ब्याज तिर्छन् । भूमाफिया, दलालहरूले दश हजार रोपनीमा नबिक्ने खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर आनाकै ६० लाखदेखि करोडौं पुऱ्याए । बैंक तथा वित्तिय संस्था, हाइड्रोपावर, बीमा कम्पनीहरूले एक सय प्रतिकित्तामा निष्काशन गरेको सेयरलाई ३२ सय पुऱ्याए ।

अटो शोरुमहरूले छिमेकी भारतबाट ५० हजारदेखि दश लाखमा गाडी किनेर ल्याए । अनि यहाँ पाँच लाखदेखि करोडौंमा बेचे । गाडी फलाम, प्लास्टिक, सिसा, रबर, कपडा र फर्मलगायतबाट बन्छ । जबकि यी बस्तु कवाडी सामान कारोबारीले दुई रुपैयाँ किलोमा समेत लिँदैनन् । उता, सुनको मूल्य तोलाकै दुई लाख ७० हजारसम्म पुग्यो । यी सबै वस्तुको न तौल, परिमाण बढेको छ न त गुणस्तर । तर, मूल्यचाहिँ अत्यासलाग्दो गरी किन बढ्यो त ? दलालीहरूको चलखेल होइन र ?

दलालहरूले आफ्नो फाइदाका निम्ति जनतालाई त डुबाए नै सँगै मुलुकको अर्थतन्त्रसमेत ध्वस्त पारे । चुनावपछि जुनसुकै दलको सरकार आएपनि अर्थतन्त्र चलायमान हुने छैन । किनकि ऋण लिएर घरजग्गा, गाडी, सेयरमा लगानी गर्नेहरू डुबिसकेका छन् । र, उनीहरू डुबेको देखेर यी क्षेत्रमा लगानी गर्नुहुन्न भनेर जनतामा चेतना आएको छ । राजनीतिमा दलालहरू हाबी हुनुका साथै आर्थिक क्रियाकलापसँग जोडिएका क्षेत्रहरूमा पनि बिचौलिया, भूमाफियाहरू शक्तिशाली बनेर बिगबिगी मच्चाउँदा मुलुकको यो हविगत भएको हो ।