कैलालीको धनगढी उपमहानगरपालिका-१३ का सतिङ दाहालले कुटपिट गरेर ३० वर्षीया श्रीमती हीरा दाहालको प्राणान्त गराएका छन् ।
धनगढी उपमहानगरपालिका-८ घर भइ हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले जानकारी दिए । कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए ।
डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइतीघर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पुऱ्याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा एक वर्ष कैद सजाय र रु एक हजार जरिवाना सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका-८ का २३ वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र रु ३० हजार १५० जरिवाना तोकिएर फरार रहेका कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ ढैया टोलका ५० वर्षीय मदन नाथयोगी भनिने मदन विकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
प्रतिक्रिया