सांस्कृतिक संस्थानले वसन्त पञ्चमीका अवसरमा ‘शास्त्रीय सङ्गीत महाउत्सव’ विभिन्न शास्त्रीय गायन, वादन तथा नृत्य प्रस्तुत गरिएको छ ।
राष्ट्रिय नाचघरमा बिहीबारदेखि आयोजित दुई दिवसीय उत्सवमा गायनसँगै कलाकारद्वारा विभिन्न शास्त्रीय राग वादन तथा नृत्य प्रस्तुत गरिएको हो । सांस्कृतिक संस्थानबाट अभिनय, नृत्य, गायन, वाद्यवादनजस्ता विविध विधामा छमहिने प्रशिक्षण लिएका कलाकार राग तथा गीत सुनाएर दर्शक तथा सङ्गीतप्रेमीको मन जितेका थिए ।
नेपाल ललितकला क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसका प्रशिक्षित विद्यार्थीका साथै विभिन्न सांस्कृतिक सङ्घसंस्थाका प्रतिनिधिले शास्त्रीय सङ्गीतसँगै शास्त्रीय तथा लोकनृत्यहरू प्रस्तुत गरेका थिए । सरस्वती बन्दना, शास्त्रीय गायन प्रस्तुत गरेर कार्यक्रमलाई शास्त्रीयमय तुल्याए । वाद्यवादनका विद्यार्थीहरूले मादलवादन, बाँसुरी वादन र तबलावादन प्रस्तुत गरेका थिए ।
संस्थानका महाप्रबन्धक किरणबाबु पुनले वसन्त पञ्चमीको सबैलाई शुभकामना दिँदै संस्थानबाट आयोजना हुँदै आएको वसन्त शास्त्रीय उत्सवले नेपाली शास्त्रीय सङ्गीतको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नेपाली मौलिकतामा आधारित शास्त्रीय सङ्गीत तथा नृत्यको संरक्षणमा कलाकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले त्यसले भोलिका दिनमा नेपाली संस्कृति तथा कलाकारलाई स्थापित गर्ने बताए ।
कार्यक्रम संयोजक रेखा कटवालले संस्थानले लामो समयदेखि वसन्त पञ्चमीको अवसरमा शास्त्रीय सङ्गीतको कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिइन् ।
संस्थानले सङ्गीत, अभिनय, नृत्यमा कलाकारलाई प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गरी नेपाली गीतसङ्गीत, नाट्य क्षेत्रमा योगदान पुऱ्याएको जनाइएको छ । सो अवसरमा नेपाली गीतसङ्गीतका माध्यमबाट त्यसक्षेत्रको विकासमा योगदान पुऱ्याएबापत विद्यार्थीलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैबीच तारादेवीको २०औँ स्मृति दिवससमेत मनाइएको थियो ।
प्रतिक्रिया