३३ किलोग्राम सुन प्रकरणमा जोडिएका सनम शाक्यको हत्याआरोपी गौतम पक्राउ

३३ किलोग्राम सुन प्रकरणमा जोडिएका सनम शाक्यको हत्याआरोपी गौतम पक्राउ


बहुचर्चित ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्याआरोपी एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार (१ माघ) सार्वजनिक गरेको हो ।

मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो । सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती (गोरे)लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि बिहीबार नै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।